ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बालुवाटारमा सधैं रमिता छ !

२०७८ सावन, १  
तीतो मीठो
author avatar मदन लम्साल

उहिले इन्द्रबहादुर राईले लेखेथे– आज रमिता छ । तर अहिले बालुवाटारमा त सधैं रमिता छ । उहिले ‘जसको तरबार उसैको दरबार’ भन्थे । तरबारवाजमध्ये सबैभन्दा तेज राजा वा मन्त्री हुन्थ्यो र ऊभन्दा कम तेजहरू भारदार बन्थे र भारदारका पनि आफ्नै भारदार हुन्थे । उहिलेका भारदार र अहिलेका सरदार अर्थात् नेतामा खास फरक छैन । उहिले सत्ता पाउन तरबार चलाउने भारदारहरू जम्मा गर्नुपर्थ्यो, अहिले एकातिर तर मार्नेहरू र अर्काेतिर नारा लगाउने भाडाका मान्छेहरू जम्मा गर्न सक्नुपर्छ ।

अँ, अर्को पनि फरक छ उहिलेको र अहिलेको । उहिले कोतमा भारदार जम्मा हुन्थे, काटाकाट गर्थे, जित्नेले पगडी पाउँथ्यो र हार्नेहरू यमलोक पुग्थे । अहिलेका राजा र मन्त्रीले आफै लड्नु पर्दैन, लड्ने भिन्दै जत्था तयार छ । देख्नुभएन सधैं भिड्न तयार भारदारहरूको भीड ? पहिले स्याल र हनुमानका कथा लेखिन्थे, अहिले प्रत्यक्ष देखिन्छ ।

बालुवाटार फाल्ने, फालिने, आउने, जाने सबैका लागि खुशी रोप्ने, खुशी नै काट्ने एउटा साझा चौतारी हो । कमाउनेदेखि जमाउनेसम्मको त सम्पर्क कार्यालय नै हो क्यारे बालुवाटार ।

उहिले भारदारबीच ‘जिरो सम गेम’ हुन्थ्यो । अर्थात् जित्नेले सबै पाउने, हार्नेले सबै गुमाउने । तर अचेल त्यस्तो छैन । जित्नले पनि हार्नेको भाग राखिदिएकै हुन्छ, ठेक्कापट्टामा जस्तै । एउटा ठालुलाई ज्वरो आयो भने अर्को ठालुलाई रातभर निद्रा लाग्दैन । झापाली काकाले आफूलाई दिनरात गाली गर्ने इलामे काकालाई कहिले दबाइदारुका लागि खर्च बेहोरेको त कहिले सर्प पाल्न करोडौं खर्च दिएको त देख्नु नै भएको होला नि । बूढानीलकण्ठका खास मान्छेलाई बालुवाटारले राजदूत बनाएको पनि थाहा नपाउने कोे छ र ? बाहिर मारामार गरे पनि भित्र त चाटाचाट पो गर्छन् त ।

हो, उहिले साँच्चै भिड्थे, अहिले भिडेजस्तो मात्र गर्छन् । पहिले गोलीले भिड्थे, अहिले गालीले भिड्छन् । तर भेडाहरू भने साँच्चिकै ठानेर भिड्न थाल्छन् अनि आपसमा पानी बाराबार गर्छन् । बोलचाल बन्द गर्छन् । तर माथिकाहरू भने भित्र बसेर मिलिजुली खाइरहेका हुन्छन् ।

उहिले हार्नेले कि त देश, नभए पनि उपत्यका त छाड्नैपथ्र्यो । अहिले त ‘त्यो पर्दैन’ । हार्ने र जित्नेले यही उपत्यकामा बसी बसी मोज गर्ने हो । हार्नेले पनि जित्नेलाई तुरुन्त बधाई दिन्छन् । तपाईं भन्नुहोला क्या संस्कारवान् रहेछन् । तर त्यस्तो होइन नि । यो बधाई दिने भनेको त मेरो भाग पनि सुरक्षित राखीदिनू है भनेको हो । ‘भागशान्ति जय नेपाल !’ भन्ने उखान त्यसै जन्मेको हैन नि । पछिल्लो लडाइँमा त्यस्तो भएनछ । यो चाहिँ गडबडीको संकेत हो ।

