ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मालढुंगा–बेनी सडक स्तरोन्नति

२०७८ भदौ, २४  
गण्डकी प्रदेश
Chelsea International NA

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडक स्तरोन्नति गरेर दुई लेनको बनाइने भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुंगादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले बताएको छ ।

मालढुंगा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी कोरिडोरअन्तर्गत पर्छ । विसं २०७७ चैतमा ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले प्रारम्भिक चरणको काम शुरू गरेको सञ्चालक अमृत दाहालले बताए । ‘हाल कालोपत्र सहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर एक मिटरको नाली र २ लेनमा आठ मिटर चौडाइका दरले अमेरिकी अस्फाल्ट प्रविधिको कालोपत्र गर्न लागिएको हो,’ उनले भने, ‘सडकको डिल र कुनातर्फ पर्खाल निर्माण गर्ने योजना छ ।’

मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरल्ला, मालढुंगादेखि बागलुङ र पर्वत दुवैतर्फबाट समानान्तर रूपमा काम भइरहेको छ । बागलुङ र पर्वतमध्ये कुन जिल्लाको सडकलाई कोरिडोरमा समावेश गर्ने भन्ने लामो समयदेखिको अन्योल गतवर्ष हटेपछि पर्वतबाट निर्माण हुन लागेको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताए ।

२०४८ सालमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत शुरू गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुंगा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो । सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारीसाधनको आवतजावत प्रभावित हुने गरेको छ ।

बर्खामा पहिरोले दैनिकजसो अवरुद्ध हुने सडकमा यात्रा गर्दा धेरै समय लाग्ने, गाडी परिवर्तन गर्दा झन्जट हुने, दुर्घटनाको जोखिम र सास्ती भएको धाइरिङका हरि आचार्यले बताए । सिंगो म्याग्दी र मुस्ताङ जिल्लाको साथ पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक पर्यटकीय, व्यापारिक र धार्मिक हिसाबले सम्भावनायुक्त छ । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्