ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

साला–भेनाको ‘एग्रो टुरिज्म’ सपना

२०७८ सावन, १  
गण्डकी प्रदेश
NA

बागलुङ । कृषि पर्यटन ‘एग्रो टुरिज्म’ विकासको सपना बोकेर गलकोटमा बृहत् बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरिएको छ । गलकोट नगरपालिका–५ हरिचौरका ३९ वर्षीय टोपबहादुर खत्री र गलकोट–७ मल्मका छुमबहादुर थापा मिलेर साझेदारीमा फार्म सञ्चालन गरेका हुन् ।   
 
खत्रीले १८ वर्ष हटिया बजारमा फोटोग्राफी व्यवसाय गर्दै आएका थिए भने थापा १९ वर्ष भारतीय सेनाका अवकाशप्राप्त सैनिक हुन् । कोरोना महामारीमा धेरै व्यापार व्यवसाय बन्द भए पनि आफूलाई भने यही बेला व्यावसायिक फार्मको सोच आएको खत्री बताउँछन् । बन्द, हडताल, निषेधाज्ञामा असर नगर्ने भएकाले कृषि पेसा अँगाल्ने योजना बनाइएको उनको भनाइ छ ।     

१८ अठार वर्षको फोटोग्राफर व्यवसाय त्यागेर उनले हरिचौरको केही आप्mनै र केही रोपनी भाडाको जग्गामा बहुउद्देश्यीय कृषि फार्म सञ्चालनमा ल्याएका छन् ।

भारतीय जलसेनामा हवल्दार पदमा अवकाशप्राप्त थापाले सामान्य किराना पसल सञ्चालन गर्दै आएका थिए । खत्री र थापा नाताले साला–भिनाजु हुन् ।   
 
गत माघदेखि संयुक्त लगानीमा उनीहरूले २४ रोपनी जग्गामा १ करोड रुपैयाँभन्दा बढीको लागतमा कृषि फार्म सञ्चालनमा ल्याएसँगै उत्साहित पनि छन् । गलकोट–६ को मजुवा फाँटमा फैलिएको दरमखोला एग्रिकल्चर एन्ड लाइभस्टक फार्ममा पाँच तरकारी टनेल, हाँस ४००, बट्टाई ५००, लोकल कुखुरा ३००, माछा पाँच हजार र बंगुुर १०७ छन् ।

तरकारी र बट्टाईका अण्डाले आम्दानी हुन थालेको कृषि फार्मले अन्य उत्पादन बढाउँदै लैजाने उद्देश्य राखेको छ ।    
 
दुवै जनाले गत माघदेखि दरमखोला एग्रिकल्चर एन्ड लाइभस्टक फार्म सञ्चालनमा ल्याएका छन् । अहिले कृषि फार्मलाई एग्रो टुरिज्मको हब बनाउने गरी पसल छाडेर साथ दिएको फार्मका सञ्चालक थापा बताउँछन् ।

‘१८ वर्ष गलकोटमा फोटोग्राफी व्यवसाय गर्दै आएको थिएँ । अलि बृहत् कृषि फार्म सञ्चालन गर्ने योजना पलायो’, सञ्चालक खत्रीले भने, ‘कृषि पेसा नै दीर्घकालीन होला भन्ने लाग्यो । कृषि रिसोर्टसहित कृषि पर्यटनसँग जोड्ने लक्ष्यसहित भिनाजुसँग मिलेर फार्म सञ्चालन गरेका हौं । हाम्रो योजनाअनुसार फार्मलाई अझै ७५ प्रतिशत विकास र विस्तार गर्ने लक्ष्य छ । अहिले विस्तार र परीक्षणका क्रममा छौं भने केही कृषि तथा पशु उत्पादनलाई बजारीकरणसमेत सुरु गरिसकेका छौं ।’     

उनका अनुसार उक्त फार्मभित्रै एग्रो रिसोर्ट सञ्चालन गर्ने लक्ष्य छ । फार्ममै २० जनाभन्दा बढीलाई रोजगारी दिने उद्देश्य छ । अहिले आठ रोपनी आप्mनै जग्गा र अन्य जग्गा १५ वर्षलाई वार्षिक १ लाख ५० हजार रुपैयाँमा भाडामा जग्गा लिएर फार्म सञ्चालनमा ल्याइएको उनले बताए । अहिले फार्ममा तीन जनालाई रोजगारी दिइएको छ ।     

भारतीय सेनाबाट अवकाशपछि सानो पसल सञ्चालन गर्दै आएकामा अहिले सालाको योजनामा कृषि फार्ममा लगानी गरेको अर्का सञ्चालक थापाले सुनाए । रासस 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्