ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

लामो अन्तरमा कोरोना विरुद्धको दोस्रो खोप लगाउँदा पनि प्रभावकारी हुन्छ : स्वास्थ्य मन्त्रालय        

२०७८ सावन, ३०  
समाचार स्वास्थ्य र जीवन शैली
Image Not Found

साउन ३०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने बताएको छ ।

मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त खोपले काम गर्ने स्पष्ट पारेको छ ।     
     
 मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको करीब पाँच महीनापछि दोस्रो मात्रा लगाए पनि खोपले काम गर्ने जानकारी दिए । गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्ष माथिका उमेर समूहका करीब साढे १४ लाख व्यक्तिलाई सो खोपको पहिलो मात्रा लगाएकामा अहिले करीब पाँच महीनापछि ‘अस्त्रजेनेका’ खोपको दोस्रो मात्रा दिइएको छ ।     
     
    
 उनले पहिलो मात्रा र दोस्रो मात्राको अन्तराल पाँच महीनाको भए पनि खोपले प्रभावकारी रुपमा काम गर्ने भएकाले ढुक्क भएर ‘अस्त्रजेनेका’ खोपको दोस्रो मात्र लगाउन अनुरोध गरेका छन् ।  भूटानबाट २ लाख ३० हजार र जापानबाट ५ लाख १३ हजार मात्रा ‘अस्त्रजेनेका’ खोप आइसकेपछि मन्त्रालयले कोभिशिल्डको सट्टामा ‘अस्त्रजेनेका’ खोप लगाएको हो ।     
     
 उनले कोभिशिल्ड र अस्त्रजेनेका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने भएकाले कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राका रुपमा अस्त्रजेनेका लगाइएको जानकारी दिए। हालसम्म ४६ लाख ५९ हजार ४१४ जनाले पहिलो मात्रा र ३२ लाख २३ हजार ६९३ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्