ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सुरुङमार्ग निर्माणसँगै जनशक्ति पनि तयार गरिँदै

२०७८ सावन, ५  
समाचार
NA
author avatar हिमा वि.क.

काठमाडौं । नेपालका विभिन्न ठाउँमा सुरुङमार्ग बनाउने प्रस्ताव गरिए पनि दक्ष जनशक्तिको अभाव छ । यही अभावलाई पूर्ति गर्न नागढुंगा–नौबीसे सुरुङमार्गको आयोजनाको तयारी गर्दादेखि नै नेपाली इन्जिनीयर तथा प्राविधिकहरूलाई सुरुङमार्ग निर्माणमा खटाउने सहमति भएको थियो । यसै अनुसार सुरुङमार्ग निर्माणसँगै मुलुकभित्र टनेल (सुरुङमार्ग) जनशक्ति पनि तयार हुन थालेको छ । सुरुङमार्ग निर्माणमा काम गर्ने अवसर पाएसँगै नेपाली जनशक्ति पनि तयार हुने देखिएको छ ।

यो आयोजनामा नेपाली र जापानी गरी १५० जनाले काम गरिरहेका छन् । । तीमध्ये निर्माण कम्पनी हाज्मा आन्दो कर्पाेरेशनका १५ जना कर्मचारीहरू काम गरिरहेका छन् । आयोजना प्रमुख नरेशमान शाक्यले सुरुङ खन्ने समयदेखि नै नेपाली कामदारहरूलाई पनि मुख्य निर्माण कम्पनीले सहभागी गराउँदै लगेको बताए । उनका अनुसार हालसम्म आयोजनामा नेपालका तर्फबाट २५ इन्जिनीयर, ६ भूगर्भविद्, १२ टनेल सुपरभाइजर, १२ जना नै सर्वेयर र ३५ जना अपरेटर मुख्य काममा खटिएका छन् । उनीहरूले सुरुङमार्गका विभिन्न पक्षहरूमा अनुभव प्राप्त गरेका छन् । यसमा अन्य सामान्य कामदारको संख्या ४५ छ ।

अहिले सुरुङमार्ग बनाउँदा केके कुरामा ध्यान दिने, कसरी खन्ने, गुणस्तर व्यवस्थापनका विषयहरू साइटमा खटिएका जनशक्तिले सिकिरहेको शाक्यले बताए । ‘कतिपय अवस्थामा हेर्ने हो भने साइटमा नेपाली इन्जिनीयरहरूले नै कन्ट्रोल गरेका छन्,’ शाक्यले भने, ‘टनेल (सुरुङमार्ग) को एलाइनमेन्ट कसरी फिक्स गर्ने, कहाँ र कुन स्थानमा ध्यान दिने, कस्ता र कुन स्थानमा खन्ने काम छिटो गर्न सकिन्छ, पानी निस्कियो भने के गर्ने, बढी माटोहरू खस्यो अनि कसरी ब्लास्टिङ गर्ने भन्नेजस्ता प्राविधिक पाटोदेखि लिएर व्यवस्थापनका पक्षहरूमा नेपालीहरूले सिक्दै छन् ।’

अपरेटरहरूले मेशिनहरू कसरी चलाउने, ढलान गर्नेजस्ता विषयहरू जान्न थालेको उनले बताए । यस आयोजनामा सुरुङ खन्ने, मेशिन तथा उपकरणहरू चलाउने काम नेपालीहरूले गरेकाले निर्माणसँगै जनशक्ति पनि तयार हुँदै आएको उनको भनाइ छ । आयोजनाको सुरुङभित्र स्वचालित मेशिन तथा उपकरणहरू पनि छन् । पहिला जापानी कामदारहरूले सञ्चालन गरेको ती मेशिन अहिले नेपालीहरूले चलाउन थालेका छन् ।

सुरुङमार्ग बन्न शुरू गरेसँगै कस्तो उपकरण कसरी प्रयोग गर्ने भन्ने जानकारी त भयो नै । साथै राजमार्गमा बन्ने सुरुङका लागि कस्ता उपकरणहरू चाहिन्छन्, कुन एंगलबाट कसरी ड्रिल गर्ने, पहिला कुन सेक्शन खन्नेजस्ता पक्षहरू नेपाली इन्जिनीयर, अपरेटर तथा इन्चार्जहरूले सिकिरहेको उनले बताए ।

यसमा सडक विभाग र निर्माण कम्पनीका इन्जिनीयर तथा प्राविधिकहरू छन् । ‘अहिले निजीक्षेत्रबाट संलग्न प्राविधिकहरूले काम गर्दै सिकिरहेका छन्,’ शाक्यले भने, ‘अर्को हेरेर सिक्ने जनशक्ति पनि तयार भइरहेको छ । पछि उनीहरूलाई तालीम दिँदा छिटै सिकाउन सकिनेछ ।’    

सुरुङ निर्माण गर्दा केके समस्या आउन सक्छन्, कस्ता निर्माण कम्पनी छनोट गर्ने जस्ता व्यवस्थापनका विषयहरू विभागमातहतबाट सिक्नुपर्ने भन्दै उनले विभागका अधिकारीहरूका लागि लक्षित गरेर विशेष तालीम आयोजना गर्न लागेको बताए । यसमा निजीक्षेत्रका व्यक्तिहरूलाई पनि सहभागी गराउने तयारी भएको शाक्यको भनाइ छ । यही महीनामा हुने तालीममा डिजाइनदेखि वातावरणीय अध्ययनदेखि सामाजिक पक्षहरूका विषयमा तालीम दिइनेछ ।

सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रसँग समन्वय गरेर आयोजनाले सडक सुरुङमार्ग सम्बन्धमा तालीम दिने तयारी गरेको हो । तालीमका स्रोत व्यक्तिहरू केन्द्र आफै तथा आयोजनाले जुटाउने भएको छ । सुरुङमार्गको योजनादेखि निर्माणसम्मका पक्षमा विभागकै जनशक्ति तयार गर्ने लक्ष्यअनुसार १५/२० जना अधिकारीलाई सहभागी गराउने शाक्यले बताए । तालीमको स्रोत व्यक्तिमा आयोजना प्रमुख, जापानी प्राविधिक तथा इन्जिनीयर र अहिले आयोजनामा काम गरेका पनि सहभागी हुने उनले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्