ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

साताको बजार : कुल बजार पूँजीकरण २ खर्बभन्दा बढीले घट्यो, ४७ अर्ब ७६ करोडभन्दा बढीको कारोबार

२०७८ भदौ, १९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

भदौ १९, काठमाडौं । यो साताको चार ओटा कारोबार दिनमा लगानीकर्ताहरुको सम्पत्तिको मूल्य अर्थात् कुल बजार पूँजीकरण रू. २ खर्ब ३३ अर्ब ४१ करोड २० लाख ८६ हजारले घटेको छ । 

गत साताको अन्तिम कारोबार दिन रू. ४३ खर्ब २३ अर्ब २० लाख ३३ हजार रहेको कुल बजार पूँजीकरण यो साता रू. ४० खर्ब ८९ अर्ब ५८ करोड ९० लाख ४७ हजारमा झरेको हो । गत साताको तुलनामा यो साता नेप्से परिसूचक ५ दशमलव ४० प्रतिशत घटेको छ । 

गत साता ३ हजार ९४ दशमलव शून्य ५ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ९२६ दशमलव ८९ विन्दुमा झरेको हो । अंकको हिसाबमा गत साताभन्दा यो साता नेप्से परिसूचक १६७ दशमलव १६ अंक घटेको हो । 

पाँच कारोबार दिन सञ्चालन हुने नेप्से यो साता एक दिन श्री कृष्ण जन्माष्टमीको सार्वजनिक बिदा परेकाले बन्द रहेको थियो । गत साता भने दुई दिन सार्वजनिक बिदा पर्दा तीन दिनमात्र बजार सञ्चालन भएको थियो । यो साता चार ओटा कारोबार दिनमा तीन दिन बजार उच्च अंकले घटेको छ भने एक दिन न्यून अंकले बढेको छ । 

साताको पहिलो कारोबार दिन ४९ दशमलव १८ अंकले घटेको बजार तेस्रो कारोबार दिन ६९ दशमलव ०५ अंक र पाँचौ दिन ५० दशमलव १३ अंकले घटेको हो ।

दोस्रो दिन बन्द रहेको बजार चौंथो दिन भने १ दशमलव १८ अंकले बढेको थियो । गत साताको भन्दा यो साता सेन्सेटिभ इन्डेक्स २९ दशमलव ६२ अंकले घटेको छ । 

नेपाल राष्ट्र बैंकले यस वर्षको मौद्रिक नीतिमा शेयर धितो कर्जाको सीमा रू. १२ करोडमा सीमित गरिदिँदा ऋण तिर्नका लागि शेयर विक्री गर्नेहरु बढ्दा बजार उच्च दरमा निरन्तर घटेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालको भनाइ छ । उनले यसले आगामी दिनमा पनि थप असर गर्ने भन्दै तत्काल उक्त व्यवस्था खोरेज गर्न माग समेत गरेका छन् । साना लगानीकर्ताहरुलाई राहत स्वरुप गरेको शेयर धितोकर्जाको सीमा सम्बन्धी व्यवस्थाले बजारलाई नकारात्मक असर पर्ने टिप्पणी ढकालको छ । 

अघिल्लो साता ३ हजार १९८ दशमलव ६ विन्दुको ऐतिहासिक रेकर्ड कायम गरेको नेप्से परिसूचक पछिल्लो समय भने निरन्तर घटिरहेको छ । नेप्से परिसूचसँगै पछिल्लो समय कारोबार रकम पनि घटेको छ । बजार घट्दा सस्तोमा शेयर विक्री गर्न नचाहेका कारण कारोबार रकममा कमी आएको जानकारहरु बताउँछन् । 

बजारले थप गति लिनेमा आशावादी रहेका लगानीकर्ताहरुले सस्तोमा भने शेयर विक्री गर्न चाहेका छैनन् यसर्थ पछिल्लो नीतिगत व्यवस्थाका कारण केहि समय बजार प्रभावित बनेपनि बजारले थप गति लिने जानकारहरुको भनाइ छ । यो साता रू. ४७ अर्ब ७६ करोड ८७ लाख ११ हजार बराबरको ८ करोड ३२ लाख ९० हजार ८६४ कित्ता शेयर कारोबार भएको छ । 

गत साता रू. ४१ अर्ब ६३ करोड ८५ लाख ४६ हजार बराबरको ६ करोड ६६ लाख ६ हजार ४७९ कित्ता शेयर कारोबार भएको थियो । गत साताभन्दा यो साता रू. ६ अर्ब १३ करोड १ लाख ६४ हजार बराबरको १ करोड ६६ लाख ८४ हजार ३८५ कित्ता शेयर बढी कारोबार भएको छ ।

यो साता होटल्स तथा पर्यटन समूहको परिसूचक १ दशमलव ४८ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । गत साता ३ हजार ५४८ दशमलव ५७ विन्दुमा रहेको होटल्स तथा पर्यटन समूहको परिसूचक भने ३ हजार ६०० दशमलव ९४ विन्दुमा पुगेको हो । यो साता जलविद्युत् समूहको परिसूचक सर्वाधिक ९ दशमलव ३६ प्रतिशत घटेको छ ।

त्यस्तै वित्त समूहको ८ दशमलव ७१ प्रतिशत, विकास बैंकको ८ दशमलव २७ प्रतिशत, लगानी समूहको ७ दशमलव ३९ प्रतिशत, अन्यको ६ दशमलव ७९ प्रतिशत, निर्जीवन बीमाको ६ दशमलव ३७ प्रतिशत, जीवन बीमाको ५ दशमलव ८६ प्रतिशत, उत्पादन तथा प्रशोधनको ५ दशमलव २८ प्रतिशत, लघुवित्तको ५ दशमलव १८ प्रतिशत, व्यापारिकको ४ दशमलव ४१ प्रतिशत, बैंकिङको २ दशमलव ९९ प्रतिशत र म्युचुअल फण्डको २ दशमलव २३ प्रतिशत परिसूचक घटेको हो ।

गत साता र यो साता तुलनात्मक रुपमा बजारका सूचकहरु :

                                                               स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तनको अवस्था :

                                                                               स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्