ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ताजा तरकारी निर्यातको सम्भावना

उत्पादन वृद्धिका रणनीति

२०७८ सावन, ४  
लेख | दृष्टिकोण
Image Not Found

आर्थिक वर्ष २०१९/२० मा नेपालबाट विश्वका आठओटा मुलुक ( भारत, कतार, यूएई, यूके, जापान, सिंगापुर, हङकङ, ओमान) मा करीब रू. १२ करोड बराबरका विभिन्न २० प्रकारका ताजा तरकारीहरू निर्यात भएको पाइन्छ जसमध्ये काउली र बन्दाको स्थान प्रमुख रूपमा रहेको छ । आर्थिक वर्ष २०१४/१५ र आर्थिक वर्ष २०१६/१७ मा नेपालबाट क्रमशः रू. ३१ करोड ६० लाख र रू. ३० करोड ३० लाख बराबरका ताजा तरकारी निर्यात भएको पाइन्छ । यसरी विश्वका विकसित मुलुकहरूसहित छिमेकी मुलुक भारतमा पनि नेपाली तरकारी निर्यात हुनुले एउटा सुखद संकेत अवश्य गरेको छ । यो संकेत भनेको यस क्षेत्रमा थोरै मात्र ध्यान दिने हो भविष्यमा तरकारी निर्यात नेपालको आकर्षक व्यवसायका रूपमा फस्टाउन सक्छ भन्ने नै हो ।

यसरी नेपालबाट तरकारी निर्यातको व्यवस्थित रणनीति तर्जुमा गर्दा देहायका पक्षमा विशेष ध्यान जानु आवश्यक छ । पहिलो लक्षित बजार, दोस्रो लक्षित उत्पादन क्षेत्र र तेस्रो बजार प्रवेश र विस्तार रणनीति ।

सरकारी क्षेत्रको द्रुततर विकास लागि कृषिक्षेत्रमा अनुसन्धानरत सरकारी संस्थानहरू र शिक्षालयहरूलाई निजीक्षेत्रसँगको सहकार्यमा परिचालन गर्नु पनि आवश्यक देखिन्छ ।

निश्चय नै विश्वमा अग्र्यानिक तरकारीको विशाल बजार रहेको छ । विशेष गरी विकसित देशका सचेत उपभोक्ताको विशाल समूह नेपाली तरकारीका लक्षित ग्राहकहरू हुन् । ती ग्राहक बस्ने देशको कृषि तथा खाद्य उपभोगसम्बन्धी कानून र प्रावधानहरूको पालना हुने गरी नेपालका तरकारी उत्पादन र भण्डारण गरी मापदण्ड अनुरूप उपभोक्तासम्म सहज र नियमित रूपमा आपूर्ति रेखा स्थापना गर्नु पहिलो आवश्यकता हो । यसका लागि देशभित्रको तरकारी उत्पादन प्रणालीमा व्यापक सुधार, ट्रेसेबिलिटीको प्रावधानमा कृषकहरूलाई अभ्यस्त गराउने संस्कारको विकास, गुणस्तर नियमन, नियन्त्रण र पालनामा कडाइ तथा गुणस्तरीय आपूर्तिको सुनिश्चितताजस्ता विषयहरूमा विशेष ध्यान जानु आवश्यक देखिन्छ ।

दोस्रो, वर्षाद्को समयमा डुबानमा पर्ने विहार, पश्चिम बंगाल र बंगलादेश वर्षा ऋतुमा तरकारीका आकर्षक बजारका रूपमा रहेका छन् । यो समयमा यी तीनओटा क्षेत्रका शहरी उपभोक्ताको मागबमोजिम तरकारी आपूर्ति गर्न सक्ने क्षमता प्राप्त गर्ने हो भने वर्षाद्को मौसममा नेपालमा उत्पादन हुने तरकारीले सजिलै बजार प्राप्त गर्न सक्ने स्थिति विद्यमान रहेको छ । यसका लागि ती देशका तरकारी मण्डीहरू, तरकारी व्यापारका टाइकुनहरू तथा स्थानीय सरकारहरूसँग विशेष सम्बन्ध र समन्वय स्थापना गरी त्यो विशाल बजारमा स्थापित हुन संगठित प्रयास हुन जरुरी छ । दूरीका दृष्टिले पनि विहार र बंगालको पेटी भारतकै अन्य तरकारी उत्पादक क्षेत्रहरू भन्दा नेपाल नै बढी पायक पर्ने देखिन्छ । यस अवसरलाई व्यवहारमा उतार्न एकातिर स्वदेशका उत्पादनमा वृद्धि गर्नुपर्ने, नेपाली तरकारीलाई भारतका अन्य क्षेत्रमा उत्पादित तरकारीभन्दा बढी प्रतिस्पर्धी बनाउन उत्पादन, सिँचाइ, मल, बीउ, कृषि औजार, ढुवानीका साधन, भण्डारण र ढुवानीमा विशेष अनुदान दिनु पनि त्यत्तिकै जरुरी छ ।