यसै हप्ता बालुवाटारमा केही मानिस छिरेका छन् । बालुवाटारमा नयाँ मान्छे आएपछि के के न चमत्कार हुने भो भनेर केही मानिस दुई दिन मच्चिन्छन्, अनि थच्चिन्छन् । तर बालुवाटारमा नयाँ मान्छे कहिले आएको छ र भन्या ? चन्दा दिने उही, ठेक्कामा पट्टाउने उही, कमिसनको घेरो उही हुन्छ । रमाउने उही, कमाउने उही, अनि जमाउने पनि उही । अनि कसरी नयाँ मान्नु ? यो पुरानो बोत्तलमा रक्सी फेरेजस्तो मात्रै त हो नि । अहिले जो आएका छन्, ती तीन वर्षअघि बालुवाटारमै थिए । त्यसअघि पनि कतिपटक त्यहीँ थिए । जो निस्किए ती पनि पाँच वर्षअघि त्यहीँ थिए, सात वर्षअघि पनि त्यहीँ थिए । उनीहरूका लागि बालुवाटार आलोपालो मात्र हो । कहिले दक्षिण त कहिले उत्तर फर्किने यिनको रामरमिता पनि पुरानै हो ।

हो, हिजो बा थिए आज दाइ आए । ‘हाम्रा दाइ आए’ भनेर अब त दाइँ गर्ने पालो हाम्रै हो भनेर भारदारहरू बेस्सरी उफ्रेका छन् । यसबीचमा केहीले प्रसाद पाउलान् पनि । तर धेरैका लागि त यो फुरफुरी केही दिनको मात्र हो । बाका भित्रिया र दाइका भित्रिया एकै भएको थाहा पाएपछि ती दाइका भैयादहरू आफू करिया मात्र भएको पनि चाल पाउँछन् । अन्तिममा कथाकी सतीलाई दोष लगाएर राम्रा मान्छेको यहाँ कदरै हुँदो रहेनछ भनेर गन्थन र मन्थन गर्न थाल्छन् ।   

अहिले त बालाई ढालेर दाइ ल्याएँ भनी खुशी हुनेका घरमा पनि दशैं छ । उहिले भक्त प्रह्लादले बाउलाई र विभीषणले आफ्नै दाइ रावणलाई सिध्याएर आफै राजा भाथे रे भन्ने कथामा पढेको हो । तर यहाँ त आफ्नै घरमा आगो लगाएर खरानी खोज्ने पनि देखिए ! बालाई सकेर अर्काको दाइलाई पगडी बाँधिदिने किङमेकरहरू किङभन्दा बढी खुशी देखिए । यस्तो रमिता त बालुबाटारमा कति कति । सुराही र बाकस लिएर निस्कने सामन्तदेखि करोड पर्ने कारहरूको कारगेडमा निक्लने कामरेडसम्म । फरक समय, तर नियति उही, परिणति पनि उही ।   

त्यसैले बालुवाटार फाल्ने, फालिने, आउने, जाने सबैका लागि खुशी रोप्ने, खुशी नै काट्ने एउटा साझा चौतारी हो । कमाउनेदेखि जमाउनेसम्मको त सम्पर्क कार्यालय नै हो क्यारे बालुवाटार । नपढीकनै प्राध्यापक बनेका, विज्ञता र विद्वत्ता नै नभए पनि विद्वान् बनेकाहरूका लागि त बालुवाटार सधै चाँदी कटाइ गर्ने ठाउँ हो । बिचरा पढाउने प्राध्यापक त चक डस्टर र ब्ल्याकबोर्डमै मस्त छन् । पढेकाहरू त्यही नपढेका बालुवाटारे विद्वान्का प्रपोजल लेख्नमै व्यस्त छन् ।

बालुवाटार भनेको वास्तवमा चाँदीटार हो, सुनटार हो, हीराटार हो, मोतीटार हो । गच्छे अनुसार जसले जे काट्न सक्दछ, बालुवाटारमा त्यही पाइन्छ । त्यहाँभित्र छिरेर हे¥यो भने अहोरात्र कुनै कुनामा चाँदी कटाइ भइरहेको हुन्छ, कुनै कुनामा सुन कटाइ भइरहेको हुन्छ, कुनै कुनामा हीरा कटाइ भइरहेको हुन्छ र कुनै कुनामा मानिसहरू मोती बटुलिरहेका हुन्छन् । यस्तो गज्जबको ठाउँ छ त नेपालमा अन्त कतै ?  

त्यसैले त भनेको बालुवाटारमा सधैं रमिता छ !

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्