ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

घर निर्माणमा अनिवार्य भवन संहिता

२०७८ सावन, १५  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ०७२ को विनाशकारी भूकम्पले धनजनको ठूलो क्षति गरायोे । त्यो क्षतिको प्रमुख कारण भूकम्पभन्दा पनि भवन निर्माण मापदण्ड अभाव र प्राविधिक ज्ञानको उपयोग नगरिनु पनि हो । हाल सरकारले घर (भवन) निर्माणमा भूकम्प प्रतिरोधात्मक व्यवस्थाको पालना गराउन कडाइ थालेको छ ।

भवन निर्माणका लागि आधारभूत निर्माणसम्बन्धी चार वटा मापदण्ड दस्तावेजमा लिपिबद्ध छन् ।

(क) नगर विकास ऐन, २०४५

(ख) भवन ऐन, २०५५

(ग) भवन संहिता, २०६०  

(घ) बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२

यिनमा भएका आधारभूत मापदण्ड ठाउँ विशेषअनुसार महानगरपालिका, नगरपालिका र गाउँपालिकामा फरक हुन सक्ने कानुनी व्यवस्था छ । तर, स्थानीय निकायहरूले लागू गर्ने मापदण्डको मूल आधार भने यिनै चार वटा दस्तावेज हुन् ।

यसमा बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ का नियमलाई प्रस्ट पार्ने प्रयास गरिएको छ । सबभन्दा पहिले केही प्राविधिक पदावली हेरौं ।

जग्गा उपयोग प्रतिशत (ग्राउन्ड कभरेज) :
यो भनेको भवनको भुइँ तलाको क्षेत्रफल र भवन बन्ने जग्गा वा घडेरीको क्षेत्रफलको अनुपातलाई १०० ले गुणा गर्दा हुन आउने प्रतिशत हो ।

भुइँ क्षेत्रको अनुपात (एफ्एआर वा फ्लोर एरिया कभरेज):
भवनको सम्पूर्ण तलामा निर्मित क्षेत्रफलको योगफललाई भवन बन्ने जग्गा वा घडेरीको क्षेत्रफलले भाग गरेर आएको भागफललाई यसले जनाउँछ ।

सडकको अधिकार क्षेत्र (राइट अफ वे) :
ऐन, नियम तथा स्वीकृत मापदण्डले तोकेको सडकको चौडाइलाई यसले जनाउँछ ।

सेटब्याक :
आफ्नो जग्गामा भवन बनाउँदा साँधसिमाना, सार्वजनिक सम्पत्ति र सडक अधिकार क्षेत्रबाट छाड्नुपर्ने न्यूनतम दूरीलाई यसले जनाउँछ ।

खुला क्षेत्र :
बस्ती विकासभित्रको त्यस्तो क्षेत्र, जहाँ अत्यावश्यक सार्वजनिक पूर्वाधार सेवा विस्तार गर्नबाहेक कुनै भौतिक संरचना निर्माण निषेध गरिएको हुन्छ ।

भवनको वर्गीकरण
भवन ऐन, २०५५ अनुसार भवन संहिताको तर्जुमा तथा कार्यान्वयन गर्ने प्रयोजनका लागि भवनलाई क, ख, ग र घमा गरी वर्गीकरण गरिएको छ । हरेक वर्गका लागि केही विशेष प्रावधान हुन्छन् ।

क वर्ग :
विकसित मुलुकमा अपनाइएका भवन संहितासमेतको अनुसरण गरी इन्टरनेसनल स्टेट अफ आर्टमा आधारित हुने गरी बनाइने अत्याधुनिक भवन ।

ख वर्ग :
प्लीन्थ एरिया एक हजार वर्ग फिटभन्दा बढी, भुइँतलासहित तीन तलाभन्दा बढी वा स्ट्रक्चरल स्पान ४.५ मिटरभन्दा बढी भएका भवन ।

ग वर्ग :
प्लीन्थ एरिया एक हजार वर्ग फिटसम्म, भुइँ तलासहित तीन तलासम्म वा स्ट्रक्चरल स्पान ४.५ मिटरसम्म भएका भवन ।

घ वर्ग :
खण्ड क), ख) र ग) मा लेखिएबाहेकका काँचो वा पाको इँटा, ढुंगा, माटो, बाँस, खर आदि प्रयोग गरी दुई तलासम्म बनाइने घर, छाप्रा ।

भवनको वर्गीकरणअनुसार मापदण्ड फरक–फरक भएजस्तै तराई क्षेत्र, पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा छुट्टाछुट्टै मापदण्ड लागू गरेको देखिन्छ । उपत्यकाभित्र पनि ललितपुर र काठमाडौंमा फरक–फरक मापदण्ड रहेको छ ।

