ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सम्पत्तिको लालच र देशको गति

२०७८ भदौ, ४  
पाठक विचार
Chelsea International NA

थाहा छ सबैलाई अकुत सम्पत्ति भुलभुलैया हो । दुनियाँमा यही गलत अकुत सम्पत्तिको तृष्णाले कतिपय मानिसको जिन्दगी नर्कमय भइरहेको छ । कसैले जेलको हावा खाइरहेका छन्, कोही विदेशी भूमिमा पसिना चुहाइरहेका छन् । पैसाका लागि हुरुक्क हुँदा तनाव र रोगले ग्रस्त जीवन बाँचिरहेका छन् । कोही त आत्महत्याको बाटोसमेत रोजिरहेका पनि छन् । यी कहानी हामीले नसुनेको होइन । तैपनि मानिसहरूको अझै आँखा खुलेको छैन । धन नभई हुँदैन तर धनकै लागि कार्य कुकार्य गर्न मरिहत्ते गर्ने मानिसको बानी देखेर अचम्म लाग्नु स्वाभाविक हो । मानिस सन्तोषी जीवनलाई छोडी लालचको दुनियाँमा गइराखेको हुन्छ, गलत काम गरेर सम्पत्ति कमाउन मरिहत्ते गरिरहेछ । आखिर मर्ने बेलामा शरीरको कुन प्वालमा लुकाएर लग्ने हो र यो सम्पत्ति ।

देशलाई धोका दिएर र जनतालाई रुवाएर कमाइने सम्पत्तिबाट कस्तो किसिमको आनन्द पाइने हो थाहा छैन । सम्पत्ति आउने पुस्ताका लागि कमाएका हुन् भने गलत हो । गलत तरीकाले कमाएको सम्पत्तिमा सन्तान गलत भइदिए त्यो सम्पत्तिको अर्थ हुँदैन । सन्तान गतिलो बनाउन सके पनि त्यो सम्पत्ति खासै आवश्यक पर्दैन किनभने उनीहरूले राम्रो काम गरेर नै सम्पत्ति कमाउन सक्छन् । त्यसकारण गलत कार्यबाट अकुत सम्पत्ति कमाउने सोचलाई अहिलेबाट नै तिरस्कार गर्न सक्नुपर्छ अनि मात्र समाज राम्रो, मुलुक राम्रो र मानिसहरूको संस्कार राम्रो हुन्छ । अन्यथा जसरी आज हाम्रो मुलुक पछि परिरहेको छ त्यसैगरी पुस्ताैं पुस्तासम्म पछि नै परिरहनेछ ।

वास्तवमा सम्पत्ति मानिसहरूका लागि जरूरत हो । जिन्दगी जिउन पैसा चाहिन्छ । इच्छाहरू पूरा गर्न पनि पैसा चाहिन्छ । तर, पैसा मात्रै छ र मानिसमा सहयोगी गुणहरू छैन भने त्यो सम्पत्ति भएर पनि गरीब नै हो । पैसाले जिन्दगी चल्नछ तर जिन्दगी नै पैसा भने होइन । आज यही गलत सोचले गर्दा मुलुकको बेहाल भएको हामीले देखिराखेका छौं ।

मुलुकलाई समृद्ध बनाउन विचार र पैसाको लगानी चाहिन्छ । तर, हामीकहाँ वैध तरिकाले पैसा कमाउनेको भन्दा अवैध तरिकाले पैसा कमाउनेका फुर्ती बढी देखिन्छ , नेतामात्र खराब होइनन्, सबैजसो नागरिरकको सोच पनि राम्रो छैन अर्थात् सही र गलत खुट्याएर हेर्ने बानी जनतामा छैन । त्यसैले हामीले नेता र राज्यलाई सधैं गाली गर्नुभन्दा राम्रा मानिस, बुद्धिजीवी, पढेलेखेका शिक्षित वर्ग नै परिवर्तनका लागि अग्रसर हुनुपर्छ अनि मात्र मुलुक उँभो लाग्नेछ । यसका लागि राम्राराम्रा मानिसहरूको संगठन बन्नुपर्छ । हुन त यहाँ यी कुराहरू हुँदै नभएको पनि होइन तर अपुग छ र राम्रा कार्यहरू निरन्तर हुन सकिराखेका छैनन् । खराब कर्मको कहिल्यै भविष्य राम्रो हुँदैन । त्यसैले भविष्यलाई सम्झेर पनि विस्तारै यस्ता गलत कार्यबाट सम्पत्ति कमाउने सोचलाई त्याग्नुपर्छ ।

हाम्रो मुलुकमा मानिसहरू प्रायः सोझा नै देखिन्छन् तर केही खराब नेता, सरकारी कर्मचारी, व्यापारी, बिचौलिया छन् जो समाजको अगुवा बनेका छन् । अन्याय सहने र यस्तो खराब प्रवृत्तिको विरोध गर्ने बानी नहुँदा खराब संस्कार झन झन सक्रिय भएर आइराखेका छन् जुन कसैको लागि राम्रो होइन ।

