ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

निर्माण व्यवसायी महासंघद्वारा म्याद थप, धरौटी फिर्ता र भुक्तानीका विषयमा ध्यानाकर्षण

२०७८ सावन, ६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन ६, काठमाडौं  । नेपाल निर्माण व्यवसायी महासंघको  प्रतिनिधिमण्डलले बुधवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी निर्माण व्यवसायीहरूको समस्या र समाधानका उपायबारे ध्यानाकर्षण गराएको छ ।

महासंघ प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले व्यवसायीहरूको समस्या अध्ययन गरी समाधान गर्ने बताउनु भएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले अघिल्लो सरकारले ल्याएका बजेट कार्यान्वयनको माग गर्दै पूरक बजेट ल्याइएमा त्यसमा पनि निर्माण व्यवसायीहरूको माग सम्बोधन गरिदिन आग्रह गरेको हो । 

महासंघले बजेटसँग सम्बन्धित् म्याद थप, धरौटी रकम फिर्ता लगायतका विषयमा प्रधानमन्त्री देउवासमक्ष लिखित सुझाव पेश गर्दै कार्यान्वयनका लागि आग्रह गरेको हो । 

प्रतिनिधिमण्डलले आर्थिक वर्ष २०७८÷०७९ को बजेट वक्तव्यमा निर्माण आयोजनाहरूको छ महीना म्याद थप हुने व्यवस्था भएकोमा कोभिडको दोस्रो कहर, वर्षात्को मौसम, सिजन अनुसार हुने कार्य र त्यसपछिका चाडबाडका कारण आउँदो कात्तिक महीनाको अन्त्यसम्म शुन्य समय (कन्स्ट्रक्शन होलिडे) मानेर तत्पश्चात् सम्पूर्ण ठेक्काहरुको हकमा सम्बन्धित् सार्वजनिक निकायका अधिकारीले गरेको निर्णय मितिबाट गणना हुने गरी स्वतः एक वर्ष म्याद थपको नीतिगत निर्णय गरिनु पर्ने सुझाव दिएको छ । 

गत वर्षको चैत ११ गतेदेखि लकडाउन र तत्पश्चात् २०७७ माघ ११ गते म्याद थपको लागि भएको नीतिगत निर्णयबाट समेत म्याद थपको समस्या समाधान नभई दुई सिजनमा गरी लगभग ५ हजार आयोजनाहरु प्रभावित भएको भन्दै महासंघले ती आयोजनाहरुको लागि म्याद थपको निर्णय भएको मितिभन्दा अगाडि म्याद समाप्त भएका सबै आयोजनाहरुको लागि निर्णय मितिबाट गणना हुने गरी स्वतः एक वर्ष म्याद थप गरिनु पर्ने माग राखेको छ । 

संसद्मा संशोधनका लागि दर्ता भएको सार्वजनिक खरीद ऐनको दोस्रो संशोधन व्यवसायीमैत्री बनाउनका लागि सरोकारवालाहरू संलग्न विज्ञ टोली गठनका लागि अध्यक्ष सिंहले प्रधानमन्त्री देउवा समक्ष आग्रह गरेका छन् ।

व्यवसायीहरूको ठूलो भुक्तानी रोकिएकाले तत्काल भुक्तान गरिदिन पनि महासंघले आग्रह गरेको छ । यसबाहेक महासंघले शुल्क जरिवाना तथा दस्तुर मिनाहा, पुनर्कर्जा, नि : शुल्क बैंक ग्यारेण्टी नविकरण लगायतका विषयमा पनि लिखित सुझाव प्रधानमन्त्रीलाई बुझाएको छ ।

सो अवसरमा महासंघका सल्लाहकार सुकुन्तलाल हिराचन, गेल्जे लामा, पूर्व अध्यक्ष यक्षध्वज कार्की, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, उपाध्यक्षहरू आङदोर्जी लामा, धिरेन्द्र दाहाल, टेक बहादुर सेठी, रत्न बहादुर खड्का लगायतको रहेको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्