ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

यसरी गर्नुस् गोदावरी फूल खेती

२०७८ सावन, २९  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । डच फ्लाबर अक्सनमा गुलाबपछि दोस्रो स्थानमा पर्ने गोदावरी फूलको बजार नेपालमा पनि फस्टाउँदो छ । माटो वा प्लास्टिकको गमलामा गोदावरी फूल लगाई घर सजाउने कार्य विगतदेखि चलिआए पनि पछिल्लो समय यसको व्यावसायिक खेती गर्नेहरू बढेका छन् । विभिन्न रंग तथा अकार/प्रकारमा उपलब्ध हुने भएकाले यो फूलमा उपभोक्ताको रुचि बढ्दै गएको छ ।

यसको खेतीका लागि अन्य समय दिउँसोको तापक्रम २२ डिग्री सेल्सियस, रातिको तापक्रम १६ डिग्री सेल्सियस र फूलमा कोपिला लाग्ने समय २४ देखि २७ डिग्री सेल्सियस कायम राख्न सके गुणस्तरीय उत्पादन लिन सकिन्छ । यदि ग्रीन हाउसभित्र खेती गर्दै हुनुहुन्छ भने १६ देखि २५ डिग्री सेल्सियस तापक्रम, सापेक्षिक आद्रता ७० देखि ८ सय ५५, कार्बनडाइअक्साइडको मात्रा ६ सयदेखि ९ सय पीपीएम कायम राख्न सके राम्रो हुन्छ ।

प्रशस्त मात्रामा प्रांगारिक भएको माटोमा यसको उत्पादन राम्रो हुने पुष्पविज्ञहरू बताउँछन् । वरिष्ठ बागबानी विकास अधिकृतद्वय अनिलकुमार आचार्य र डा उमेद पुनका अनुसार माटोको पीएचको मात्रा ६ दशमलव ५ कायम राख्नुपर्दछ । सामान्यतया प्रतिवर्गमिटर ४५ देखि ६७ बोट हुने गरी बिरुवा लगाउनुपर्दछ । यसरी बिरुवा लगाउँदा १५÷१५ सेमि वा १०/१५ सेमिको दूरीमा बिरुवा लगाउनुपर्दछ ।

मल राख्दा जग्गा तयार गर्ने बेलामा नै डिएपी ५० ग्राम प्रतिवर्गमिटर बिरुवा लगाएपछिको तेस्रो सातादेखि पोटासियम नाइट्रेट ४ ग्राम प्रतिवर्गमिटर, क्याल्सियम एमोनियम नाइट्रेट, एमोनियम नाइट्रेट र म्याग्नेसियम सल्फेट ३ ग्राम प्रतिवर्गमिटर हाल्नुपर्दछ । त्यसैगरी यसको खेती गर्दा सिँचाइमा पनि विशेष ध्यान दिनुपर्दछ । सुक्खा समय बिरुवाहरू छिटो सुक्ने हुँदा सिँचाइ छिटो–छिटो गर्नुपर्दछ । यद्यपि बिरुवाको जरामा लामो समयसम्म पानी जम्ने गरी सिँचाइ गर्नु हुँदैन । ग्रीन हाउसमा दिउँसोको समय ढिलो गरी पानी हाल्नुहुँदैन ।

बिरुवा रोपेको ४ सातापछि पहिलो गोडाइ सुरु गर्नुपर्दछ र त्यसपछि हरेक १५ दिनमा एक पटक झारपात राम्ररी झिकेर गोड्नुपर्दछ । बिरुवा करिब डेढ फुटका भएपछि निहुरिने तथा ढल्ने समस्या हुने भएकाले बाँस वा निगालाका घोचा राख्नुपर्दछ । बिरुवाको उचाइ करिब ७ देखि ८ इन्च भइसकेपछि शाखा हाँगाहरूको संख्या बढाएर उत्पादन बढी लिन बिरुवाका टुप्पा चिमोटिदिनुपर्दछ । यो कार्य बिरुवा रोपेको तेस्रो र पाँचौं सातामा गरी दुई पटक गर्नुपर्दछ ।

फूलमा कोपिला लाग्न थालेपछि प्रत्येक हाँगामा एक–दुई वटा कोपिला छाडेर वरिपरिका मसिना कोपिला टिपिदिनुपर्दछ । कोपिला टिप्ने काम भदौ अन्तिम सातादेखि असोज पहिलो सातासम्म गर्नुपर्दछ । यसो गर्नाले फूलको उत्पादन राम्रो भई आम्दानी बढी लिन सकिन्छ । ढकमक्क फूल फुलिसकेपछिको दोस्रो साताबाट आवश्यकताअनुसार विक्रीका लागि बजारमा पठाउन सकिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्