ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

देउवाका लागि राम्रो अवसर

२०७८ सावन, ५  
सम्पादकीय
Image Not Found

प्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक स्थिति गत १ हप्ताभित्र नाटकीय रूपले माथि उठेको छ । पुनःस्थापित प्रतिनिधिसभामा आइतवार मतदानमा उपस्थित २४९ सांसदमध्ये १६५ ले उहाँलाई विश्वासको मत दिए र विपक्षमा ८३ मत मात्रै पर्‍यो । यसरी देउवा कुनै पार्टी विशेषको मात्रै नभएर करीबकरीब सबै दलको साझा उम्मेदवार जस्तै बन्नुभयो जुन उहाँका लागि ठूलो अवसर हो ।

तर, नयाँ सरकारबाट देशको आर्थिक, व्यवसायिक क्षेत्रमा कुनै ठूलो सहयोग हुने सम्भावना भने देखिँदैन । सरकार त स्थिर रहला, तर यति धेरै रंगीविरंगी संयुक्त सरकारका आफ्नै सीमा हुन्छन् । त्यसैले व्यवसायीहरूले अस्थिरता नै रहिरहन्छ भनेर योजना र रणनीति बनाउनु उपयुक्त हुन्छ ।

देउवालाई ओलीभन्दा उत्तम प्रधानमन्त्रीका रूपमा स्थापित हुन सक्ने राम्रो मौका छ । यसका लागि देउवाले एउटै कुरामा ध्यान दिए पुग्छ कि ओलीले गरेका जस्ता विजात्रा आफूबाट नदोहोरियून् ।

देउवाको विगतको छवि निकै विवादास्पद छ र अहिले उहाँलाई आफ्नो त्यो छवि सुधार्ने अवसर प्राप्त भएको छ । त्यसका लागि उहाँले धेरै गर्नुपर्ने पनि छैन, ओली सरकारले गरेजस्ता विजात्रा नदोहोर्‍याए पुग्छ । तर, समर्थक अरू दल र पक्षहरूको तथा आफ्नै दलका विभिन्न समूहको दबाब झेल्न उहाँ कत्तिको समर्थ हुनुहुन्छ त्यसमा धेरै कुरा भर पर्नेछ । विश्वासको मतका आधारमा सरकार बलियो देखिए पनि सबैलाई समेटेर जान नसके भोलिका दिनमा सरकारलाई काम गर्न कठिन हुने देखिन्छ ।

हुन त देउवा सरकारले प्राप्त गरेको विश्वासको मत शुरूमा ओली सरकारले पाएकै हाराहारीमा छ । तर, ओली सरकार जति बलियो थियो यो सरकार त्यति बलियो देखिँदैन । ओलीको एउटै दलको एकमना सरकार थियो भने यो मिलिजुली । तर, ओली सरकार प्रचण्ड बहुमतका साथ संसद्मा बलियो भए पनि विवाद व्यवस्थापन गर्न नजानेर तथा विरोधीका विचारलाई सुन्ने शक्ति र धैर्य नभएका कारण ओरालो लाग्दै गएको हो । देउवा सरकारसँग यस्तो प्रचण्ड बहुमत छैन र भएको मत पनि टिकिरहन सक्छ भन्ने छैन । तर, प्रतिनिधिसभामा विश्वासको मत लिँदा जुन नम्रता र सहिष्णुता देउवाले प्रदर्शन गर्नुभएको छ त्यसले उहाँ अवसरको उपयोग गर्न सक्नुहुन्छ कि भन्ने देखाएको छ । भिन्न सोच, भिन्न सिद्धान्त र स्वार्थ बाझिएका सांसदहरूले देउवालाई मत दिएका छन् । सानो स्वार्थ पूरा नहुनेबित्तिकै उनीहरूको मत सरकारलाई नहुन सक्छ । त्यसो भयो भने विभिन्न प्रस्ताव संसद्बाट पारित हुन सक्दैनन् र देउवाले फेरि अक्षम प्रधानमन्त्रीको पगरी गुथ्नुपर्ने हुन सक्छ । चाहनाले भन्दा पनि बाध्यताले धेरैले देउवालाई साथ दिएका हुन् । यो साथ र सहयोगलाई कसरी उपयोग गर्ने भन्ने कुरामा नै सरकारको सफलता निर्भर हुने देखिन्छ ।

निवर्तमान सरकारले ल्याएको बजेट अध्यादेश संसद्मा टेबल गर्नु, व्यापक विरोध भएका र समर्थन पाएका अध्यादेशहरूलाई पनि पारित गराउन संसद्मा लैजानु, विश्वासको मत माग्दा भाषणमा विनम्रता देखिनुजस्ता राम्रा कुराका लक्षण उहाँले देखाउनुभएको छ । यो कार्यशैली कायम राखे सफल हुन सक्नुहुन्छ । प्रधानमन्त्री बन्ने बित्तिकै शुरूमा केही गल्ती भएको थियो । जस्तै जनअपेक्षाविपरीत बालुवाटारमा कांग्रेसको बैठक राख्नु । तर, आइन्दा यो नदोहोर्‍याउने भन्ने समाचार आएको छ जुन सकारात्मक छ । ओलीले जति विजात्रा गरेका थिए त्यति नगरे चुनौतीका चाङका बीच पनि देउवा ओलीभन्दा उत्तम प्रधान मन्त्रीका रूपमा स्थापित हुन सक्ने सम्भावना छ । किनभने यो सरकारसँग धेरै ठूलो अपेक्षा नै गरिएको छैन । त्यसैले अहिले ओलीले पाएको अवसरभन्दा देउवाले पाएको अवसर राम्रो देखिन्छ ।

प्रधानमन्त्री देउवाले वार्ता र संवाद सबै तह र सबै ठाउँमा कायम राख्नुपर्छ । असहिष्णुताको प्रदर्शन गर्नु भएन । जनमानसमा देउवाको विगतको छवि राम्रो छैन । विगतको त्यो नराम्रो छविलाई मेट्ने अवसर हो, यो ।

यसका लागि राम्रो नै गर्नुपर्छ भन्ने छैन, खराब काम नगरे पुग्छ । व्यवसायीहरूले पनि यो भन्दा बढी अपेक्षा नगर्नु नै उपयुक्त हुन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्