ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

रक्तसञ्चार सेवाले मनायो स्थापना दिवस

२०७८ सावन, १४  
वाग्मती प्रदेश
Chelsea International Image Not Found

काठमाडौं (अस) । नेपालमा रक्तसञ्चार सेवाको प्रारम्भिक वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ ।

आर्थिक वर्ष ०७७/७८ मा नेपाल रेडक्रसबाट २ लाख ४२  हजार ४८ युनिट रगत संकलन गरिएको र ३ लाख ३१ हजार ४ सय ५६  युनिट रगत बिरामीलाई उपलब्ध गराइएको छ ।

०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्र सञ्चालन हुँदाको वर्ष जम्मा १५७ युनिट रगत संकलन भएको तथ्यांक छ ।

नेपालमा रक्तसञ्चार सेवाको ५५ औं  स्थापना दिवस मंगलबार नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवामा आयोजित मूल कार्यक्रममा यसबारे  जानकारी दिइएको हो ।

अघिल्लो वर्ष देशभरमा २ लाख ३८ हजार ८ सय ३६ युनिट रगत संकलन भएकामा ३ लाख २१ हजार ७ सय ७६ युनिट रगत वितरण भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) स्थापना भएको तीन वर्षपछि ०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गरिएको थियो ।

प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले स्वयंसेवी रक्तदाता र रक्तदान गर्ने संघ–संस्थाहरूलाई धन्यवाद दिए ।
रक्तसञ्चार सेवाको दीर्घकालीन विकासका लागि सबै क्षेत्रसँग हातेमालो गरी अगाडि बढ्नुपर्ने आवश्यकता उनले औँल्याए ।      
     
नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले नेपालको जनसंख्याको २ प्रतिशत मानिसले नियमित रक्तदान गर्न सके आवश्यक परेको समय रगत सहजै पाउन सकिने भएकाले थप रक्तदान उत्प्रेरणा बढाउनुपर्नेमा जोड दिए ।

नेरेसो केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले रक्तसञ्चार सेवा सञ्चालन, विकास र विस्तारमा नेपाल सरकारका विभिन्न निकाय, युवा, विद्यार्थी, मजदुर, पेसा व्यवसायी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राजनीतिक दल, रक्तदाता, सहकारी, वित्तीय संघ–संस्था, रक्तदाताका सञ्जाल, विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सक्रिय सहयोगप्रति  आभार व्यक्त गरे ।

नेपाल रेडक्रस सोसाइटीले काठमाडौंमा केन्द्रीय रक्तसञ्चार सेवाको अलावा विराटनगर, भरतपुर, पोखरा, नेपालगञ्ज र धनगढी गरी ५ स्थानमा प्रदेश रक्तसञ्चार सेवा सञ्चालन गरिरहेको छ ।

यसैगरी २२ जिल्लामा जिल्ला स्तरीय, विभिन्न जिल्लाको ४१ स्थानबाट आकस्मिक रक्तसञ्चार सेवा प्रदान गर्दै आएको छ ।

विभिन्न ४९ वटा अस्पतालबाट पनि रक्त सञ्चार सेवा प्रदान भइआएको छ । नेपालको ७० जिल्लाका ११७ स्थानमा रक्तसञ्चार सेवा केन्द्र तथा इकाइ क्रियाशील छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्