ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

असोजसम्म १ करोड ८३ लाख ८२ हजार मात्रा खोप  : स्वास्थ्य मन्त्रालय

२०७८ सावन, १६  
समाचार
Chelsea International Image Not Found

साउन १६, काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणविरुद्धको खोप आगामी असोज मसान्तसम्म १ करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलद्वारा शुक्रवार जारी भएको विज्ञप्तिमा आगामी अशोज मसान्तसम्म सरकारले चीन, जापान र भारतबाट कुल १ करोड ८३ लाख ८२ हजार ८५० खोप ल्याउने तयारी गरेको उल्लेख छ ।

उनका अनुसार चीनको सिनोफार्म कम्पनीबाट ६० हजार मात्रा खोप खरीदको सम्झौता अगाडि बढिसकेको छ । त्यस्तै कोभ्याक्स सुविधामार्फत जापान सरकारले एस्ट्राजेनेका १६ लाख मात्रा र भारतबाट खरीद गरेको १० लाख मात्रा कोभिशिल्ड आउने छ ।

उनले कोभ्याक्समार्फत १२ वर्षमाथिका बालबालिकाका लागि १ करोड ५० लाख मात्रा खोप ल्याउने गृहकार्य पनि अगाडि बढेको जानकारी दिए ।

मन्त्रालयले कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसङ्ख्याको लागि प्राप्त हुने १ करोड १३ लाख मात्रा खोप पनि क्रमशः प्राप्त हुँदै जाने र चैत मसान्तसम्म सबै नेपालीलाई खोप दिलाउने योजना रहेको छ ।

सरकारले अहिलेसम्म ९७ लाख ८२ हजार ८५० खोप प्राप्त गरिसकेको बताएको छ । तीमध्ये भारतबाट १० लाख मात्रा, नेपाली सेनालाई १ लाख अनुदानमा, कोभ्याक्सबाट ३ लाख ४८ हजार मात्रा, चीनबाट दुई पटक अनुदानमा १८ लाख मात्रा भेरोसेल खोप र चीनबाट खरीद गरेको ५८ लाख मात्रा भेरोसेल खोप, र अमेरिकाबाट अनुदानमा प्राप्त जोन्सन एण्ड जोन्सन खोप १५ लाख ३४ हजार ८५० मात्रा रहेका छन् ।

मन्त्रालयले खोप आयात गर्न इच्छुक निजी क्षेत्रलाई पनि विश्व स्वास्थ्य सङ्गठन र नेपालको नियामक निकाय औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोपको उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशत मुनाफा लिएर खरीद गर्न दिइएको उनले जानकारी दिए ।

यस्तै कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मन्त्रालयले अहिलेसम्म हाई डिपेन्डेन्सी युनिट (एचडीयू) २ हजार ७५ ओटा सरकारी र ७७८ ओटा निजीमा थपिएको बताएको छ ।

यस्तै १ हजार ४०० एचडीयू थप्ने योजनामा रहेको मन्त्रालयले बताएको छ । भेन्टिलेटर ९०४ ओटा रहेको र थप १८० ओटा थप्ने क्रममा रहेको छ । बालबालिकाका लागि १८० ओटा भेन्टिलेटरसहित २५० ओटा सघन उपचार कक्ष(आईसीयू) शय्या थप्ने क्रममा रहेको मन्त्रालयले बताएको छ ।

सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशत अर्थात् पहिलो प्राथमिकतामा रहेका २ करोड १५ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ४९ लाख गरि कुल २ करोड ६५ लाखमा खोप लगाउने लक्ष्य लिएको छ । ती सबैलाई खोप लगाउनका लागि कुल ५ करोड ३५ लाख मात्रा खोप आवश्यक हुनेछ ।

मन्त्रालयले कुल जनसंख्याको ६० प्रतिशत मानिसलाई खोप लगाएमा रोग नियन्त्रण गर्न सकिने र सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन गर्न सकिने बताएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्