ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

फूलबारीसँगै करेसाबारी

२०७८ सावन, १  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found

सहरी क्षेत्रका घर छेउछाउ केही वर्ष अघिसम्म फूलबारी मात्र लगाउने चलन थियो । तर, पछिल्लो समय तरकारी पनि आफैं फलाउने चलन बढेको छ । तर, सहरमा घरसँगै चाहेजति खाली ठाउँ उपलब्ध हुँदैन । सवारीसाधन र अन्य सरसामानका लागि पनि ठाउँ चाहिन्छ । त्यसैले करेसाबारीका लागि ठाउँ पु¥याउन हम्मे पर्छ ।  यसको समाधान गर्न कौसी खेती र गमला खेतीजस्ता उपाय आएका छन्, जुन निकै लोकप्रिय पनि छन् ।

घर निर्माणको प्रारम्भिक चरण अर्थात् नक्सा तयार गर्ने समयमै इन्जिनियर वा वास्तुविद्सँग सल्लाह गरेर घरको कुन दिशातर्फ खाली ठाउँ राखेर त्यहाँ करेसाबारी बनाउने भन्ने यकिन गर्न सकिए धेरै राम्रो हुन्छ ।  यही चरणमा सूर्यको प्रकाश बढी वा कम पर्ने अवस्था यकिन गरी घर र बगैंचाका लागि उपयुक्त हुने गरी घरको नक्सांकन गर्न सकिन्छ ।  बनिसकेको घरमा भने जे–जस्तो उपलब्ध खाली ठाउँ छ, त्यसैलाई उपयोग गरेर फूलबारीका साथै करेसाबारीको विकास गर्न सकिन्छ ।  

करेसाबारी, गमला वा कौसीमा के फलाउने भन्ने कुरा रुचिमा भर पर्ने हुँदा त्यस्ता ठाउँमा सकेसम्म वयस्क हुँदा पनि सानो ठाउँ लिने र छोटो अवधिमै फल दिने फलपूmल वा तरकारी लगाउनु बढी उपयोगी हुन्छ । अचेल बजार वा बागवानी केन्द्रमा कुन मौसम र स्थानका लागि कस्तो तरकारी वा बिरुवा लगाउने भन्ने सामान्य जानकारीसहित आवश्यक बिउ, मल तथा तालिमसमेत दिइने गरेको छ ।  कतिपय महानगर, नगर तथा वडाजस्ता स्थानीय निकायले घर–घरमा करेसाबारी तथा कौसी खेतीका लागि प्रोत्साहनस्वरूप घरमै कम्पोस्ट मल तयार गर्ने भाँडा, बिउ र आवश्यक तालिम निःशुल्क वा सहुलियतमा प्रदान गरेको पाइन्छ ।  

घरको भान्सामा जम्मा हुने जैविक फोहोरलाई कम्पोस्ट बनाउने भाँडोमा विर्सजन गरेर निश्चित अवधिमा करेसाबारीका लागि आवश्यक मल तयार गर्न सकिन्छ । यसबाट एकातिर व्यावसायिक मल किन्दा हुने खर्च जोगिन्छ भने अर्कोतिर घरमै तयार हुने मलबाट उत्पादित वस्तु पूर्णतः अर्गानिक हुन्छ ।  घरमा उपलब्ध सानो करेसाबारी वा कौसीमा ती सबै उमार्न सम्भव हुँदैन ।  त्यसैले सानो स्थानमा धेरै प्रकारका भन्दा केही मात्र बिरुवा लगाउनु बढी बुद्धिमानी हुन्छ । उदाहरणका लागि अचार र तरकारीमा चाहिने हरियो खुर्सानी थोरै भए पनि पुग्छ । सानो परिवारका लागि राम्रो जातको खुर्सानीका दुई वटा मात्र बिरुवाले पुग्दो फल दिन सक्छ । त्यस्तै, धनियाँ वा तिते करेला मुख्य तरकारीको सहायकको रूपमा प्रयोग हुने हुँदा केही बिरुवा मात्र हुर्काउन सके पर्याप्त हुन सक्छ ।  त्यस्तै, लसुन, प्याज, छ्यापी, बाबरी, पार्सले जस्ता बिरुवा थोरै संख्यामा मात्र हुर्काउन सके हाम्रो भान्साको आवश्यकता पूरा गर्न पुग्दो हुन सक्छ ।  

आफूले बिरुवा लगाउने स्थानमा सूर्यको प्रकाश कति पर्छ भन्ने आधारमा कुन जातको बिरुवा लगाउने भन्ने तय गर्न सकिन्छ । प्रकाश कम पर्ने सेपिलो ठाउँलाई यत्तिकै छाड्नुभन्दा कर्कलो, स्कुसजस्ता तरकारी लगाउन सकिन्छ । यी तरकारीलाई हतपत रोग नलाग्ने र घरिघरि स्याहार गर्नु पनि पर्दैन । यिनमा हाम्रो शरीरलाई चाहिने अनेक पौस्टिक तत्व पाइने हुँदा यस्ता तरकारी लगाउँदा प्रकाश नचाहिने ठाउँको उपयोग हुने मात्र नभई कम मिहिनेतमै पौस्टिक तरकारी  पाउन सकिन्छ ।  

करेसाबारी तथा फूलका बिरुवाको साथमा औषधीय गुण भएका वनस्पति लगाउन सके अझ बुद्धिमानी हुन सक्छ ।  हामीमाझ पुस्तान्तरण भई आएको सनातन ज्ञान तथा आयुर्वेदजस्ता प्राचीन शास्त्रले अनगन्ती वनस्पतिका औषधीय गुणको व्याख्या गरेको पाइन्छ । त्यस्ता गुनिला वनस्पति हाम्रै छिमेकका बगैंचा, गमला वा नर्सरीमा उपलब्ध हुन सक्छन् ।  त्यहाँबाट बिरुवा ल्याएर लगाउन सकिन्छ । त्यस्ता वनस्पति आफ्नो बगैंचा वा गमलामा भए स्वास्थ्यसम्बन्धी अपर्झट पर्दा प्राथमिक उपचारका लागिसमेत उपयोग गर्न सकिन्छ ।  आफ्नो घरको सेरोफेरोलाई आकर्षक फूल आदिले सजाउँदा सँगै तरकारीको करेसाबारी वा गमला वा कौसीमा उपयोगी वनस्पति लगाएर तरकारी, मसला र औषधीय आवश्यक्तालाई समेत पूर्ति गर्न सकिन्छ ।  घरमा उपलब्ध ठाउँ, कौसी वा गमलामा के–कस्ता जातका तरकारी, फूल वा उपयोगी अन्य वनस्पति लगाउने भन्नेबारे तरकारी तथा फलफूल खेती गर्नेहरूका सफलताका कथा र उपयोगी ज्ञान सामाजिक सञ्जाल फेसबुक समूह तथा युट्युब च्यानलमा प्रशस्तै पाइन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्