ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

जामुमा नगर कोभिड अस्पताल सञ्चालन

२०७८ भदौ, ४  
कर्णाली प्रदेश
Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको जामुमा नगर कोभिड अस्पताल सञ्चालनमा आएको छ । कर्णाली प्रदेश सरकारको ४० लाख रुपैयाँको आर्थिक सहयोगमा निर्मित १५ शय्याको अस्पताल  मंगलवारदेखि सञ्चालनमा आएको हो । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाले एक औपचारिक कार्यक्रमका बीच पञ्चपुरी–१० जामुमा कोभिड अस्पतालको उद्घाटन गरेका हुन् ।

अस्पताल सञ्चालनले कर्णाली प्रदेश प्रवेशका लागि पश्चिम सुर्खेततर्फको मुख्य नाका कुइनेबाट आउने नागरिकको चेकजाँचसँगै कोरोना संक्रमितको उपचारमा समेत सहज हुने विश्वास उनले व्यक्त गरे । ‘पश्चिम सुर्खेतलगगायत अछाम, पश्चिम दैलेख, कालिकोट, र बाजुराका नागरिकको पैदल मार्गका रूपमा रहेको मुख्य नाका कुइनेमा कोरोना विशेष अस्पताल सञ्चालनमा आएसँगै अब उपचार तथा परामर्शका लागि मद्दत पुग्नेछ,’ उनले भने, ‘अस्पतालमा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा सञ्चालनमा आएसँगै चेकजाँचसँगै उपचारका लागि तत्काल बाहिर जानुपर्ने बाध्यता हट्नेछ ।’ यसअघि पञ्चपुरीकै सालकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट समेत महीनाको दुई दिन विशेषज्ञ डाक्टरसहितको घुम्ती स्वास्थ्य सेवा शुरू गरिसकिएको जानकारी उनले दिए ।

पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले जामुमा कोभिड अस्पताल सञ्चालनमा आए पनि अस्पतालको कम्पाउण्ड घेराबार तथा स्तरोन्नतिका लागि प्रदेश सरकारले थप ध्यान दिनुपर्ने बताए । यस्तै पश्चिम सुर्खेतका तीनमध्ये कुनै एक स्थानीय तहमा प्रदेश सरकारले सरुवा रोग अस्पताल निर्माण गरिदिनुपर्ने माग उनले राखे । ‘भौतिक पूर्वाधार विकासको अभावले पिछडिएको पश्चिम सुर्खेतमा भरपर्दो कुनै अस्पताल छैन,’ उनले भने, ‘जनशक्तिदेखि भौतिक पूर्वाधार अभावले स्वास्थ्य क्षेत्रको अवस्था नाजुक रहेकाले प्रदेश सरकारले पञ्चपुरी नगरपालिका वा चौकुने गाउँपालिकामा एउटा भरपर्दो सरुवा रोग अस्पताल निर्माण गरिदिनुपर्छ ।’ नगरपालिका र प्रदेश सरकारको समन्वयमा करीब २८ लाख रुपैयाँको कोभिड कोषबाट कुइनेमा यात्रुका लागि वेटिङ सेन्टर (प्रतीक्षालय) र नार्सीमा होल्डिङ सेन्टर सञ्चालनमा समेत ल्याइएको जानकारी उनले दिए ।

नवनिर्मित नगर कोभिड अस्पतालमै प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसीलगायतको पहलमा टेलिमेडिसिन सेवा समेत सञ्चालनमा ल्याइने भएको छ । स्वास्थ्य जनशक्ति तथा पूर्वाधारको समस्या रहेको पश्चिम सुर्खेतमा इन्टरनेट र टेलिफोनको माध्यमबाट चिकित्सकीय सेवाबाट नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्