ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बाढीपहिरोबाट सडकमा क्षति : सात जिल्लाका १४ स्थानका सडक पूर्ण अवरुद्ध

२०७८ सावन, ३  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । बाढीपहिरोका कारण मुलुकभरका विभिन्न राजमार्ग तथा सडकका साथसाथै पुलहरूमा पनि क्षति हुने क्रम जारी रहेको छ । जेठ अन्तिमदेखि हालसम्म मुलुकभर १२५ स्थानका सडकमा क्षति पुगेको छ । तीमध्ये १४ जिल्लाका सडक खण्डहरू पूर्णरूपमा अवरुद्ध छन् । सडक विभागका अनुसार बाढीपहिरोका कारण मनाङ, पर्वत, सिन्धुपाल्चोक, लमजुङ, रसुवा, तनहुँ र पाल्पा जिल्लाका विभिन्न १४ स्थानमा सडक पूर्ण अवरुद्ध छन् । तीमध्ये मनाङ जिल्लाका सडकहरू धेरै ठाउँमा अवरुद्ध छन् । विभागले नियमित रूपमा पहिरो झर्ने र भौगोलिक अवस्था जटिल भएकाले वर्षा नरोकिँदासम्म मनाङका सडकहरू सञ्चालनमा असहज भएको जानकारी दिएको छ ।

पुष्पलाल राजमार्गको पर्वत जिल्लाको सहस्रधारा र अरनिको राजमार्गको सिन्धुपाल्चोक जिल्लाको लिपिङमा सडक अवरुद्ध भएको छ । डुम्रे–बेशींशहर–चामे सडकको मनाङ, लमजुङ जिल्लाका सडक खण्डहरू पनि अवरुद्ध छन् । असार १ गतेदेखि मनाङका तिमाङ खोला, धारपानी, बगरछाप लमजुङको रामबजार, अर्खले, च्याम्चे स्थानका सडक खण्ड १ महीनादेखि पूर्ण रूपमा अवरुद्ध रहेको विभागको तथ्यांक छ ।

रसुवाको त्रिशूलीखोला, सानो भार्खु खोला गाँजाबारीस्थित सडक पनि अवरुद्ध छ । सिन्धुपाल्चोकको कोदारी खण्ड पनि असार १५ गतेदेखि पूर्ण अवरुद्ध रहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा जिल्लामा पर्ने अगाहखोला पनि असार ३१ गतेदेखि अवरुद्ध रहेको छ । विभागका अनुसार अवरुद्ध १२५ सडकमध्ये ४४ सडक खण्डहरू दुईतर्फी सञ्चालनमा आएका छन् । त्यस्तै ६७ सडक खण्ड एकतर्फी सञ्चालनमा आएका छन् । कतिपय सडक महीना दिनदेखि अवरुद्ध छन् भने कतिपय अवरुद्ध भएको १ दिनमै वा २/३ दिनको अन्तरालमा एकतर्फी रूपमा भए पनि सञ्चालनमा आएको सम्बद्ध डिभिजन तथा कार्यालयहरूले जानकारी दिएका छन् ।

कर्णाली कोरिडोेरको १२२ किमी सडक हस्तान्तरण
कर्णाली कोरिडोरअन्तर्गतको १२२ दशमलव ७५ किलोमीटर (किमी) सडक नेपाली सेनाले सम्पन्न गरी सम्बद्ध निकायलाई हस्तान्तरण गरेको छ । २०७१ चैतदेखि निर्माण शुरू गरेको उक्त सडकखण्ड सेनाले उत्तर–दक्षिण व्यापारिक मार्ग हिल्सा–सिमिकोट सडक आयोजनाका योजना प्रमुखलाई हस्तान्तरण गरेको हो ।

भौगोलिक जटिलता भएको उक्त खण्ड निर्माणका लागि नेपाली सेनालाई हस्तान्तरण गरिएको थियो । कर्णाली कोरिडोरअन्तर्गत खुलालु–लैफु–सलीसल्ला सडक खण्डको कार्य सम्पन्न गरी सेनाले बिहीवार हस्तान्तरण गरेको जानकारी दिएको छ ।

यस सडकको औसत ६ मीटर चौडाइ रहेको छ । सडकले कालिकोट, बाजुरा र हुम्ला जिल्लालाई जोडेको छ । यस सडकको निर्माणपश्चात् राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको अन्तिम जिल्ला हुम्लाको ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका समेत उक्त सडक सञ्जालमा जोडिएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्