ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ट्राभल एजेन्सी र सम्पत्ति शुद्धीकरणको जोखिम

कक्स एन्ड किंग्स कान्डले देखाएको पाटो

२०७८ सावन, ६  
लेख | दृष्टिकोण
Image Not Found

ठीक १ वर्ष पहिले विश्वप्रसिद्ध ट्राभल एजेन्सी ‘कक्स एन्ड किंग्स’ले भारतको ‘यस बैंक’ सँग लिएको ऋण चुक्ता गर्न नसकी टाट पल्टेपछि उसले कस्तोकस्तो कर्तुत गरेर वित्तीय अपराध गर्दो रहेछ भन्ने थप तथ्यहरू विस्तारै उद्घाटित हुँदै गए ।

सन् १७५८ मा स्थापना भएको कक्स एन्ड किंग्सलाई नै ट्राभल एजेन्सीको विश्व इतिहासमा पहिलो आधुनिक ट्राभल एजेन्सी मानिन्छ ।

आफै वा तेस्रो व्यक्तिमार्फत पदयात्रा, तथा अवकाश भ्रमणलाई आवरण बनाई हवाई तथा यात्राको टिकट खरीदका लागि पहिले अवैध रकमबाट भुक्तानी गर्ने र पछि त्यस्तो कार्यक्रम नै रद्द भएको बहाना गरी सम्पूर्ण रकम शोधभर्ना माग गरी पहिलेको अवैध रकमलाई सजिलै शुद्ध बनाउने गरिन्छ ।

यस्तो ऐतिहासिक विरासत बोकेको ट्राभल एजेन्सीले विगत ५ वर्षमा १६० काल्पनिक ग्राहकको नाममा खडा गरिएका लगतहरूमार्फत करीब ९० अर्ब भारतीय रुपैयाँ बराबरको रकम अपचलन गरी स्थानान्तरण गरेको कुरा सार्वजनिक भएपछि ट्राभल एजेन्सीहरू पनि सम्पत्ति शुद्धीकरणजस्ता वित्तीय अपराधका लागि कम्ती जोखिमपूर्ण रहेनछन् भन्ने तथ्यलाई थप उजिल्याएको छ ।

भारतमा मुख्य कार्यालय रहेको र अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, नेदरल्यान्ड, जापान, सिंगापुर, अस्ट्रेलिया तथा न्यूजील्यान्डजस्ता देशहरूमा समेत आफ्ना व्यावसायिक समूहहरूमार्फत आफ्नो बलियो उपस्थिति जनाएको यो ट्राभल एजेन्सीले तिनै स्वसञ्जालमार्फत नै उक्त परिमाण बराबरको अवैध रकम स्थानान्तरण गरी सम्पत्ति शुद्धीकरण गरेको रहेछ ।

विशेष गरी कुनै पनि प्रकारको व्यावसायिक सम्बन्ध नभएका तर उक्त ट्राभल एजेन्सीका उच्च पदाधिकारीहरू तथा लेखा परीक्षकसमेतको संलग्नतामा दर्ता भएका कतिपय कम्पनीहरूसँगको काल्पनिक कारोबारको आधारमा अवैध रकमलाई विश्वव्यापी रूपमा स्थानान्तरण गर्न उक्त कम्पनी ‘सफल’ भएको कुरा विश्वप्रसिद्ध लेखा परीक्षक संस्था ‘केपीएमजी’ले गरेको लेखापरीक्षण प्रतिवेदनले सार्वजनिक गरेको थियो ।

यस्तै बेलायतको बर्मिङ्घममा रहेको एउटा पाकिस्तानी ट्राभल एजेन्सीले पनि लागू पदार्थ तथा अन्य अपराधी समूहबाट संकलन गरेको रकमलाई काल्पनिक हवाई टिकटबापत शोधभर्नाको वहानामा वर्षौंदेखि करोडौं रकम औपचारिक रूपमा बैंकिङ प्रणालीमार्पmत नै स्थानान्तरण गरेर वित्तीय अपराध गरेको घटना पनि हालै सार्वजनिक भएको छ । त्यसबाहेक उक्त एजेन्सीले कतिपय अवस्थामा हुन्डीको माध्यमबाट पनि रकम स्थानान्तरण गरेको पाइएकाले त्यसका सञ्चालकलाई १२ वर्षको कारावास सजाय सुनाइएको थियो ।

