ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बासमती धानको बौद्धिक सम्पत्ति संरक्षण प्रयास

भौगोलिक संकेतको उपयोगबाट लिन सकिने लाभ

२०७८ सावन, ३  
लेख | दृष्टिकोण
Image Not Found

दाबी र संरक्षण नभए पछि आफ्ना छोराछारी र श्रीमती त आफ्ना रहँदैनन् झन् मालसामान र स्रोतसाधन माथिको स्वामित्वको के कुरा भयो र ? माल पाएर के गर्ने चाल नपाएपछि । यस्तै छ नेपालका जैवी साधनहरूको नियति । मूत्र विसर्जन गरिसक्यो दैलो पनि देख्यो भने जस्तै हाम्रा असंख्य जैविसाधनहरू पलायन र केही लोप पनि भइसकेपछि बल्ल हामी अलिमलि चाल पाउँदै छौं । बासमती धानको हकमा ढिलै भए पनि सरकारी एजेन्सीका रूपमा रहेको संस्था नेपाल कृषि अनुसन्धान परिषद्ले यूरोपेली संघमा बासमतीको बौद्धिक सम्पत्ति अधिकार संरक्षणका लागि प्रयास गरिरहेको छ । यो सराहनीय छ ।

सामान्य बोलीचालीमा बौद्धिक सम्पत्तिका कुनै पनि उपकरणबाट गरिने संरक्षणलाई पेटेन्ट गर्ने भनिए तापनि पेटेन्ट भनेको सामान्यतया बढीमा २० वर्षका लागि बालीका नयाँ प्रजाति वा आविष्कारलाई दिइने कानूनी संरक्षण हो ।

बासमती धानको अन्तरराट्रिय संरक्षणका लागि दुई पद्धति छन्– जैवी साधन संरक्षण सम्झौतामा अधारित विधि र बौद्धिक सम्पत्ति संरक्षण विधि । संरक्षणका लागि दुवै विधि लागू गर्न सकिन्छ तर तिनमा भएको प्रावधानलाई आन्तरिक कानूनमा रूपान्तरण गर्नैपर्छ । दुवैले जैवी साधनमा स्थानीय समुदायको अधिकारलाई जोड दिएका छन् । स्थानीय समुदाय मुलुकको दिगो आर्थिक विकासको जग भएकाले उक्त समुदायलाई लाभ पुग्नु भनेको आर्थिक विकासको जग बलियो हुनु हो । प्रत्यक्ष र तीव्र रूपमा बहुआयामिक लाभको दृष्टिकोणले दोस्रो पद्धति बढी महत्त्वपूर्ण रहेको छ ।

बौद्धिक सम्पत्ति अधिकार संरक्षण विधिभित्र पनि संरक्षणका औजार (टुल) धेरै छन् । तीमध्ये बासमती धानको संरक्षणका लागि उपयोग गर्न सकिने उपकरणमा व्यापार चिह्न, समूह चिह्न र भौगोलिक संकेत हुन् । यिनको तुलनात्मक लाभ पनि हेरौं । व्यापार चिह्नबाट एउटा व्यक्ति वा निकायले मात्र फाइदा पाउँछ, त्यो उपयुक्त हुँदैन, अर्को समूह चिह्न हो । प्राविधिक हिसाबले यसको प्रयोग सम्भाव्य भए तापनि उच्चस्तरको लाभको हिसाबले भौगोलिक संकेत आकर्षित हने ठाउँ हुँदाहुँदै किन कम स्तरको लाभ लिने ? अतः ती तीनमध्ये बहुपक्षीय हिसाबले सबैभन्दा लाभप्रद औजार भौगोलिक संकेत भएकाले बासमतीको संरक्षण भौगोलिक संकेतबाट हुन उचित हुन्छ ।

