ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

५० % पाहुना राख्न पाउने गरी खुले बागलुङका होटल 

२०७८ सावन, १५  
गण्डकी प्रदेश
Chelsea International Image Not Found

साउन १५, बागलुङ । ५० प्रतिशत नबढ्ने गरी पाहुना राख्न पाउने गरी यहाँका होटललाई सेवा सञ्चालनको अनुमति दिइएको छ । 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जनस्वास्थ्य मापदण्डको पूर्ण पालनासहित शुक्रवारदेखि आधा क्षमतामा होटल खोल्न दिने निर्णय गरेको हो ।

यसअघि होटल तथा रेष्टुराँलाई साँझ ७ बजेसम्म मात्र ‘टेक अवे’ र ‘होम डेलिभरी’ दिन पाउने प्रावधान तोकिएको थियो । व्यवसायीको मागलाईसमेत दृष्टिगत गरी होटल सञ्चालनको अनुमति दिइएको केन्द्रले जानकारी दिएको छ । 

होटल व्यवसायीले प्रमुख जिल्ला अधिकारीसमक्ष खोपको प्रबन्ध र व्यवसाय सञ्चालनमा सहजीकरण गर्न माग गर्दै गत सोमवार ज्ञापनपत्र बुझाएका थिए । होटल व्यवसायी र कर्मचारीले छिट्टै खोप पनि पाउने भएका छन् । बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी संघका अध्यक्ष निलेश राजभण्डारीले स्वास्थ्य मापदण्ड अपनाएर सेवा दिन होटल तयार रहेको बताए । सेवा क्षेत्रका व्यवसायमा आबद्ध सबैलाई खोपको सुनिश्चिता हुनुपर्ने उनको भनाइ छ ।

कोरोनाको प्रत्यक्ष मारमा परेको होटल क्षेत्रलाई उकास्न राज्यले व्यवसायी लक्षित राहत तथा पुनःस्थापना कार्यक्रम ल्याउनुपर्ने माग गर्दै आएका छन् । जिल्लामा झण्डै २०० होटल तथा रेष्टुराँ छन् । बन्दाबन्दी र निषेधाज्ञाका कारण विगत डेढ वर्षदेखि व्यवसाय थलिएको छ । कतिले रोजगारी गुमाएका छन् ।

रेष्टुराँ सञ्चालनमा भने अझै पनि कडाइ कायमै छ । रेष्टुराँ तथा खाजाघरले साँझ ७ बजेसम्म मात्र ‘टेक अवे’ र ‘होम डेलिभरी’ सेवा दिन पाउँछन् । खुकुला प्रावधानसहित जारी निषेधाज्ञा अर्को सूचना जारी नभएसम्म यथावत् रहने केन्द्रले जानकारी दिएको छ । 

सार्वजनिक यातायातदेखि पसल, व्यवसाय सबैलाई समय र सेवाको मापदण्ड तोकेर खुला गरिएको छ । शैक्षिक संस्था, मठ मन्दिरलगायत मानिसको भीडभाड हुने क्षेत्रमा भने प्रतिबन्ध कायमै छ । सहकारी, बैंक तथा वित्तीय संस्थाले पनि पूर्ववत्रुपमा नियमित सेवा दिइरहेका छन् । 

सहकारीले घरदैलो गरेर बचत संकलन गर्ने कार्यमा भने रोक लगाइएको छ । ‘पार्टी प्यालेस’, सौन्दर्य व्यवसाय, शैलुन, जिमखाना, खेलकूदस्थल, सिनेमा घर, तालीम केन्द्र आदि सञ्चालनमा भने रोक लगाइएको छ ।

धार्मिकस्थलमा पनि नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न पाइने जानकारी दिइएको छ । अत्यावश्यक काम नपरी घर बाहिर हिँडडुल नगर्न र जानै परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरुपमा अपनाउन जनसाधारणमा आग्रह गरिएको छ । 

कोरोना भाइरस संक्रमण रोक्न जिल्लामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ । यहाँ कोरोनाका सक्रिय संक्रमित ३४४ छन् भने ६२ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्