ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

रसुवा भन्सारले उठायो साढे तीन अर्ब राजस्व

२०७८ सावन, १  
वाग्मती प्रदेश
Image Not Found

साउन १,  रसुवा । नेपाल–चीन बीचको उत्तरी रसुवागढी नाकाको व्यापारिक कारोबारबाट प्राप्त राजस्व सार्वजनिक गरिएको छ ।

आर्थिक वर्ष २०७७/ ७८ मा आयात भएका चिनियाँ सामग्रीको भन्सार शुल्कबाट कुल १ अर्ब ७३ करोड १९ लाख ४७ हजार रुपैयाँ राजस्व प्राप्त गरेको रसुवा भन्सार कार्यालय टिमुरेले बताएको छ ।
     
आयात भएका सामग्रीको मूल्याङ्कनका आधारमा मूल्य अभिवृद्धिकर, अन्त शुल्क एवं भन्सार शुल्कका साथै अन्य विविध शीर्षकको असुलीबाट उक्त राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए ।

नेपालबाट चीनतर्फ जाने सामग्रीको निर्यात शून्य रहेको छ । चीनतर्फबाट भने स्याउ, ओखर, लसुन, अदुवा, जुत्ताचप्पल, तयारी पोशाक, स्वास्थ्य सामग्री, विद्युतीय सामग्री, नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनाका उपकरण, एम्बुलेन्सलगायत केही सवारी साधनसमेतका विविध सामग्री आयात हुने गरेको बताइएको छ ।     
     
विगत वर्ष २०७६/ ७७ मा भन्सार शुल्कबापतको राजस्व ८ अर्ब २७ करोड ७७ लाख रुपैयाँ असुली भएको थियो । गत वर्ष भने बढ्दो कोरोना सङ्क्रमणका कारण नेपाल–चीन बीच रसुवागढीको मितेरी पुलबाट केरुङका लागि मालबाहक सवारी लैजान र मानिसको आवागमनसमेत बन्द भएका कारण सामग्री आयातमा कमी भई भन्सार शुल्कमा भारी गिरावट भएको भन्सार कर्मचारी बताउँछन् ।     
     
कोरोनाकै कारण विगतमा आयात ठप्प भएपछि रोगको सावधानी अपनाउँदै नेपाल चीनबीचको समझदारी एवं सीमा क्षेत्रमा कार्यरत दुई देशका अधिकारी बीचको समन्वयबाट १५ ओटा कन्ट्रेनरलाई पुग्ने मात्र सामान आयात भइरहेको छ ।

शुरु - शुरुमा पाँच/ सात डिब्बा मात्र सामग्री आउने गरेकामा भन्सार कार्यालयको पहलबाट अहिले १५ डिब्बासम्म सामान आयात हुने गरेको र थप वृद्धिका लागि पहल भइरहेको भन्सार प्रमुख रेग्मीले जानकारी दिए।     
     
क्वारेन्टिनमा राखिएका कामदार एवं चालकलाई रसुवागढी नाकामा प्रवेश गराउने कार्य भइरहेको र चिनियाँ मालबाहक सवारी साधनले रसुवागढीसम्म नै सामग्री ल्याउने गरेको भन्सार कार्यालयले बताएको छ ।

निरन्तरको वर्षा भिरपहराको फेदमा रहेको कार्यस्थललाई कुनै प्रवाह नगरी भन्सार कर्मचारी, सुरक्षा अङ्गसमेतका राष्ट्रसेवक कर्मचारीका साथै सवारी चालक एवं कामदारले निरन्तर कार्य गरिरहेका स्थानीय बासिन्दाले बताएका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्