यो उपकरण प्रयोग गरी बासमतीको होस् वा अरू कुनै उत्पादनको भौगोलिक संकेत संरक्षण गर्न तीन आवश्यकताहरू पूरा गर्नुपर्छ– पहिलो भौगोलिक संकेत संरक्षणका लागि लिस्बन सम्झौताको सदस्य बन्नुपर्छ (अपेक्षित), दोस्रो मुलुकले भौगोलिक संकेत संरक्षणसम्बन्धी कानून जारी गरेको हुनुपर्छ र तेस्रो सोही कानूनअनुसार अपेक्षित वस्तुको भौगोलिक संकेत विषयमा दर्ता गराउनुपर्छ । आफ्नो मुलुकमा संरक्षण नभएको भौगोलिक संकेत अन्य मुलुकमा संरक्षण हुँदैन । नेपाल कृषि अनुसन्धान परिषद्ले यूरोपेली संघमा बासमतीको भौगोलिक संकेत संरक्षणका लागि जति मेहनत गरेको छ । त्यसलाई सार्थक बनाउन पहिले उक्त तीन काम पूरा गर्नुपर्ने देखिन्छ । यदि भौगोलिक संकेत स्वीकृत हुने अवस्था आयो भने अन्य दाबी गरिरहेका प्रतिस्पर्धी मुलुकहरूले यिनै कुरा तेस्र्याएर हलो अडकाइ दिने काम गर्ने छन् ।

सामान्य बोलीचालीमा बौद्धिक सम्पत्तिका कुनै पनि उपकरणबाट गरिने संरक्षणलाई पेटेन्ट गर्ने भनिए तापनि पेटेन्ट भनेको सामान्यतया बढीमा २० वर्षका लागि बालीका नयाँ प्रजाति वा आविष्कारलाई दिइने कानूनी संरक्षण हो । बासमती त नयाँ प्रजाति पनि होइन, नेपालमा कैयौं पुस्तादेखि खेती गरिँदै आएको हो र सधैंका लागि संरक्षणको अपेक्षा गरिन्छ । अतः पेटेन्ट जस्तो सीमित अवधिका लागि संरक्षण प्रदान गर्ने उपकरण स्वीकार्य हुँदैन । यसैकारणले गर्दा भौगोलिक संकेत नै सबैभन्दा उपयुक्त उपकरण मानिएको हो । देहायका अनुच्छेदमा छलफल गरिएबमोजिम यस चिह्नले मुलुकको आर्थिक विकासमा खेल्ने भूमिकाले पनि यसको औचित्यलाई पुष्टि गर्छ ।

प्रकृतिका अमूल्य वरदान पाएर पनि भौगोलिक संकेतको भरपुर उपयोग गरी लाभ लिने सम्बन्धमा नेपाल तीन कुरामा चुकेको छ । पहिलो यससम्बन्धी कानून नै ल्याएको छैन, दोस्रो बौद्धिक सम्पत्ति कार्यालय अहिलेसम्म खडा गरेको छैन । र, तेस्रो पहिले नै अन्तरराष्ट्रिय दाबीमा चुकेको छ । अमेरिकी कम्पनी राइस टेक इङ्कले सन् १९९६ मा आफ्नो पेटेन्ट अफिसमा बासमतीमा आधारित जातहरूको पेटेन्ट दर्ता गराएकोमा भारतले पनि दाबी विरोध गरेको थियो, पाकिस्तानले पनि गरेको थियो तर बासमतीको वास्तविक उत्पत्ति भएको मुलुक नेपालले त्यो केसको विरोधमा आफ्नो उपस्थिति जनाउन नसक्नुले स्वामित्व दाबीको स्थितिलाई अलिकति कमजोर पारिसकेको छ । हाल आएर ढिलो भए पनि बासमती धानमा नेपालको स्वामित्व रहेको बारे नेपाल कृषि अनुसन्धान परिषद्ले यूरोपेली संघमा गरेको प्रयास अर्थपूर्ण रहेको छ ।

ट्रिप्स सम्झौताअन्तर्गत पर्ने व्यापार सरोकारका बौद्धिक सम्पत्तिमध्ये भौगोलिक संकेत पनि एक हो । यूरोपेलीहरूले यसको औद्योगिक तथा व्यापारिक महत्त्व बुझेर चौधौं शताब्दीदेखि नै मदिरायुक्त पेयमा यसको उपयोग गर्दै आएका छन्, संरक्षण गर्दै आएका छन् र प्रशस्त आर्थिक फाइदा लिँदै आएका छन् । हाम्रो मुलुकले पनि त्यसको फाइदा लिन सक्ने अझ धेरै अनुकूलताहरू छन् । अतः आर्थिक समुन्नति तथा सामाजिक विकासको दृष्टिकोणले समेत हाम्रो मुलुकको सन्दर्भमा भौगोलिक संकेतले ठूलो भूमिका खेल्न सक्ने तथ्य देहायका अनुच्छेदहरूबाट पुष्टि हुन्छ ।

