ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

२०७८ सावन, १  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी साउन ३ गते दिउँसो ४ बजेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले बिहीवार संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । गत जेठ ७ गते मध्यरातमा सरकारको सिफारिशमा उहाँले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।

केपी शर्मा आली नेतृत्वको सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन गर्नेगरी मिति समेत तोक्नुभएको थियो । तर प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले पुनःस्थापनाको पक्षमा फैसला गरी साउन ३ गतेभित्र बैठक बोलाउन परमादेश दिएको थियो ।

सर्वोच्चको परमादेशकै कारण केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्थ भएर असार २९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भइसकेको छ ।

बिहीवार देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले साउन ३ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णयसहित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बिहीवार नै सत्तारूढ दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री देउवाले सिंहदरबारमा डाक्नुभएको थियो । सो बैठकमा देउवालाई कोभिड–१९ विरुद्धको खोप तत्काल नागरिकलाई उपलब्ध गराउन नेताहरूले सुझाव दिए ।

देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गठबन्धनको बैठकले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहत र उद्धारको कार्यक्रम ल्याउन समेत सरकारलाई सुझाव दिएको छ ।

नयाँ सरकार गठनका लागि भएका घटनाक्रमको समीक्षा भएको र मन्त्रिपरिषद् विस्तार, विश्वासको मत र संसद्लाई बिजनेश दिने विषयमा सैद्धान्तिक छलफल भएको बताइएको छ । देउवा नेतृत्वको गठबन्धनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्