ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नबिलले शुरू गर्‍यो दिगो बैंकिङ कार्यक्रम

२०७८ सावन, ४  
शेयर / बैङ्किङ गतिविधि
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नबिल बैंकले ‘नबिल दिगो बैंकिङ’कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरी यस्तो कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रम अनुसार बैंकले ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ नामक प्रडक्ट शुरू गरेको छ ।

बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यावसायिकीकरण र उद्यमशीलताको विकासका लागि  ल्याएको सो कार्यक्रम शुरूमा १७ ओटा दुर्गम स्थानीय शाखाबाट सञ्चालन गरिने बताइएको छ, जसमा शुरूमा प्रदेश ६ र ७ का बासिन्दामा केन्द्रित गरेको छ ।  

सन् २०३० सम्ममा संयुक्त राष्ट्र संघले तोकेको लक्ष्य हासिल गर्न सरकारलाई सहायताका लागि पनि नबिलले दिगो बैंकिङ कार्यक्रम ल्याएको बताएको छ । यसभित्र रहेका १७ ओटा एजेण्डामा टेकेर बैंकले यो कार्यक्रम ल्याएको नबिल बैंकका संस्थागत सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले बताए । उनका अनुसार पछाडि परेका वर्गलाई उद्यमी बन्न कर्जा लिन प्रेरित गर्ने उद्देश्यले सहुलियत ब्याजदर सहितकोे नबिल दिगो बैंकिङको घोषणा गरिएको हो । शुरूमा मुलुकको दुर्गम भेगमा केन्द्रित हुँदै देशव्यापी गर्ने योजना रहेको उनले जानकारी दिए ।

नबिल किसान कर्जाका सीमा
यो कर्जा व्यक्तिगत रूपमा १५ लाख, संस्थागत रूपमा २५ लाख र सामूहिक रूपमा प्रतिसदस्य ५ लाखसम्म पाइन्छ । सो रकम बराबरको यो कर्जा बैंकको आधार दर (बेस रेट)मा २ प्रतिशत मात्रै थपेर कर्जा दिनेछ । यस्तो कर्जा ग्राहकले कम्तीमा १२ महीनासम्म र बढीमा ५ वर्षसम्मका लागि लिन पाउनेछन् ।

नबिल उद्यमशील कर्जा सीमा
बैंकले युवा र ग्रामीण समुदायमा उद्यमशीलता विकासका लागि यो कार्यक्रम ल्याएको हो । नबिल उद्यमशील कर्जाअन्तर्गत पनि १८ देखि ६० वर्षका व्यक्तिलाई लक्षित गर्दै १ लाखदेखि १ करोडसम्म कर्जा दिने व्यवस्था गरेको छ । बैंकले यो कर्जा आधार दरमा ३ प्रतिशतदेखि ५ प्रतिशत थपेर कर्जा प्रदान गर्नेछ । यी कर्जाहरू १–८ वर्षसम्मका लागि लिन सकिनेछ । उक्त दुवै खालको कर्जाका लागि नेपाल राष्ट्र बैंकले तोकेको सहुलियत ब्याजका बाहेकमा अनिवार्य धितो राख्नुपर्छ । ऋणीले यस्तो कर्जा भुक्तानी १२ महीनासम्ममा गर्न सक्नेछन् । संस्थाको लागि सरकारी निकायमा दर्ता भएको र कालोसूचीमा नपरेको तथा स्थायी रूपमा गाउँमै बसोवास गर्ने हुनुपर्नेछ । 

कर्जा प्रक्रियामा पेश गर्नुपर्ने आवश्यक कागजात 
उक्त कर्जा लिन इच्छुकले चाहेको ऋण आवेदन फारम भर्नुपर्छ । यसपछि नागरिकताको प्रमाणपत्र, भर्खरै खिचेको पासपोर्ट साइज फोटो, तालीमको प्रमाणपत्र, लालपुर्जाको फोटोकपी, चार किल्लाको फोटोकपी, कर तिरेको रसिद, कम्प्युटर ब्लुप्रिन्ट नक्सा÷ट्रेस नक्सा, घर निर्माण अनुमति र घर धितो भए निर्माण सकिएको प्रमाणपत्र सम्बन्धित बैंक कार्यालयमा पेश गर्नुपर्छ । यसबाहेक कम्पनीले लिँदा कम्पनी दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र र ३ वर्षका लागि अनुमानित लगानी पेश गर्नुपर्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्