ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धाका लागि नेपाली युवा वैज्ञानिक लण्डन जाँदै

२०७८ सावन, ४  
विविध
NA

काठमाडौं । युवा विद्यार्थीको नोबेल पुरस्कारका रूपमा चिनिएको हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धामा भाग लिन नेपाली युवा वैज्ञानिक लण्डन जाने भएका छन् । १० लाख अमेरिकी डलरको उक्त पुरस्कारका लागि वैशाखमा पहिलो र दोस्रो चरणको छनोट प्रतियोगिता भइसकेको थियो ।   
 
डल्ले च्याउ बनाउने मेसिन तयार पारेर प्रतिस्पर्धामा सहभागी भएका युवा वैज्ञानिकहरू शिशिर पन्त, प्रशान्त भट्ट, निर्देश भट्टराई र सोनी पोख्रेलको टोली अगस्ट ८ देखि सेप्टेम्बर १२ सम्म लण्डनमा हुन लागेको कार्यक्रमका लागि जाने तयारीमा छ । विश्वभरिबाट अन्तिम चरणका लागि ६९ सहभागी हुने उक्त कार्यक्रममा नेपाली युवा वैज्ञानिक पनि सहभागी हुन लागेको शिशिर पन्तले जानकारी दिए ।

टोलीलाई लण्डनमा सहभागी हुन लाग्ने खर्चको अभाव भएको गुनासोपछि गैरआवासीय नेपाली संघका पदाधिकारीले व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्न पहलका लागि ‘गो फण्ड’ सञ्जालमार्फत रकम संकलनको अभियान चलाइएको एक सामाजिक अभियानकर्मीले बताए । टोलीका सदस्यहरूलाई बस्न र खान बेलायतमा रहेका नेपाली व्यवसायीले सहयोग गर्ने बताए पनि आउने जाने खर्चका लागि समेत रकमको समस्या रहेकाले उक्त सहयोग अभियान सञ्चालन गरिएको हो ।   
 
घरेलु उद्योगका रूपमा विकास गर्न सकिने, गृहिणीले आफ्नो बचेको समयमा आयआर्जन गर्न सक्ने र पौष्टिक आहार प्राप्त हुने सोचले विकास गरिएको मेसिनले कम खर्चमै डल्ले च्याउ उत्पादन गर्ने बताइएको छ । हाल व्यावसायिक रूपमा च्याउखेती गरिँदै आए पनि बढी खर्चिलो भएको हुँदा यो प्रविधिले थोरै रकमबाट पनि आर्थिक आयआर्जन गर्न सकिने र विदेशबाट आयात गरिने च्याउको मात्रामा समेत कमी आउने युवा वैज्ञानिकको दाबी छ । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement