ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रस्तावित अन्तरराष्ट्रिय चलचित्र नगरीमा प्रशासनिक भवनको निर्माण गरिंदै

२०७८ सावन, ६  
वाग्मती प्रदेश
Image Not Found
प्रस्तावित चलचित्र नगरीबाट देखिएको जुगल तथा रोलवालिङ हिमश्रृंखलाको दृष्य । तस्वीर :नवराज शिवकोटी/ आर्थिक अभियान
author avatar अभियान संवाददाता

साउन ६, दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ९ को डाङ्डुङ्गे डाँडामा प्रस्तावित अन्तरराष्ट्रिय चलचित्र नगरीमा प्रशासनीक भवन तथा गेट निर्माण गरिने भएको छ । 

बाग्मती सरकारले चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेपछि ति संरचना निर्माण गरिने भएको हो  । प्रस्तावित अन्तरराष्ट्रिय चलचित्र नगरीमा प्रशासनिक भवन तथा गेट निर्माणकालागि  बाग्मती प्रदेश सरकारबाट भीमेश्वर नगरपालिका मार्फत ३ करोड ५० लाख रुपैयाँ विनियोजन भएको भीमेश्वर नगरपालिकाका आर्थिक प्रशासन प्रमुख जगदिश आर्यालले बताए ।

भवन तथा गेट निर्माणको लागि टेन्डर प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ । यस्तै लामोसाँघु–जिरी सडकको खरिढुंगादेखि पस्तावित फिल्म नगरीसम्म पुग्नकालागि खनिएको ६ दशमलब ५ किलोमिटर बाटो कालोपत्रे गर्नकालागि चालू आर्थिक वर्षमा बाग्मती प्रदेश सरकारबाट ३ करोड रकम विनियोजन भएको अन्तरराष्ट्रिय चलचित्र नगरी निर्माणका अभियन्ता बरिष्ठ कलाकार मदनदाश श्रेष्ठले बताए ।

केन्द्र सरकारको प्राथमिकतामा नपरे पनि प्रदेशले चलचित्र नगरीका लागि थोरै भएपनि बजेट विनियोजन गर्नु सुखद नै रहेको अभियन्ता श्रेष्ठको भनाइ छ ।अन्तरराष्ट्रिय लगानी सम्मेलनमा समेत बाह्य लगानीका लागि प्रस्तुत भएको अन्तरराष्ट्रिय चलचित्र  नगरी आयोजना अगाडि बढ्नै लाग्दा तत्कालिन प्रधानमन्त्री केपी केपी ओलीले घामै नलाग्ने ठाउँमा फिल्मसीटी बन्नै सक्दैन भन्ने अभिब्यक्ति दिएपछि अन्तरराष्ट्रिय फिल्म नगरी आयोजना ओझेलमा परेको  थियो ।

ओलीको सत्ता बहिर्गमन पछि यो आयोजना पुनः आगाडि बढ्ने भीमेश्वर नगरपालिका वडा नम्बर ९ , खरिढुंगाका स्थानीयहरुको आशा छ ।
चलचित्र नगरी निर्माणकालागि अन्तरराष्ट्रिय लगानी भित्र्याउने बातावरण बनाउन पनि आफूहरु लागिरहेको अभियन्ता श्रेष्ठले बताए ।

कतिपय विदेशी लगानीकर्ताले चासोदिंदा पनि पूर्व सरकारका मन्त्रिहरुको बेवास्ताका कारण लगानीकर्ता फर्किएको अभियन्ता श्रेष्ठको दुःखेसो छ । अहिले पनि भारतको मुंबइका केही लगानीकर्ताहरुले प्रस्तावित चलचित्र नगरीको अवलोकन गर्न आउने  तथा उपयुक्त लागेमा लगानी गर्न सक्ने कुरा आफूसँग बताएको उनको भनाइ छ । 

 

प्रस्तावित उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार २ अर्ब ७५ करोड रुपैयाँ लागत अनुमान छ । यस्तै फिल्म सिटीका सम्पुर्ण संरचना निर्माणका लागि ७६ दशमलव २५ हेक्टर जमीन आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । दोलखाको हाल भीमेश्वर नगरपालिका–९ साविक लाँकुरीडाँडा गाविस–८ र ९ को सेतीदेवीदादर सामुदायिक बनको ६४ हेक्टर र सिन्धुपाल्चोकको पिस्कर–६ को १२ हेक्टर जमीनलाई उपयोग गर्ने प्रतिवेदनमा उल्लेख छ ।

इन्डोर र आउटडोर सुटिङका लागि यति धेरै जग्गा आवश्यक परे पनि मुख्य संरचना ९ दशमलव ६१ हेक्टरमा मात्र निर्माण हुने डीपीआरमा उल्लेख छ । अन्तरराष्ट्रिस्तरको चलचित्र नगरी निर्माणका लागि चलचित्र विकास बोर्डबाट परामर्शदाता मार्फत डीपीआर तयार गरिएको थियो ।

काठमाडौंबाट १०५ किलामिटर पूर्व रहेको प्रस्तावित अन्तरराष्ट्रिय चलचित्र नगरी बन्ने डाङ्डुङे डाँडाबाट जुगल तथा रोलवालिङ हिमश्रृंखलाको मनोरम दृष्यको दृष्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्