ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मेक इन नेपाल स्वदेशी अभियान कार्यान्वयनमा सरकारको बलियो साथ रहन्छ : अर्थमन्त्री

२०७८ सावन, ३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल  स्वदेशी अभियान’ कार्यान्वयनमा सरकारले बलियो साथ दिने बताएका छन् ।

आइतवार नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री शर्माले आफ्नो प्राथमिकता पनि आत्मनिर्भर अर्थतन्त्र निर्माण रहेको भन्दै निजी क्षेत्रले अघि बढाएको अभियानमा आफ्नो साथ रहने उल्लेख गरे । 

‘मैले मन्त्री भएलगत्तै तथ्यांकहरू हेरें, हाम्रो आयात उच्च रहेको, निर्यात कमजोर रहेको र विदेशी मुद्रा सञ्चिति पनि कम रहेको देखें’, मन्त्री शर्माले भने, ‘यो अवस्थामा अब परिवर्तन ल्याउन जरुरी छ, त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर नेपालमै उत्पादन वृद्धि गर्ने र आयात न्यूनीकरण गर्नेतर्फ सोच्नुपर्छ।’ 

अर्थमन्त्री शर्माले आर्थिक विकास, रोजगारी सृजना र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रलाई सधैं साथमा लिएर अघि बढ्ने बताए । उनले औद्योगिक वातावरण सृजनाका लागि निजी क्षेत्रलाई सहयोग गर्न आफू सधैं तयार रहेको उल्लेख गरे ।

‘सरकारको उद्देश्य अर्थतन्त्रको सबलीकरण नै हो’, मन्त्री शर्माले भने, ‘निजी क्षेत्रका लागि लगानीको वातावरण तयार गर्न र नीतिगत सहजीकरण गर्न हामी सदैव तयार छौं, तपाईंहरू लगानी बढाउनुस्।’ 

मन्त्री शर्माले आफू निजी क्षेत्रबाट रचनात्मक सुझाव र सल्लाह लिएर अघि बढ्ने पनि बताए । उनले कोभिड – १९ को महामारीले अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण गर्दै अघि बढ्न सरकारलाई निजी क्षेत्रको सहयोग आवश्यक पर्ने उल्लेख गरे । मन्त्री शर्माले असल औद्योगिक सम्बन्धसहितको लगानीयोग्य वातावरण सृजना आफ्नो प्राथमिकतामा रहेको बताए ।

कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल सरकारको अर्थमन्त्री पदमा नियुक्त भएकोमा अर्थमन्त्री शर्मालाई बधाई दिंदै सबै नेपाली नागरिकलाई खोप र आर्थिक पुनरोत्थान आजको प्रमुख आवश्यकता भएको बताए ।

कोभिडले आत्मनिर्भर अर्थतन्त्र निर्माणको आवश्यकता बोध गराइदिएको भन्दै उनले त्यसलाई वास्तविकतामा परिणत गर्न नेपाल उद्योग परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान सञ्चालन गरेको जानकारी गराए ।

कार्यक्रममा परिसंघका बरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल, परिसंघका निवर्तमान् अध्यक्ष हरिभक्त शर्मा एवं उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डे तथा महानिर्देशक यादवप्रसाद पौड्यालको उपस्थिति थियो। 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्