ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बाह्य क्षेत्रमा दबाब : २ वर्षपछि शोधनान्तर घाटामा

२०७८ सावन, १  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । केही महीनादेखि क्रमशः संकुचन हुँदै गएकोे शोधनान्तर बचत गत जेठ मसान्तमा घाटामा पुगेको छ । विप्रेषण आय लगातार बढे पनि चालू खाता घाटा बढ्दै गएर शोधनान्तर घाटा भएको हो । यसले बाह्य क्षेत्रमा दबाब परेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक तथा वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो । केही महीनायता विप्रेषण आप्रवाह वृद्धि हुँदै आए पनि चालू आवको ११ महीनाको अन्त्यमा शोधनान्तर स्थिति रू. १५ अर्ब १५ करोडले घाटामा रहेको छ । गतवर्षको सोही अवधिमा रू. १ खर्ब ७९ अर्ब ३७ करोडको शोधनान्तर बचत थियो । यसै अवधिमा चालू खाता घाटा पनि अत्यधिक बढेर रू. २ खर्ब ९३ अर्ब ९७ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा चालू खाता रू. ६२ अर्ब ५९ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा हिसाब गर्दा गतवर्षको जेठसम्ममा १ अर्ब ५० करोडको शोधनान्तर बचत थियो, यस वर्ष भने यो १४ करोड ८ लाखले घाटामा छ ।

करीब २ वर्षअघि अर्थात् आव २०७५/७६ को जेठमा शोधनान्तर स्थिति रू. ९० अर्ब ८३ करोडले घाटामा पुगेको थियो भने आव २०७५/७६ को असार मसान्तमा यो रू. ६७ अर्ब ४० करोड घाटामा थियो । तर, आव २०७६/७७ को पहिलो महीनादेखि यसमा बचत हुन थालेर रू. ६ अर्ब ५ करोेडको बचत भएको थियो । बचतको यो प्रवृत्ति त्यसपछिका करीब २३ महीना निरन्तर हुँदै गत वैशाखमा रू. ७ अर्ब ७५ करोडले बचतमा रहेको थियो ।

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पौडेल पछिल्लो समय आयात बढ्दा र प्रत्यक्ष वैदेशिक लगानीमा कमी आउँदा शोधनान्तर घाटामा पुगेको बताउँछन् । तर, विगतका अनुभव हेर्दा शोधनान्तर घाटामा रहे पनि आत्तिहाल्नुपर्ने स्थिति नरहेको उनको भनाइ छ । ‘शोधनान्तर स्थिति घाटामा रहँदा पनि केन्द्रीय बैंकले व्यवस्थापन गरेको थियो ।

यसैले अहिले यो घाटामा गयो भनेर आत्तिनुपर्ने स्थिति छैन,’ उनले अभियानसँग भने ।

चालू आवको ११ महीनामा खुद प्रत्यक्ष वैदेशिक लगानी १३ दशमलव ४ प्रतिशतले घटेको छ । यस अवधिमा रू. १६ अर्ब २० करोड आएको छ । गतवर्ष त्यस अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी रू. १८ अर्ब ७२ करोड रहेको थियो ।

देशभित्र भिद्रिने मुद्राभन्दा बाहिरिने मुद्रा बढी भएमा शोधनान्तर स्थिति घाटामा जान्छ । चालू आवको जेठसम्ममा देश भित्रिने मुद्राको मुख्य स्रोत विप्रेषण १२ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । यसरी विप्रेषण आप्रवाहरू. ८ खर्ब ७० अर्ब ९४ करोड पुगेको छ । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह ३ दशमलव २ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह १० दशमलव ४ प्रतिशतले बढेर भई ७ अर्ब ३९ करोड पुगेको छ । गतवर्ष यस्तो आप्रवाह ५ दशमलव २ प्रतिशतले घटेको थियो । एकै महीनाको अन्तरमा अर्थात् जेठमा मात्रै विप्रेषण ६१ अर्ब ५ करोड थपिएको छ । चालू आर्थिक वर्षको वैशाखसम्म अर्थात् १० महीनासम्ममा विप्रेषण आप्रवाह १९ दशमलव २ प्रतिशतले वृद्धि भई रू. ८ खर्ब ९ अर्ब ८९ करोड पुगेको थियो ।

