ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

साउनको पहिलो सोमवार : मन्दिर परिसरमै पूजाआराधना गरी मनाईंदै

२०७८ सावन, ४  
समाचार
Image Not Found

साउन ४, काठमाडौं । साउन महीनाको पहिलो सोमवार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रतबसी भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी मनाउँदैछन् । 

विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । यो महीना र सोमवार भगवान् शिवको महीना एवम् बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवम् दर्शन गरेमा मनोकांक्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । 

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड लाग्ने गरेकामा यसवर्ष कोरोना भाइरसको जोखिम कायमै रहेकाले मूल ढोकामै तालाबन्दी छ । 

मुल मन्दिर बन्द गरिए पनि बाहिर भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । पशुपतिनाथ मूल मन्दिरमा पूजाआराधना गर्न नपाए पनि भक्तजन पशुपति क्षेत्रका शिवालयमा पूजाआराधना एवम् दर्शन गरेर फर्किएका छन् ।

राजधानीका अन्य शिवालयमा भने रातो एवम् हरियो पहिरनमा सजिएका भक्तजनले भरिभराउ देखिन्छ । विवाहित महिलाले पतिको दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमवारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । नेपाल पञ्चांग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम भने सुख, शान्ति एवम् समृद्धिका लागि साउन महीना र सोमवार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउँछन् ।

घर घरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवम् पारिवारिक समृद्धिका लागि व्रतबसी पूजाआजा गर्छन् । यस वर्ष साउनमा पाँच ओटा सोमवार परेको छ । साउन ४, ११, १८, २५ र ३२ गते सोमवार परेको छ ।

पहिलोपटक साउने सोमवारको व्रत गर्नेले पाँच ओटा सोमवार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमवारको व्रत गर्नेहरुले अन्तिम सोमवार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्