यस चिह्नको सहायताले कुनै वस्तु कुन ठाउँबाट प्रख्यात हुन गएको हो भनी उत्पत्तिको स्रोत पहिचान गर्न सकिन्छ । यस्तो चिह्न आफैमा गुणस्तरको प्रमाणीकरण पनि हो जसबाट उपभोक्ता आश्वस्त भएर वस्तु चलन गर्न सक्छन् । यसबाट स्वदेशी बजार र अझ खास गरी विदेशी बजारमा सम्बद्ध वस्तुको व्यापार प्रवर्द्धन हुन्छ । यसले बजारमा स्वस्थ प्रतिस्पर्धा हुन मद्दत पुग्छ । यस्ता चिह्न प्रयोग भएका वस्तु खपत गर्दा उपभोक्ताको सन्तुष्टि बढी हुन्छ । यस्तो चिह्नले हाम्रो मुलुकमा कृषि, जडीबुटी र हस्तकलासम्बन्धी उद्योग प्रवद्र्धन गर्न मद्दत पुर्‍याउँछ । कसैले यस्ता चिह्नको अनधिकृत प्रयोग गरी अवाञ्छित लाभ लिने प्रवृत्ति नियन्त्रण गर्छ ।

हाम्रा परम्परागत ज्ञानको संरक्षणका लागि यो बढी भरपर्दो उपकरण पनि हो, जस्तो जुजु धौलाई भौगोलिक संकेतद्वारा पनि संरक्षण गर्न सकिन्छ । कृषि र हस्तकलाका वस्तु प्रवर्द्धन गर्ने सशक्त उपकरण भएकाले यो हाम्रो जस्तो अल्पविकसित मुलुकको लागि भौगोलिक संकेत अवसर पनि हो । यसबाट एक गाउँ एउटै वस्तु बनाऊँ (ओभीओपी) योजनालाई चरितार्थ गर्न मद्दत पुग्छ र व्यवसायीहरूको कार्य विशिष्टीकरणबाट थप लाभ प्राप्त गर्न सकिन्छ । भौगोलिक संकेत जनसंस्कृति र प्राकृतिक वातावरणमा अनुकूल हुने भएकाले पर्यटन प्रवर्द्धन गर्न मद्दत मिल्छ । यसबाट उत्पादित वस्तुको ब्रान्डको परिचय र मूल्य अभिवृद्धि हुन्छ ।

निश्चित भौगोलिक क्षेत्रका ससाना व्यवसायीले पनि भौगोलिक संकेत प्रयोग गर्ने अवसर पाउने भएकाले र स्थानीय उत्पादनले पनि बजारीकरणको अवसर पाउने भएकाले चिह्न प्रयोग गर्ने धेरै व्यवसायीहरूको सामूहिक पहलबाट अन्तरराष्ट्रिय बजारको मागअनुसार गुणस्तर आपूर्ति सन्तुलन कायम गर्न सजिलो हुन्छ । कुनै भौगोलिक क्षेत्रका खास भौगोलिक संकेतमा आधारित जनसमुदायको स्वास्थ्य शिक्षा र जीवनपद्धतिसँग आबद्ध गरी स्थानीय कृषक र व्यवसायीको आर्थिक सामाजिक विकास गर्न सकिन्छ । यसै कारणले उद्योग व्यवसायमा भौगोलिक संकेतको प्रयोग नेपालका लागि वरदान हो । यसबाट कृषकहरू गाउँमै आकर्षित हुन्छन् र जनसंख्या विस्थापन कम हुन जान्छ ।

बासमती धानमात्र होइन, जलबायु, माटो र जनसंख्याको विविधताका प्रभावले उत्पादन हुने विलक्षण गुणस्तर भएका हस्तकला, जडीबुटी र कृषि पैदावरजस्ता वस्तुबाट जनसमुदायले प्राप्त गर्न सक्ने आर्थिक अवसरका सम्भावनालाई नेपाल सरकारले अहिलेसम्म पनि उपयोग गर्न सकेको छैन । भौगोलिक संकेतको प्रयोग र संरक्षणका लागि कानूनी व्यवस्था गर्न नसकेर मुलुकले ठूलो आर्थिक अवसर गुमाइरहनु परेको छ । प्राविधिक पक्षमा नेपाल कृषि अनुसन्धान परिषद्बाट भएको प्रयास आफ्नो ठाउँमा सह्राहनीय छ  । तर, सम्बद्ध मन्त्रालयले कानूनी व्यवस्था नगर्दासम्म यही नियति भोगिरहनु पर्ने देखिन्छ ।

लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालकाका उपाध्यक्ष हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्