ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

डिभिजन वन कार्यालय तनहुँ : पर्यापर्यटनबाट आम्दानी बढाउने कार्यक्रम सञ्चालन

२०७८ भदौ, २३  
गण्डकी प्रदेश
Chelsea International Image Not Found

तनहुँ । डिभिजन वन कार्यालय तनहुँले पर्यापर्यटनको माध्यमबाट सामुदायिक वन क्षेत्रमा पर्यटकलाई आकर्षित गर्दै रोजगारी र आम्दानीसमेत बढाउने कार्यक्रम सञ्चालन गरेको छ । पर्यापर्यटन मार्फत पर्यटक आगमन बढाएर स्थानीयस्तरमा आम्दानीको स्रोत बनाउने उद्देश्यले जिल्लाको विभिन्न सामुदायिक वनमा ठाउँ सुहाउँदो पर्यटकीय कार्यक्रम ल्याइएको हो । सो कार्यक्रमका लागि म्याग्दे गाउँपालिका–१ गुणादीस्थित बाघेटारीमा बाघको मूर्ति निर्माण गरिएको छ ।     

रू. १ लाख ८० हजारको लागतमा सो मूर्ति निर्माण गरिएको सहायक वन अधिकृत मनोज रानाभाटले जानकारी दिए । ‘फैलिँदै गएको झाडीका कारण एक्लै जान डर लाग्ने उक्त स्थानमा झाडी पन्छाइ सरसफाइ गरेर मूर्ति स्थापना गरिएपछि यहाँको स्वरूप नै बदलिएकोे छ,’ उनले भने, ‘पहाडी क्षेत्रमा बाघ नपाइने भए पनि ठाउँ सुहाउँदो जनावरको मूर्ति राख्दा उचित हुने भएकाले बाघको मूर्ति राखिएको हो ।’

सदरमुकाम दमौलीदेखि नजिकको करीब २ हेक्टर खाली जमीनमा लगानी गरिए आम्दानी बढाउन सकिने देखिएकाले उक्त कार्य गरिएको सहायक वन अधिकृत रानाभाटले बताए । पृथ्वीराजमार्गबाट करीब ५ मिनेट हिँड्दा पुगिने उक्त स्थानलाई रकगार्डेनले सिँगार्न सकिए झनै राम्रो हुने र वनभोजस्थल पनि बनाउन सकिने उनको भनाइ थियो ।   
 
अहिले उक्त स्थानमा जाने बाटो मर्मत तथा रकगार्डेन सरसफाइका साथै कटेज, पिङ, प्रवेशद्वार निर्माणलगायत काम भइरहेका छन् । करीब ३०० मिटर सिँढी निर्माण गर्न सकिए अझै राम्रो देखिन्छ । स्थानीय तहले डोजर मात्रै लगाउने गर्ने र पर्यटकीय प्रवद्र्धन तथा वातावरण संरक्षणमा ध्यान दिन सम्बन्धित पालिकालाई आग्रह गरिएको छ ।
त्यसैगरी भिमाद नगरपालिका–९ स्थित मोहरियमा प्राकृतिक रकगार्डेनलाई पनि पर्यटनसँग जोडेर आम्दानीको स्रोत बढाउने काम गरिएको छ । अहिले त्यहाँ अवलोकन गर्न दैनिक मानिस आउने गरेका छन् । करीब रू. २० लाखको लागतमा रकगार्डेनभित्र पानीको फोहरा, पोखरी, फूलका बगैंचा, चराको वासस्थान, घरपक्षी उद्यानलगायत संरचना बनाइएको छ । यहाँ आउने पर्यटकलाई न्यून शुल्क लिने गरिएको छ ।

वन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा वडा नं ४ को कृष्णपुर वीरता टोलमा शहरी हरित पार्क निर्माण गरिएको छ । कार्यालयकोे रू. ५ लाख र टोल विकास संस्थाको रू. २ लाख गरी रू. ७ लाखको लागतमा पार्क निर्माण गरिएको सहायक वन अधिकृत रानाभाटले जानकारी दिए ।     

करीब २ रोपनी जमीनमा निर्माण गरिएको पार्क वृद्धवृद्धालाई आराम गर्ने प्यारापिट, मञ्च र बालउद्यान निर्माणले कुनै कार्यक्रम सहज हुने स्थलका रूपमा विकास हुने भएको छ । हाल पार्कमा ढुंगा बिच्छ्याउने, बगैंचा, गोल चौतारी र प्रवेशद्वार निर्माण गरिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्