त्यसो त क्षेत्रगत दृष्टिले हेर्दा सम्पत्ति शुद्धीकरणका लागि बैंक तथा वित्तीय क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्र मानिन्छ । वित्तीय कारबाही कार्यदलले त्यसै भएर त्यसै भएर बैंक तथा वित्तीय संस्थाहरूका लागि वित्तीय अपराध नियन्त्रणसम्बन्धी कार्यक्रमहरूका बारेमा प्रभावकारी संयन्त्र तथा नीतिगत व्यवस्था हुनुपर्ने कुरामा जोड दिएको छ । सम्पत्ति शुद्धीकरणको विषय प्रत्यक्ष रूपमा वित्तसँग सम्बद्ध हुने तथा बैंकिङ च्यानलमार्फत हुने वित्तीय तथा मौद्रिक कारोबारलाई वैध मानिनेजस्ता कारणले गर्दा सबै बैंक तथा वित्तीय संस्थाहरूलाई यसरी उच्च जोखिमयुक्त क्षेत्रमा गणना गरिएको हो ।

तर, त्यसो भन्दैमा अर्थतन्त्रका अन्य क्षेत्रहरू पनि सम्पत्ति शुद्धीकरणको दृष्टिले कम जोखिमपूर्ण छैनन् । तिनै क्षेत्रहरूमध्ये पर्यटन क्षेत्रसँग सम्बद्ध ट्राभेल एजेन्सी पनि उच्च जोखिमयुक्त भएकाले कसरी यो क्षेत्र पनि जानेर अथवा नजानेर यस्ता वित्तीय अपराधमा संलग्न हुन सक्छन् वा तिनलाई अपराधीहरूले कसरी दुरुपयोग गर्न सक्छन् ।

ट्राभल एजेन्सीहरूलाई दुरुपयोग गरेर वित्तीय अपराधहरू गर्ने गरिएको सबैभन्दा प्रचलित तरीका भनेको आफै वा तेस्रो व्यक्तिमार्फत पदयात्रा, तथा अवकाश भ्रमणलाई आवरण बनाइ हवाई तथा यात्राको टिकट खरीदका लागि पहिले अवैध रकमबाट भुक्तानी गर्ने र पछि त्यस्तो कार्यक्रम नै रद्द भएको बहाना गरी सम्पूर्ण रकम शोधभर्ना माग गरी पहिलेको अवैध रकमलाई सजिलै शुद्ध बनाउने तरीका हो ।

त्यसबाहेक ट्राभेल एजेन्सीहरू स्वयंले पनि काल्पनिक हवाई टिकट यात्रा कार्यक्रमहरूको नाममा बिलबीजक जारी गरेर पनि अवैध रूपमा रकमको सीमापार ओसारपसार गर्न सक्छन् ।

जसरी अहिले ट्राभल एजेन्सीहरूको कार्यक्षेत्रमा विस्तार हुँदै गएको छ त्यसैगरी तीमार्पmत हुने वित्तीय अपराध कर्मको दायरा पनि फराकिलो हुँदै गरेको छ । अझ कतिपय देशमा त ट्राभल एजेन्सीहरूलाई सीमित वित्तीय सेवाहरू सञ्चालन गर्ने अनुमतिसमेत प्रदान गरिएका हुन्छन् । त्यस्ता ट्राभल एजेन्सीहरूले विशेष गरी मुद्रा विनिमय गर्ने, सानासाना चेकको भुक्तानी गर्ने, ट्राभलर्स चेक जारी गर्ने, रकम स्थानान्तरण गर्नेजस्ता वित्तीय सेवाहरू प्रवाह गर्छन् । र, ट्राभल एजेन्सीका यिनै वित्तीय सेवाहरूलाई नै विभिन्न तरीकाले दुरुपयोग गरी वित्तीय अपराध हुने गरेको छ ।

