ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

रत्ननगरमा इन्जिनियरिङ कलेज सञ्चालन गर्ने सहमति

२०७८ भदौ, २३  
वाग्मती प्रदेश
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, चितवन । चितवनको रत्ननगर नगरपालिकामा इन्जिनियरिङ कलेज खुल्ने भएको छ । पोखरा विश्व विद्यालयको आंगिक कलेजको रुपमा रत्ननगरमा इन्जिनियरिङ कलेज खुल्ने सैद्धान्तिक सहमति भएको हो । 

मंगलवार रत्ननगरमा भएको तेस्रो चरणको छलफल पछि रत्ननगर नगरपालिका वडा नम्बर १२ वागदेवी स्कुलको जग्गामा इन्जिनियरिङ कलेज खोल्ने पक्का भएको हो । 

पोखरा विश्व विद्यालयका उपकुलपति प्रेमनारायण आचार्य र रत्ननगरका मेयर नारायण वनकोको बीचमा इन्जिनियरिङ कलेज सञ्चालनको लागि प्रक्रिया अगाडि बढाउने भएका छन् । सहमतिमा रत्ननगर नगरपालिकाले इन्जिनियरिङ कलेजका लागि दुई विघा २ कठ्ठा जग्गा विश्व विद्यालयलाई उपलब्ध गराउने निर्णय गरिसकेको छ । 

इन्जिनियरिङ कलेज सञ्चालनको लागि एक हप्ता भित्र कार्यदल बनाउने र मन्त्रिपरिषद्बाट स्वीकृत गराउन सर्वपक्षिय पहल गर्ने निर्णय भएको मेयर वनले जानकारी दिए । रत्ननगरमा इन्जिनियरिङ कलेज खोल्ने विषयमा पहिलो चरणमा स्थलगत अवलोकन, दोस्रो र तेस्रो चरणमा प्रक्रिया र आर्थिक व्यवस्थापनको विषयमा छलफल भएको छ । 

मेयर वनले कलेज सञ्चालनको लागि क्षमता अनुसार आर्थिक व्यवस्थापनको पक्षमा आफू सकारात्मक रहेको बताए । वनले रत्ननगर नगरपालिकालाई शैक्षिक हब बनाउने योजनामा आफू रहेको बताए । ‘सामुदायिक विद्यालयहरुमा हामीले प्राविधिक शिक्षा शुरु गरिरहेको छौं उनले भने, अब इन्जिनियरिङ कलेज सञ्चालन भएपछि शिक्षाको विकासमा रत्ननगरले फड्को मार्ने छ ।’

उपकुलपति आचार्यले रत्ननगरमा कलेज सञ्चालनको लागि प्रक्रियागत रुपमा काम अगाडि बढाउने बताए । कलेज सञ्चालनको लागि ठूलो आर्थिक भार हुने भन्दै उनले नगरपालिकाले सञ्चालन मध्येको केही खर्च मात्र उपलब्ध गरे हुने उनले बताए । 

पूर्व शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीले विश्वाविद्यालय, रत्ननगरका जनप्रतिनिधि, शिक्षा प्रेमीहरुको दिमाखमा इन्जिनियरिङ कलेज खुलिसकेको भन्दै प्रक्रिया मात्र अगाडि बढाउन बाँकी रहेको बताए । ‘अब रोकटोक हुने सम्भावना छैन उनले भने, सरकारी पहल हुन्छ र त्यो सफल पनि हुन्छ ।’ 

विश्व विद्यालयका रजिष्टार दीपक भण्डारीले विश्व विद्यालयको क्षेत्र विस्तारको लागि पनि रत्ननगरमा इन्जिनियरिङ कलेज सञ्चालन गर्न कुनै समस्या नहुने बताए । सञ्चालन गरिसकेपछि पछि भने अप्ठेरो पर्न सक्ने भन्दै  उनले यसका लागि अहिले नै आर्थिक तथा विद्यार्थीको व्यवस्थापनमा जोड दिनुपर्ने बताए । 

रत्ननगरका शिक्षा समितिका सदस्य तथा पहलकर्ता विष्णु प्रसाद शर्माले प्रशासनिक भवन बनाउँदै गर्ने र अहिले रहेको विद्यालयको संरचनामा कलेज सञ्चालन गर्ने प्रस्ताव गरेका छन् । कार्यक्रममा उपमेयर विमला दुवाडी, विश्व विद्यालयका डिन दयाराज ढकाल, योजना महाशाखा प्रमुख डा.दीपकराज पौडेल लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्