ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बागलुङको संसारकोटमा ‘मिनी ग्रेटवाल’ बनाइने

२०७८ सावन, ६  
गण्डकी प्रदेश
NA
author avatar अर्जुन कार्की

बागलुङ । बागलुङको पर्यटकीय स्थल संसारकोट जाने बाटोमा ‘मिनी ग्रेटवाल’ बनाइने भएको छ । बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा संसारकोटमा मिनी ग्रेटवाल बनाउने योजना समावेश गरी बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले संसारकोटमा चीनको ग्रेटवाल शैलीमै मिनी ग्रेटवाल बनाउने योजना अगाडि सारेको हो । पाँच कोटलाई समेटेर विभिन्न पूर्वाधार विकास भएपछि बागलुङको पञ्चकोट आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल भएको छ । पञ्चकोटमा आउने पर्यटकलाई ध्यानमा राख्दै संसारकोटको धुरीसम्म पुर्‍याउन ग्रेटवाल बनाउन थालिएको नगरप्रमुख जनकराज पौडेलले बताए । उनले संसारकोट ग्रेटवालका लागि टेण्डर आह्वान भइसकेको बताए ।

ग्रेटवाल निर्माणका लागि नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा ५ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ । ‘बागलुङमा अहिले धेरैखाले पर्यटकीय स्थल विकास भइसकेका छन्,’ पौडेलले भने, ‘मिनी ग्रेटवाल अर्को महत्त्वपूर्ण गन्तव्य हुने अपेक्षा गरेका छौं ।’

संसारकोटमा पर्यटकलाई खाने बस्ने व्यवस्थाका लागि होटल समेत बनाइने नगरपालिकाले बताएको छ । वाल वरपरको भागमा खुला चिडियाखाना बनाउने योजना छ । वरिपरि वनजंगल भएकाले जंगली जनावरको अवलोकन गर्न सकिनेगरी संरचना निर्माण गरिने नगरप्रमुख पौडेलले बताए । यहाँ रहेका पाँच कोटमध्येको सबैभन्दा बढी उचाइ (समुद्री सतहबाट २८ सय मिटर)मा छ ।

संसारकोटबाट लेकैलेक ढोरपाटनसम्म पुग्ने पदमार्ग पनि बनाउने योजना नगरपालिकाको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्