ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

चेम्वर अफ कमर्सद्वारा प्रधानमन्त्री  समक्ष माग : कुल आयातको १० % कोरोना खोप निजी क्षेत्रलाई दिऔं

२०७८ सावन, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन ५, काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर कुल आयातको १० प्रतिशत कोरोना खोप निजी क्षेत्रलाई उपलब्ध गराउन माग गरेको छ ।

आर्थिक गतिविधिलाई बिस्तार गर्न ध्यानाकर्षण गराउँदै नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्वरका पदाधिकारीहरु तथा सदस्यहरुले प्रधानमन्त्री समक्ष भेटवार्ता गर्दै विश्व व्यापी कोरोना महामारीका कारण नेपाल पनि प्रभावित भएको र यसबाट थलिएको अर्थतन्त्रलाई उकास्न थप पहलकदमी गर्न माग गरेका हुन् । 

अध्यक्ष मल्लले गत वर्षदेखि नै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको र अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको बारे जानकारी गराउँदै मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि भइ अर्थतन्त्रमा योगदान पुग्न जाने बताए ।

साथै चेम्वर प्रतिनिधिमण्डलले निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कुल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्वरहरु, समस्त उद्योगी तथा व्यवसायीहरु र उद्योग तथा यातायात क्षेत्रका मजदूरहरुलाई लगाउने सुविधा उपलब्ध गराइ दिन आग्रह गरेको छ ।
 
साथै चेम्बरले  कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेजको  व्यवस्था गर्न पनि प्रधानमन्त्री समक्ष माग गरेको छ ।

उक्त रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनु पर्ने,  संसदमा बिचाराधीन आर्थिक विधेयकहरु पारित गरिनु पर्ने, आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशत भित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म व्यवस्थापन गरिनु पर्ने बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

उक्त अवसरमा प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रलाई पुनस्र्थापित गर्न सरकार निजी क्षेत्रसँग सदैव सहकार्य गर्न तयार रहेको बताउनु हुँदै अहिले अर्थतन्त्रमा चुनौतिहरु आएका छन्, यसलाइ सरकार तथा निजी क्षेत्रको सहकार्यबाट मात्रै सम्वोधन गर्न सकिने बताउनुभयो ।

कोभिड खोप सम्वन्धी नेपाल चेम्वर अफ कमर्सको माग वारे सरकार सम्वेदनशील रहेको भन्दै  उहाँले निकट भबिष्यमै यथेष्ट मात्रामा खोप उपलब्ध हुने  सवै पक्षको माग सम्वोधन हुने बताउनु भयो  ।

उक्त अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक कुमार मल्होत्रा,उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर, मानार्थ उपाध्यक्ष लोकमान्य गोल्छा तथा चेम्वरका सूचना तथा संचार समितिका सभापति सन्तोष पाण्डेको सहभागिता रहेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्