ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बञ्चरेडाँडा ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माण

२०७८ भदौ, २३  
वाग्मती प्रदेश
Chelsea International Image Not Found

काठमाडौं । दीर्घकालीन फोहोर व्यवस्थापनका लागि नुवाकोटको बञ्चरेडाँडामा निर्माणाधीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ तयार भएको छ । शहरी विकास मन्त्रालयले उक्त ल्याण्डफिल साइटको पहिलो सेल निर्माण सम्पन्न भएको बताएको हो । मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागलाई सो जानकारी गराई काठमाडौं महानगरपालिकालाई फोहोर व्यवस्थापन गर्न सक्ने निर्देशन दिएको छ ।

मन्त्रालयसँग सम्बन्ध रहेको उक्त सेल निर्माण सकिएको र अन्य काममा आफ्नो जिम्मेवारी नरहेको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले जानकारी दिए । कामपासँग समन्वय गरी फोहोर व्यवस्थापन गर्ने सम्बन्धमा तत्काल निर्णय गर्न मन्त्रालयले विभागलाई निर्देशन दिइसकेकाले केही दिनमा कामपासहित काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर बञ्चरेडाँडा पुग्ने बताइएको छ । तत्काल फोहोर व्यवस्थापन स्थल निर्माणको काम सकिएको भए पनि दोस्रो सेल निर्माण र अन्य काम भइरहेको मन्त्रालयले बताएको छ ।

बञ्चरेडाँडामा दीर्घकालीन फोहोर विसर्जन स्थान (स्यानिटरी ल्याण्डफिल साइट) निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माणको सम्पूर्ण काम गत वैशाखमै सकिनुपर्ने भए पनि पूर्णरूपमा काम अझै सकिएको छैन । यता, कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ आफूहरूलाई मन्त्रालय र विभाग कतैबाट पनि बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न सकिनेबारे औपचारिक जानकारी नआएको बताउँछन् । बञ्चरेडाँडा पहिलो सेल निर्माण भएको जानकारी नआएको र सिसडोलमा पुनः फोहोर व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ ।

समन्वयविना फोहोरको गाडी बञ्चरेडाँडा जाँदा स्थानीयले अवरोध गर्ने भन्दै स्थानीय र सम्बन्ध भएका निकायसँग औपचारिक छलफल गरेर मात्र दीर्घकालीन रूपमा फोहोर व्यवस्थानपमा काम गर्नुपर्ने कामपाको भनाइ छ । १८ दिनपछि गत बुधवारदेखि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर उठ्न थाले पनि सबै स्थानको फोहोर सझैसम्म व्यवस्थापन हुन सकेको छैन ।

नियमित परेको पानी र हाल फोहोर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयले अवरोध गरेपछि काठमाडौं उपत्यकाको स्थानीय तहको फोहोर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन । लामो समयदेखिको फोहोर संकलन भएर बसेकाले सबै एकैपटक व्यवस्थापन हुन नसकेको कामपाको भनाइ छ । ३ दिनभित्र यसअघि जम्मा भएर बसेका सबै फोहोर सिसडोल लगिने बताइएको छ । अहिले साविकअनुसार फोहोर व्यवस्थापनको काम भइरहको छ । ‘धेरै दिनको एकैपटक व्यवस्थापन गर्नुपर्ने भएकाले केही ढिला भएको हो, अहिले नियमित रूपमा फोहोर उठिरहेको छ,’ प्रमुख श्रेष्ठले भने, ‘रोकिएको समयमा करीब १५ हजार मेट्रिकटन फोहोर जम्मा भएको छ ।’ सिसडोलमा २०६२ सालमा २ वर्षको मात्र फोहोर विसर्जन गर्न सकिने क्षमताको ल्याण्डफिल साइट निर्माण गरिएको थियो । पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म फोहोर व्यवस्थापन गरिँदै आएको छ ।

हरेक दिन उपत्यकाबाट १ हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा विसर्जन हुन्छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहोर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर लैजाने गरिएको छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिन्छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्