यहाँ मापदण्डको नमुनाको रूपमा काठमाडाैं महानगरपालिकाले लागू गरेको मापदण्डबारे चर्चा गरिएको छ ।

काठमाडौं महानगरले ऐतिहासिक, सांस्कृतिक, पुरानो सहर, पर्यटकीय वा पुरातात्विक क्षेत्रको आधारमा मापदण्ड निर्माण गरी लागू गरेको छ । सोहीअनुसार बेसमेन्टसम्बन्धी व्यवस्थामा दुई तलासम्मको बेसमेन्टसहित निर्माण गर्ने भए संधियारतर्फको सेटब्याक कम्तीमा तीन मिटर छाड्नुपर्नेछ ।

त्यसैगरी झ्याल, ढोका, बार्दली आदि राख्नुपरे कम्तीमा १.५ मिटर सेटब्याक छाड्नुपर्नेछ । पुरानो सहरी क्षेत्रमा सबैभन्दा माथिल्लो तलाको छानामा मात्र बढीमा ०.६० मिटरसम्मको सनसेड (टप) बाटो वा चोकतिर राख्न सकिनेछ । तर, चोकको कर्नरमा दुई वटा घरको साँधमा ४५० हुने गरी टप राख्नुपर्छ ।

पुरानो सहरी क्षेत्रबाहेक क्षेत्रमा ६ मिटर वा सोभन्दा बढी चौडाइ भएका सडकसँग जोडिएको कित्तामा भवन निर्माण गर्दा भुइँ तलामा व्यापारिक प्रयोजनका लागि सटर राख्न पाइनेछ । सटरतर्फको सेटब्याक कम्तीमा २ मिटर हुनुपर्छ ।

योजनाबद्ध आवासीय उप–क्षेत्रमा एफ्एआर ३.५ मिटर हुनेछ । त्यसैगरी स्थानीय सडकको क्षेत्राधिकारअन्तर्गत पुरानो सहरी क्षेत्रमा लागू गरिएको सडकको मापदण्डबाहेकका सम्पूर्ण सडकको न्यूनतम सेटब्याक १.५ मिटर कायम हुनेछ ।

कम्पाउन्ड वाल निर्माण गर्दा सडकको क्षेत्राधिकार (राइट अफ वे) नमिचिने गरी निर्माण स्वीकृति दिइनेछ ।

५० मिटरभन्दा छोटो बाटो (कुल् डे स्याकरडेड एन्ड) को क्षेत्राधिकार ३ मिटर कायम गरी छेउबाट कम्तीमा १ मिटर सेटब्याक छाड्नुपर्नेछ । ५० मिटरभन्दा लामो सडकको क्षेत्राधिकार ४ मिटर कायम गरी १.५ मिटर सेटब्याक छाड्नुपर्नेछ ।

पुरानो सहरी क्षेत्रमा हाल कायम रहेका १.२ मिटरभन्दा साना गल्ली बाटोमा नयाँ संरचना निर्माण गर्दा कम्तीमा १.२ मिटर पुग्ने गरी बाटो कायम गरिनेछ । पुरानो सहरी क्षेत्रबाहेकका क्षेत्रमा बन्ने १७ मिटरभन्दा अग्ला सबै किसिमका भवनको हकमा भुइँ तला देखिने न्यूनतम सेटब्याक ५ मिटर हुनुपर्नेछ ।

भुइँ तलामा पार्किङ प्रयोजनका लागि निर्माण इजाजत लिने जग्गाले कम्तीमा ३ मिटरको बाटो छोएको हुनुपर्छ ।

काठमाडौं महानगरले अन्य मापदण्डमा आवासीय क्षेत्र, पुरानो सहरी क्षेत्र र उप–क्षेत्र गरी विभाजन गरेर मापदण्ड तय गरेको देखिन्छ । महानगरले यसबाहेक अन्य व्यवस्था काठमाडौं उपत्यकाका महानगर, नगरपालिका एवं नगरोन्मुख गाविसहरूमा गरिने निर्माणसम्बन्धी मापदण्ड, २०६४, बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ अनुसार हुने स्पष्ट लेखेको देखिन्छ ।

काठमाडौं महानगरपालिका र त्यसअन्तर्गतका स्थानीय क्षेत्रमा भवन निर्माण गर्दा माथिका मापदण्ड पालना नगरी बनाइएका भवनको नक्सा पास हुने छैन भने ती भवन महानगरको अभिलेखको रूपमा मात्र रहने स्पष्ट नियम छ ।   

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्