एशियाका कतिपय देशहरूमा ट्राभल एजेन्सीहरूले हुन्डीजस्ता अवैध कार्यलाई समेत आफ्नो मुख्य व्यवसाय बनाएको अवस्थाले समेत यो क्षेत्रको जोखिम–संवेदनशीलताका बारेमा अनुमान गर्न सकिन्छ । फेरि ट्राभल एजेन्सी व्यवसायमा लाग्नेहरू स्वयंबाट पनि अन्य प्रकारका व्यवसाय तथा गतिविधिबाट वैध अवैध तरीकाले गरिएका आर्जनलाई चोख्याउनसमेत यिनै ट्राभल एजेन्सी व्यवसायलाई दुरुपयोग हुने गरेको पनि पाइएको छ ।

पाकिस्तान तथा अफगानिस्तानजस्ता देशमा रहेका कतिपय ट्राभल एजेन्सीहरू त ग्रीस तथा साउदी अरेबियाजस्ता देशहरूमा मानव तस्करी तथा बेचबिखनजस्ता कार्यमा समेत प्रत्यक्ष परोक्ष रूपमा संलग्न भएका समाचारहरू सार्वजनिक भएका छन् ।

अमेरिकाजस्ता देशमा त झन् व्यापक मात्रामा अवैध रकमलाई धुल्याउने प्रयोजनका लागि रकमलाई सानासाना टुक्रामा विभक्त गरी शंकाको घेराबाट बाहिर पुर्‍याएर व्यापक मात्रामा अवैध रकमको सीमापार स्थानान्तरण हुने गरेको पाइएको छ । विशेष गरी कोलम्बिया, मेक्सिकोजस्ता दक्षिण अमेरिकी देशमा भएका आतंकवादी संगठनहरूले रकम स्थानान्तरण गर्न यस्ता ट्राभल एजेन्सीहरूलाई दुरुपयोग गर्ने गरेको देखिएको छ ।

कुनै कुनै अवस्थामा यस्ता संगठन आफैले पनि एउटा मात्र होइन धेरैओटा ट्राभल एजेन्सीहरू खोलेर यस्ता आपराधिक कार्यहरूलाई वैध जस्तो प्रतीत गराई निर्बाध रूपमा सञ्चालन गरिरेहेका पाइएका छन् । यसरी धेरैओटा कम्पनीहरू भएपछि त्यति नै बैंक खाता सञ्चालन गर्न पाइने र उक्त बैंक खाताहरूमार्फत धेरै मात्रामा रकम शुद्धीकरण गर्ने अवसर प्राप्त हुने कारणले पनि आतंककारी तथा वित्तीय अपराध गर्ने संगठनहरूले ट्राभल एजेन्सीको छद्मवेश अपनाउने गरेका छन् ।

यी सबै कारणले अहिले विश्वव्यापी रूपमा नियमनकारी निकायहरूले ट्राभल एजेन्सीहरूलाई समेत सम्पत्ति शुद्धीकरणको दृष्टिले उच्च जोखिमयुक्त क्षेत्र मानेर त्यहाँ बैंक तथा वित्तीय संस्थाहरूमा जस्तै प्रभावकारी रूपमा सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराध नियन्त्रणसम्बन्धी नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेका छन् । यिनै परिप्रेक्ष्यमा भारतको वित्तीय जानकारी एकाइले ट्राभल एजेन्सीहरूले समेत बैंक तथा वित्तीय संस्थाहरूले जसरी नै कुनै निश्चित सीमाभन्दा बढीको नगद कारोबारसम्बन्धी प्रतिवेदन उसलाई बुझाउनुपर्ने नियम लगाएको कुरा यहाँ स्मरणीय छ । सम्पत्ति शुद्धीकरणको अन्तरराष्ट्रिय मानदण्डअनुरूप ढिलो चाँडो नेपाल पनि सोही मार्गमा प्रवृत्त नभई धरै छैन ।

लेखक बैंकर हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्