ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आन्तरिक राजस्व कार्यालय पोखरा : लक्ष्य अनुसार उठ्न सकेन राजस्व

२०७८ सावन, ६  
गण्डकी प्रदेश
Image Not Found

कास्की । आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य भेट्टाउन सकेन । राजस्व संकलन सन्तोषजनक रहे पनि कोरोना महामारी रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण निर्धारित लक्ष्यमा पुग्न नसकिएको उक्त कार्यालयले बताएको छ । कास्की र स्याङ्जा कार्यक्षेत्र रहेको सो कार्यालयले लक्ष्यभन्दा ३ प्रतिशत कम राजस्व उठाएको हो ।   
 
गत आवमा ४ अर्ब ८२ करोड २७ लाख ८५ हजार राजस्व उठाउने लक्ष्य लिइएकोमा ४ अर्ब ६७ करोड ८५ लाख ९५ हजार संकलन भएको कार्यालयका सूचना अधिकारीसमेत रहेका कर अधिकृत विजयप्रसाद लामिछानेले जानकारी दिए । उनका अनुसार ९७ दशमलव १ प्रतिशत राजस्व उठेको छ ।    
 
उक्त कार्यालय आव २०७६/७७ को तुलनामा भने राजस्व संकलनको लक्ष्य नजीक पुगेको छ । अघिल्लो आवमा ४ अर्ब ६१ करोड ६७ लाख राजस्व उठाउने लक्ष्य रहेकोमा ४ अर्ब ३ करोड ११ लाख मात्र संकलन भएको थियो, जुन लक्ष्यभन्दा २९ प्रतिशत न्यून थियो । कर अधिकृत लामिछानेले राजस्व संकलन सन्तोषजनक रहेको बताए । ‘राजस्वको शतप्रतिशत लक्ष्य पूरा नभए पनि लक्ष्यको नजीक पुग्न सफल भयौं,’ उनले भने, ‘भुक्तानी टीडीएसहरू समयमै दाखिला नभएको र कोरोनाका कारण व्यापार–व्यवसायमा समेत असर पुगेकाले राजस्व असुली केही कम भएको हो ।   

आव २०७७/७८ मा आयकरतर्फ २ अर्ब ८५ करोड राजस्व संकलन भएको छ, जुन लक्ष्यभन्दा बढी हो । कार्यालयका अनुसार  सो शीर्षकमा २ अर्ब ७७ करोड ८६ लाख राजस्व उठाउने लक्ष्य राखिएको थियो ।  
   
यसैगरी मूल्य अभिवृद्धि करबाट १ अर्ब २९ करोड २० लाख, अन्तःशुल्कबाट १९ करोड ८५ लाख ६३ हजार, करको ब्याजबाट २८ करोड पाँच लाख ८६ हजार, घरभाडा करबाट रु पाँच करोड ५४ लाख ९६ हजार, स्वास्थ्य सेवा करबाट १२ लाख २२ हजार र शिक्षा करबाट ४ लाख ५३ हजार राजस्व दाखिला भएको सूचना अधिकारी लामिछानेले जानकारी दिए । उक्त कार्यालयमा गत आर्थिक वर्षमा ३० हजार ८९२ करदाता थपिएका छन् । आव २०७६/७७ को असार मसान्तसम्म १ लाख ३४ हजार ६७० करदाता भएकोमा गत आवमा बढेर १ लाख ६५ हजार ५६२ पुगेका हुन् । गत असार मसान्तसम्म व्यक्तिगत प्यानमा १ लाख ९ हजार ३५२ र व्यावसायिक प्यानमा ५६ हजार १५८ करदाता दर्ता भएको राजस्व कार्यालयले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्