नेपाली तरकारीको अर्को आकर्षक बजार भनेको नेपालीहरूको सघन बसोवास भएका खाडी, मलेशियालगायत मुलुक हुन् । यी मुलुकहरूमा पहिलो चरणमा नेपाली उपभोक्तालक्षित तरकारी आपूर्ति प्रणालीको स्थापना गर्नुपर्छ । यो आपूर्ति प्रणालीको व्यापकतासँगै क्रमशः स्थानीय उपभोक्ताहरू पनि नेपाली तरकारी उपभोगमा अभ्यस्त हुने र कालान्तरमा नेपाली तरकारीले स्थायी बजार प्राप्त गर्न सक्ने देखिन्छ ।

यसरी सारमा भन्नुपर्दा विकसित देशमा बस्ने अग्र्यानिक तरकारीका सचेत उपभोक्ताहरू, वर्षायाममा डुबानमा रहने विहार र बंगाल क्षेत्र तथा नेपालीहरूको बाक्लो उपस्थिति रहेका खाडी, मलेशिया, जापान, अस्ट्रेलिया, द.कोरिया र बेलायतजस्ता देशहरू नेपाली तरकारीका सम्भावित बजारहरू हुन् । यी तीनओटा क्षेत्रमा तरकारी निर्यात गर्न तीनओटा विशेष रणनीतिहरू तर्जुमा गरी तरकारी निर्यात गर्नुपर्छ ।

स्वदेशमा तरकारी उत्पादनका लागि पनि विशेष रणनीतिहरू तर्जुमा हुन आवश्यक छ । नेपालको भौगोलिक बनावट तथा उपलब्ध जलवायुका कारण हिमाली, लेकाली, पहाडी र तराई गरी चारओटा क्षेत्रमा चारओटा विशेष विशेषता भएका तरकारीहरू उत्पादन गर्न सकिन्छ ।

यसरी निर्यातलक्षित तरकारी उत्पादन क्रियाकलापले एकातिर निर्यात अभिवृद्धि हुने देखिन्छ भने अर्कोतिर स्वदेशमा पनि आवश्यक पर्ने तरकारीको मागलाई क्रमशः सम्बोधन गर्दै वार्षिक रूपमा आयात हुँदै आएको अर्बौ रुपैयाँको तरकारीको विस्थापन गर्न पनि सोहीअनुरूप मद्दत मिल्ने देखिन्छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रबाट प्रकाशित तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालमा रू. १४ अर्ब ८५ करोड बराबरका तरकारीहरू आयात भएको पाइन्छ जसमा प्रमुख अंश आलु, प्याज, टमाटर र लसुनको रहेको छ । हिमाल, लेक, पहाड र तराईलक्षित तरकारी उत्पादन वृद्धि कार्यक्रम लागू गर्ने हो भने यसले वर्तमान तरकारी आयातलाई पूर्णतया विस्थापन गर्न सक्ने देखिन्छ ।

यसरी स्वदेशको बजार, विहार–बंगालको वर्षाऋतुको बजार, नेपाली बसोवास रहेको रोजगारदाता मुुलुकहरूमा रहेको बजार र विकसित देशका सचेत उपभोक्ताको बजार लक्षित गरी तरकारीको उत्पादन विस्तार र गुणस्तर सुधारलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्छ । विशेषगरी कृषि तथा व्यापारसम्बद्ध निकायहरूलाई समुचित रूपमा परिचालन गर्ने गरी यस्तो अभियान सञ्चालन हुनुपर्छ । तरकारी क्षेत्रको द्रुततर विकास लागि कृषिक्षेत्रमा अनुसन्धानरत सरकारी संस्थानहरू र शिक्षालयहरूलाई निजीक्षेत्रसँगको सहकार्यमा परिचालन गर्नु पनि आवश्यक देखिन्छ । यसै गरी आयातकर्ता मुलुकहरूले कृषिजन्य उत्पादन आयातका सम्बन्धमा लागू गरेका गुणस्तरका मापदण्डहरूको पालन हुनेगरी नेपाली कृषि अभ्यासमा सुधार आजको सबैभन्दा पहिलो आवश्यकता हो । असल कृषि अभ्यासलाई कडाइका साथ लागू गर्ने, कृषि उत्पादन सम्बन्धी मापदण्डको उल्लंघनलाई अक्षम्य बनाउने तथा तरकारी उत्पादनदेखि वितरण प्रक्रियासम्म अनुभवजन्य अनुदान आदिको व्यवस्था गर्ने हो भने चाँडै नै नेपाली तरकारी नेपालको समृद्धिको एक महŒवपूर्ण क्षेत्रका रूपमा उदाउने निश्चित छ ।  

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्