गत आव समग्र मुलुकमा कोभिड महामारीको संक्रमण बढेको थियो । तर, यसपटक नेपालमा दोस्रो महामारीको प्रभाव परे पनि केही मुलुकमा संक्रमण नियन्त्रणमा आएकाले पनि विप्रेषण बढेको हो । चालू आवको चैतको तुलनामा वैशाखमा ८० अर्ब ६९ करोडले थप वृद्धि भएको थियो । गत चैतमा विप्रेषण आप्रवाह १६ दशमलव ५ प्रतिशतले वृद्धि भई रू. ७२९ अर्ब २ करोड पुगेको थियो । यसरी प्रत्येक महीना नेपाल भित्रिने विदेशी मुद्रा बढ्दा गत वैशाखसम्म शोधनान्तर स्थिति बचतमा भए पनि जेठमा भने घाटामा पुगेको छ । यसका कारण पछिल्लो समय आयात ≈वात्तै बढेको राष्ट्र बैंकको तथ्यांकले पनि देखाएको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ को ११ महीनामा कुल वस्तु आयात २५ दशमलव ७ प्रतिशतले वृद्धि भई रू.१३ खर्ब ८३ अर्ब ३६ करोड पुगेको छ । गतवर्षको यस अवधिमा आयात १५ दशमलव ३ प्रतिशतले घटेको थियो । चालू आवकै १० महीनामा कुल वस्तु आयात २२ दशमलव ३ प्रतिशतले वृद्धि भई रू. १२ खर्ब ५४ अर्ब ११ करोड पुगेको थियो । केन्द्रीय बैंकका अनुसार वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस बिलेट, चामल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड शिट इन्क्वाइल, चाँदीलगायत वस्तुको आयात घटेको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२ दशमलव २ प्रतिशत, २४ प्रतिशत र ९ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ ।

यसबीच निर्यातमा भने सुधार भएको छ । यसअवधिमा वस्तु निर्यात ३७ दशमलव ८ प्रतिशतले वृद्धि भई रू. १ खर्ब २१ अर्ब २५ करोड पुगेको छ । गतवर्षको सोही अवधिमा यस्तो निर्यात शून्य दशमलव २ प्रतिशतले मात्र वृद्धि भएको थियो । वस्तुगत आधारमा सोयाबिन तेल, अलैंची, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान, ऊनी गलंैचालगायत वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकरलगायत वस्तुको निर्यात घटेको छ ।

तर, आयातको आकारको तुलनामा निर्यात खासै बढ्न सकेको छैन । जसले गर्दा जेठसम्ममा कुल वस्तु व्यापारघाटा २४ दशमलव ६ प्रतिशतले वृद्धि भई रू. १२ खर्ब ६२ अर्ब ११ करोड पुगेको छ । गतवर्षको सोही अवधिमा यस्तो घाटा १६ दशमलव ४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८ दशमलव ८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ प्रतिशत रहेको थियो ।

करीब १० महीनालाई धान्ने सञ्चिति पर्याप्तता
चालू आवका ११ महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.१ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहनेछ । वस्तु मात्रै आयात गर्दा विदेशी विनिमय सञ्चिति ११.१ महीनालाई धान्न पुग्नेछ । राष्ट्र बैंकको तथ्यांकअनुसार २०७७ असार मसान्तमा रू. १४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २ दशमलव ६ प्रतिशतले कमी आई जेठसम्ममा रू.१३ खर्ब ६५ अर्ब ६५ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७८ जेठ मसान्तमा शुन्य दशमलव ६ प्रतिशतले वृद्धि भई ११ अर्ब ७१ करोड पुगेको छ ।

उपभोक्ता मूल्यवृद्धि ४ दशमलव १९%
चालू आवको ११ महीनामा उपभोक्ता मुद्रास्फीति ४ दशमलव १९ प्रतिशत रहेको छ । गतवर्षको सोही महीनामा यस्तो मुद्रास्फीति ४ दशमलव ५४ प्रतिशत रहेको थियो । गैरखाद्यभन्दा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति बढी छ । २०७७ जेठको तुलनामा २०७८ जेठमा घ्यू तथा तेलको मूल्यवृद्धि अधिक अर्थात् ३० दशमलव ९८ प्रतिशत रहेको छ । यस्तै, सुर्तीजन्य पदार्थको ९ दशमलव ८४ प्रतिशत गैरमदिराजन्य पेय पदार्थको ९ दशमलव ८१ प्रतिशत र यातायात उपसमूहको मूल्यवृद्धि ९ दशमलव ७० प्रतिशत
रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्