ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

रसुवामा उत्पादन हुन थाल्यो चीज

२०७८ सावन, ४  
वाग्मती प्रदेश
NA


रसुवा । कोभिड कहरले उत्पादन कार्य रहेको रसुवाको चीज केन्द्र पुनः सञ्चालनमा आएको छ । उत्तरी क्षेत्रको लाङटाङ, गत्लाङ, चन्दनबारी र धुञ्चेलेकमा रहेका चीज उत्पादन केन्द्र असार १ गतेदेखि सञ्चालनमा ल्याएसँगै २ हजार १२१ किलो चीज उत्पादन भएको छ । 

चीज उत्पादनको काम गत वैशाख १ गतेदेखि नै सञ्चालनमा ल्याउनुपर्ने तयारी भए पनि निषेधाज्ञाको प्रभाव एवं कोरोना संक्रमणका कारण केन्द्रका प्रमुख जितबहादुर जिरेलको निधन र स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाले उत्पादन अघि बढाउन दुई महीना ढिलाइ भएको बताइएको छ ।

आफ्ना सहकर्मीको निधनले त्रसित भएका चीज उत्पादन गर्ने कर्मचारीको त्रास क्रमशः घट्दै गएको र चौंरीगाईले धेरै दूध दिने समयसमेत भएकाले चीज तथा मखन उत्पादन कार्य तीव्ररूपमा अगाडि बढेको लाङटाङ केन्द्रका प्रमुख ग्याल्वो तामाङले बताए ।

दुग्ध विकास संस्थानअन्तर्गत जिल्लाका चार चीज उत्पादन केन्द्रमा दूध आपूर्ति गर्ने चौंरीगाईको संख्या १ हजार ९०० रहेको छ । दैनिक रूपमा २ हजार १५० लिटर दूध संकलन हुने गरेको चीज केन्द्रका प्रमुखले जानकारी दिए । धुञ्चे केन्द्रका नयाँ प्रमुख रामवरस ठाकुर, गत्लाङका क्षेत्रबहादुर तामाङ एवं चन्दनबारी केन्द्रका गोविन्दबहादुर गुरुङ रहेका छन् । दूध आपूर्ति गरेबापत किसानले फ्याटको हिसाबमा प्रतिलिटर १०० रुपैयाँसम्म पाउँछन् । यसबाट ८७ किसान लाभान्वित भइरहेको बताइएको छ ।

तीन महिना मात्र सञ्चालनमा ल्याउने दुग्ध विकास संस्थानको निर्देशनअनुरूप चन्दनबारी केन्द्रले ७ हजार केजी चीज र १ हजार ५०० किलो मख्खन, लाङटाङ केन्द्रले ६ हजार किलो चीज र २ हजार किलो मख्खन उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको छ । यसैगरी धुञ्चे केन्द्रले ८ हजार किलो चीज र २ हजार ४०० किलो मख्खन उत्पादनको लक्ष्य लिएको छ । गत्लाङ केन्द्रले भने लक्ष्यबेगर चीज तथा मख्खन उत्पादन गरिरहेको कार्यरत केन्द्र प्रमुख तामाङले जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्