ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रसँग सम्पर्कविच्छेद

२०७८ सावन, १८  
वाग्मती प्रदेश
Chelsea International Image Not Found
author avatar सुन्दर शिरीष

सिन्धुपाल्चोक । आइतवार बिहान हेलम्बुको भेम्राथाङबाट आएको भीषण बाढीका कारण सडक र पक्की पुल बगाउँदा मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रसँग सम्पर्कविच्छेद भएको छ । बाढीले हेलम्बुस्थित चनौटेको रातो पुल बगाएको छ । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलसम्म जाने यो पुल बगाएपछि अब आयोजनाको कामसमेत ढिला हुने भएको छ ।

मेलम्ची ७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका अधिकांश वडा जोड्ने एक मात्र विकल्पको रूपमा रहेको यो पुल बगाएपछि सवारीसाधनका साथै मानिसको आवतजावत बन्द भएको छ ।

मेलम्ची खानेपानी आयोजनाको प्राविधिक टोली सडक सञ्चालनको सम्भावना अध्ययन गर्न खटिएको छ । तर सडक र पुल बगाएकाले तत्काल यातायात सञ्चालन गर्न नसकिने आयोजनाका रेसिडेन्ट इन्जिनियर प्रह्लाद बानियाँले बताए ।

गएको असार १ गतेको बाढीले आयोजनाको हेडवक्र्समा क्षति पुर्‍याएको थियो । मुख्य संरचनासम्म पुग्ने ८ किलोमिटर बाटो समेत बगाएको बानियाँले बताए । ‘अहिलेको बाढीले केही क्षति नपुर्‍याएको भए पनि सडक सञ्जाल टुटेकाले पुनर्निर्माणको काम तत्काल थाल्न सम्भव देखिएन,’ उनले भने । बाढीले आयोजनाको बाँध, अडिट सुरुङ, हेडवक्र्स, प्रवेश मार्ग, पुल र सुरु बिन्दुका संरचनामा क्षति पु¥याउँदा लागत समेत बढेको छ । ‘बाढीपछिको पुनर्निर्माणमा झण्डै २ अर्ब रुपैयाँ लाग्ने हाम्रो प्रारम्भिक अनुमान छ,’ आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भने, ‘आइतवारको बाढीले कुनै क्षति नपुर्‍याएको भए पनि पहिलाकै बाढी पन्छाउन र पुनर्निर्माण गर्न थप समस्या भएको छ ।’

हेडवर्क्स प्रवेश गर्ने पहिलो बिन्दुको चनौटे पुल नै बगाएकाले सडकमार्ग हुँदै आउने पुनर्निर्माणको सामग्री ल्याउन नसकिने उनले बताए । ‘चनौटेबाट मुख्य प्रवेशमार्ग अम्बाथानसम्मको ८ किलोमिटर सडक र पुलको संरचना ध्वस्त भएको छ,’ पन्तले भने, ‘आयोजनाको मुख्य संरचनासम्म जाने बाटो नै नभएकाले पुनर्निर्माण कहिलेदेखि शुरू हुन्छ, यकिन छैन ।’

आइतवारको बाढीले सो क्षेत्रमा विद्युत् आपूर्ति बन्द छ । साथै ग्यालथुममा रहेको एउटा झोलुंगे, हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएका छन् । ९ पक्की र ८ कच्ची घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

अब मेलम्ची बजारदेखि माथि कुनै पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए । ‘बाढीले हेलम्बुका एउटै पनि पुल बाँकी राखेन,’ शेर्पाले भने, ‘खोलामा आएको लेदोसहितको बाढीले तटीय क्षेत्र कटान गरिरहेको छ ।’ उनका अनुसार मेलम्ची–चनौटे सडकखण्ड तत्काल सुचारु हुने अवस्था छैन ।

यसैबीच, बाढीको उद्गम क्षेत्रमा विज्ञ टोली पुगेको छ । खानी तथा भूगर्भ विभागका प्रमुख शिवहरि बाँस्कोटाको नेतृत्वमा पाँचसदस्यीय टोली भेम्राथाङ पुगेको हो । आइतवार बिहान गृहमन्त्री बालकृष्ण खाँडले मेलम्ची नदीमा आएको बाढी र पहिरोबारे अध्ययन गर्न विज्ञहरूको टोली पहिरो उद्गमस्थल भ्रेमाथाङ पठाउन निर्देशन दिएका थिए ।

टोलीले पहिरोको उद्गमस्थल भेम्राथाङ पुगेर त्यहाँको अवस्थाको बारेमा अध्ययन गर्नेछ । हेलम्बु गाउँपालिकाको भेम्राथाङ आसपास शनिवार दिउँसोदेखि निरन्तर पानी परेकाले तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आएको बताइएको छ । तल्लो तटीय क्षेत्रमा भने पानी परेको छैन । असार १ गतेको बाढीसँगै भेम्राथाङको २५ प्रतिशत चउर बगेर आएको विज्ञले बताएका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्