ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मेक इन नेपाल स्वदेशी अभियान आत्मनिर्भर अर्थतन्त्रको जग : प्रधानमन्त्री देउवा

२०७८ सावन, ७  
समाचार
Image Not Found

काठमाडौं (अस) । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकका लागि कोभिड– १९ विरुद्धको निःशुल्क खोप पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले खोपसँगै आर्थिक विकास र लगानी अभिवृद्धि सरकारको प्राथमिकतमा रहेको जानकारी दिनुभयो ।

‘हामीले विकासलाई प्राथमिकता दिए पनि त्योभन्दा पहिले नागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘महामारीबाट बाहिर निस्किने विषय सबैभन्दा चुनौतीपूर्ण छ, त्यसकारण पहिलो प्राथमिकता नै निःशुल्क खोप वितरण हो ।’

प्रधानमन्त्री देउवाले परिसंघले नेपाली वस्तुको उत्पादन एवं उपभोग बढाउने योजनासहित अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानले नेपालमा औद्योगिकीकरणलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले कोभिडले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता बोध गराइदिएको उल्लेख गरे । परिसंघले अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानले स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने उनले बताए । महामारीका कारण कमजोर अवस्थामा रहेको अर्थतन्त्रलाई माथि उठाउन सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

यसैगरी परिसंघका संस्थापक अध्यक्ष विनोद चौधरीले संस्थाले महत्वपूर्ण थिंक ट्यांकको रूपमा काम गरिरहेको जानकारी दिए ।

साधारणसभामा नीति आयोग भारतका प्रमुख कार्यकारी अधिकृत अमिताभ कान्तले तीव्र आर्थिक विकासका लागि नीतिगत सहजता आवश्यक हुने धारणा व्यक्त गरे । उनले भारत सरकारले  लगानी अभिवृद्धि र निजी क्षेत्रको सहजीकरणका लागि संरचनागत परिवर्तन गरेको उदाहरण प्रस्तुत गरे । साधारणसभामा परिसंघ अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रको गतिशील र विश्वसनीय संस्थाको रूपमा परिसंघलाई अघि बढाएको जानकारी दिए ।

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले कोभिडविरुद्धको खोप वितरणमा निजी क्षेत्रलाई पनि प्राथमिकता दिन आग्रह गरे । कार्यक्रममा परिसंघका उपाध्यक्ष अनुज अग्रवालले मेक इन नेपाल स्वदेशी अभियानबारे प्रस्तुतीकरण दिएका थिए ।

युनियन अफ एसियन चेम्बर्स गठन
परिसंघको साधारणसभामा प्रधानमन्त्री देउवाले युनियन अफ एसियन चेम्बर्सको घोषणा गर्नुभएको छ । एसियाली देशका चेम्बरको साझा मञ्च निर्माण गर्ने उद्देश्यले युनियन अफ एसिएन चेम्बर्स गठनको घोषणा गरिएको हो ।

युनियन अफ एसियन चेम्बर्सको नेतृत्व हाल परिसंघ उपाध्यक्ष निर्वाण चौधरीले लिएका छन् । चौधरीले एसियाली देशमा व्यापार सहजीकरण गर्ने, क्षेत्रीय आर्थिक विकासमा योगदान गर्ने र एसियालाई २१ औं शताब्दीको आर्थिक केन्द्र बनाउने गरी अघि बढ्ने उद्देश्य राखिएको जानकारी दिए ।

परिसंघ अध्यक्षमा अग्रवाल
उद्योग परिसंघको नेतृत्व उद्यमी विष्णुकुमार अग्रवाल चयन भएका छन् । संस्थाको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघ अध्यक्ष चुनिएका हुन् ।

अग्रवाल यसअघि परिसंघको बरिष्ठ उपाध्यक्ष थिए । नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक हुन् । परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद् सदस्य चयन गरेको छ । त्यसमध्येबाट ७ जना उपाध्यक्ष चयन हुनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्