यो मुलुकमा एउटा विडम्बना के छ भने देश चलाउनेहरू लालची, झगडालु स्वार्थी त छँदै छन् त्यसमाथि पनि कानून, पुलिस प्रशासन, सरकारी कार्यालय पनि चोखा छैनन् । एक पक्षले अर्को पक्षलाई दोष दिइराखेका हुन्छन् । नेताहरूले कर्मचारीलाई, कर्मचारीले नेताहरूलाई, प्रहरीले न्यायालय वा प्रशासनिक कर्मचारीलाई वा नेताहरूलाई, न्यायालयले नेताहरूलाई दोष देखाउँछन् । अर्थात् आफ्नो गल्ती नस्वीकार्ने तर अरूमाथि दोष थोपरेर आफू पानीमाथिको ओभानो बन्ने प्रवृत्ति सबै क्षेत्रमा पाइन्छ । सही र गलत छुट्याउनुभन्दा पनि आफन्त र पराइ भनेर मानक तयार पारिन्छ र त्यसअनुसार तर्क गरिन्छ ।

हाम्रो मुलुकमा एउटा उखान छ काम पनि छैन फुर्सद पनि छैन । यहाँका नेताहरू युवा नेताहरू पनि यही उखानले भनेजस्तै देखिन्छन् । बेरोजगार युवाहरूलाई रोजगार दिनसक्नु पर्छ । तर, नेपालमा शीप बढाउने र ज्ञान बढाउनेभन्दा पनि अल्छी गर्ने अनि सरकारलाई गाली गर्ने युवाको जमात बढी छ । यूरोप अमेरिकाका बयान गर्ने तर आप्mनो आचरणचाहिँ त्यसअनुसार नहुने युवाहरूले सरकारलाई गाली गरेको पनि सुहाउँदैन ।

हामीले माथि कुरा गरेजस्तै यस्ता मानिसहरूलाई मात्र किन दोष दिने देशको मिडियालाई हेरौं । अखबारहरू आदिलाई हेरौं । नेताहरूसँगको अन्तर्वार्तालालाई उनीहरूको बेअर्थका भाषणलाई ठूलो अक्षरमा छापिएको हुन्छ, टिभीमा देखाइएको हुन्छ । कसले कसलाई भेट्यो भन्ने समाचारले टीभी र अखबार भरिएका हुन्छन् । यस्तो अनावश्यक राजनीतिक कुराहरू धेरै हुन्छ । समाज परिवर्तनका काम गर्ने, उद्यम गर्ने सकारात्मक सोच भएका मानिसहरू तथा नयाँ विचार ल्याएका युवाहरू समाचारको प्राथमिकतामा कर्म पर्छन् । त्यसैले समाजमा भइराखेका विकृतिलाई औंलाएर सरकार, समाजलाई सही ट्र्याकमा ल्याउन मिडिया सतर्क हुनुपर्छ ।

शिक्षा समाधान, ज्ञान उपदेश नै एउटा यस्तो माध्यम हो जसले हरेक पक्षलाई सही ट्र्याकमा ल्याउँछ । अहिले मुलुकमा ठूलो समस्याको जड भनेकै कानूनको पालना नहुनु, बेरोजगारी, भ्रष्टाचार, रोगको माहामारीजस्ता कुरा हुन् । यिनको समाधानका लागि सबै पक्ष परिवर्तन हुनु जरुरी छ ।

मुलुकको विकासको गति विश्वमै सुस्त देखिन्छ । हामीलाई चाहिएको द्रुत विकास हो जो कहिल्यै भएन । कसलाई मात्र दोष दिने ? अब आशा गरौं, मुलुकका लागि एकपल्ट सबै परिवर्तन होऊँ । नयाँ व्यक्ति र विचार भएकाहरूलाई अगाडि सारौं । दृढ इच्छाशक्ति भएका र केही गर्नैपर्छ भन्ने सोच भएका मानिसहरू राजनीतिमा आउनुपर्छ । यस्ता मानिसहरूले नयाँनयाँ पार्टी खोल्नुपर्छ । यो देश बन्न समय लाग्ने छैन । यति मात्र होइन, प्रत्येक नागरिक खाली आशा गर्ने अरूको मुख ताक्ने गर्नु हुँदैन, आपैm अघि सर्नु पनि पर्छ, आफू नै सक्षम हुनु जरुरी छ । अन्यथा लोकतन्त्र मुलुकमा राज्यले अर्थात् जुनसुकै सरकार आए पनि तपाईं हामीहरूलाई लुटी नै राखेको हुन्छ । हामी छटपटिएर बस्नुपर्ने हुन्छ ।

रमेशकेशरी वैद्य

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्