ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

धितोपत्र कारोबारमा आइतवारदेखि नयाँ दुई ओटा व्यवस्था लागू हुँदै

२०७८ सावन, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १, काठमाडौं । धितोपत्र कारोबारमा आइतवारदेखि दुई ओटा नयाँ व्यवस्था लागू हुँदैछ ।  

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले संशोधित धितोपत्र कारोबार सञ्चालन (दोस्रो संशोधन ) विनियमावली, २०७८ को व्यवस्था बमोजिम प्रारम्भिक कारोबार सत्रको मूल्य सीमा र धितोपत्र कारोबारमा न्यूनतम मूल्य परिवर्तनको सीमा घटाएर लागू गर्न लागेको हो । 

नियामक निकाय नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सत्रमा कारोबार भएको धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतारचढावलाई व्यवस्थित गर्न भन्दै हाल ५ प्रतिशत रहेको मूल्य परिवर्तनको सीमा दुई प्रतिशतमा झारेको हो । 

उक्त व्यवस्थाले प्रारम्भिक कारोबार सत्रमा दुई प्रतिशतसम्म घटबढ गरेर मात्र शेयर कारोबार गर्न सकिनेछ । यो व्यवस्थाले प्रारम्भिक कारोबार सत्रमा अस्वभाविक रुपमा धितोपत्रको मूल्यमा भैरहेको उतारचढाबलाई कम गर्ने विश्वास बोर्डको छ ।

धितोपत्र बजारमा विहान १० : ३० बजेदेखि १० : ४५ बजेसम्मको १५ मिनेट प्रारम्भिक कारोबार हुने गरेको छ । यस अघि ५ प्रतिशतसम्म घटबढ गरेर प्रारम्भिक सत्रमा कारोबार गर्न सकिने व्यवस्था थियो । प्राम्भिक कारोबारको आधारमा ११ बजेदेखि धितोपत्र बजारको नियमित कारोबार शुरु हुने गर्दछ ।

त्यस्तै धितोपत्र कारोबार हुँदा हाल कायम रहेको न्यूनतम एक रूपैयाँको सीमालाई घटाएर १० पैसामा झारिएको छ । बोर्डले छिमेकी देश लगायत अन्तरराष्ट्रिय असल अभ्यासलाई ध्यानमा पैसामा समेत शेयर खरीदविक्री आदेश दिन सकिने व्यवस्था गरेको हो ।

हाल रूपैयाँमा मात्र उल्लेख हुने खरीदविक्री आदेश आइतवारदेखि भने पैसामा पनि गर्न सकिने भएको हो । उदाहरणका लागि अव लगानीकर्ताहरुले ५०० रूपैयाँ १० पैसा वा १० पैसाले भाग जाने मूल्यमा खरीदविक्री अर्डर राख्न पाउनेछन् ।

प्रारम्भिक र नियमति सत्रमा लागू हुने यी दुबै व्यवस्था कार्यान्वय पश्चात प्रारम्भिक सत्र (प्रि - ओपन सेसन) थप व्यवस्थित हुने र न्यूनतम मूल्य परिवर्तन सीमा १० पैसा हुँदा लगानीकर्ताले प्रतिस्पर्धी मूल्य प्राप्त गर्न सक्ने भएकाले दोस्रो बजार थप लगानीमैत्री हुनेमा बजार सम्बद्ध निकायहरुको विश्वास रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्