ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

खोप लगाएका पर्यटकलाई नरोकौं

२०७८ भदौ, २४  
लेख | दृष्टिकोण
Chelsea International Image Not Found

कोरोना महामारीले थलिएको अर्थतन्त्र बिस्तारै चलमलाउन थालेको छ । गत महीनामा भारतले २३ प्रतिशत आर्थिक वृद्धि दर प्राप्त गरेको छ । उपयुक्त रणनीति अपनाए नेपालमा पनि ठूलो आर्थिक वृद्धिदर प्राप्त गर्न सकिन्छ । सबैभन्दा बढी प्रभावित पर्यटन व्यवसायलाई पनि पुनर्जीवन दिन सकिने आधार देखा पर्दैछ ।

नेपालमा १५ प्रशितभन्दा बढीले खोप लगाइसकेका छन् । विभिन्न व्यवसायमा आबद्ध धेरैजसो व्यक्तिले खोप लगाइसकेकाले अब विगतमा जस्तो कोरोना संक्रमणसँग डराएर सबै गतिविधि ठप्प पार्नुपर्ने अवस्था छैन । त्यसैले पर्यटन व्यवसायलाई पनि निर्धक्कसँग सञ्चालन गर्न सकिन्छ । यद्यपि स्वास्थ्य सतर्कता र मापदण्ड पालना गर्न भने आवश्यक छ ।

सरकारले अहिले सबैजसो क्षेत्र खुला गरिसकेको छ । पर्यटकीय गतिविधिका लागि पनि अहिले बन्देज छैन । तर, अहिले आन्तरिक पर्यटनको याम होइन । दशैंतिहारपछि आन्तरिक पर्यटन चलायमान हुन्छ । तर, आन्तरिक पर्यटनले केही भरथेग गरेर पनि व्यवसायलाई अघि बढाउन र अर्थतन्त्रमा योगदान दिन भने बाह्य पर्यटककै भर पर्नुपर्छ । त्यसैले अब पर्यटकलाई स्वागत गर्ने रणनीति तयार गरी पर्यटन प्याकेज बनाउन ढिला गर्नु हुँदैन । तर, सरकारले केकस्तो निर्णय लिन्छ भन्ने अन्योल भएकाले व्यवसायीहरूले कुनै पनि प्याकेज ल्याउन सकिरहेका छैनन् । अहिले बाह्य पर्यटकहरूले नेपालमा पर्यटन कहिलेदेखि खुला हुन्छ भनेर सोधपुछ गर्न थालेका छन् । यसको अर्थ हामीले पर्यटन क्षेत्र खुला गर्‍यौं भने पर्यटक आगमनको सम्भावना राम्रै छ । हो, कोरोनाअघिको जस्तो ८/१० लाख पर्यटक नआउलान् तर केही लाख पर्यटक आए पनि अर्थतन्त्र र व्यवसायीलाई ठूलो सहयोग हुन्छ ।

विश्वका धेरै देशले अहिले कोरोनाविरुद्धको खोप लगाएका मानिसलाई मुलुकभित्र प्रवेश गर्न दिइरहेका छन् । पर्यटन गतिविधि पनि शुरू गरिसकेका छन् । उनीहरूले विशेष प्याकेज ल्याएका छन् । १ वर्षसम्मका लागि उनीहरूले ७० प्रतिशतसम्मको छूटमा प्याकेज बुक गर्न सक्ने बजार नीति ल्याएका छन् । तर, नेपालमा त्यस्तो तयारी खासै केही छैन । असोजमसान्तसम्म ४० प्रतिशतलाई खोप लगाइसक्ने सरकारी लक्ष्य छ । यस्तोमा कोरोना महामारी भनेर नाममात्रकै भए पनि निषेधाज्ञा लगाउनु गलत हो ।

निषेधाज्ञा नभनेर जोखिमयुक्त क्षेत्रमा कडाइ गर्नु बढी व्यावहारिक हुन्छ । खासगरी पर्यटन क्षेत्रका लागि यो आवश्यक छ । भित्र जतिसुकै खुला भए पनि सरकारले निषेधाज्ञा छ भने पछि पर्यटकहरू नेपाल आउने कुरै भएन । सरकारको यो नीतिले विश्व पर्यटन बजारमा नेपाल बढी जोखिमयुक्त क्षेत्र भन्ने सन्देश गएको छ । त्यसैले पर्यटनलाई जोगाउन निषेधाज्ञा पूर्ण रूपमा हटेको घोषण गरिनुपर्छ । यसो गर्दा जोखिमयुक्त क्षेत्र वा संक्रमण फैलन सक्ने क्षेत्रमा कडाइ गर्न कुनै पनि कुराले छेक्दैन । काम उही भए पनि निषेधाज्ञा छ भन्नु र छैन भन्नुमा पर्यटन बजारमा जाने सन्देश निकै फरक हुन्छ ।

अहिले पनि विदेशी पर्यटकलाई नेपालमा क्वारेन्टाइनको व्यवस्था छ । यो व्यवस्था अव्यावहारिक मात्रै होइन, वाहियात जस्तै भइसकेको छ । त्यसैले ४८ घण्टे पीसीआर रिपोर्टका आधारमा पर्यटकलाई नेपाल आउन खुला गर्दा केही पनि फरक पर्ने देखिँदैन । नेपाललाई रेड जोनमा राखेका देशले समेत पीसीआर रिपोर्टका आधारमा नेपालीलाई त्यहाँ छिर्न दिइरहेका छन् भने नेपालले त्यो भन्दा बढी कडाइ गर्न जरुरी छैन । अर्को सरकारले पर्यटन क्षेत्रका कार्यरत धेरैलाई खोप लगाइसकेकाले खोप कार्डका आधारमा पर्यटन व्यवसाय खुला गरेको भनी प्रचार गर्नु पनि आवश्यक छ ।

नेपाल पर्यटन बोर्डले कोभिडपछिको पर्यटन बजारलाई लक्षित गरी केही कार्यक्रम ल्याउने सोचका साथ काम गरेको सुनिन्छ । तर, व्यवसायीसँग खुला रूपमा केकस्तो रणनीति अपनाउने, कसरी पर्यटन ल्याउने र बजार प्रवद्र्धन गर्ने भन्नेमा व्यापक अन्तरक्रिया गरेको छैन । बोर्डले सरकार र व्यवसायीबीच सेतुको काम गर्नुपर्ने हो । सरकारले पनि बोर्डका सुझावहरूलाई गम्भीरताका साथ लिई यस व्यवसायलाई सञ्चालन गनए उपयुक्त नीति ल्याउनुपर्छ र सहजीकरण पनि गरिदिनुपर्छ ।

कोभिड महामारीले गर्दा विगत डेढ वर्षदेखि बन्दाबन्दीमा खुम्चिएको हाम्रो समाज र अर्थतन्त्र अब सुरक्षाका उपाय अपनाउँदै र अँगाल्दै चलायमान बनाउन खोजिनुपर्छ । सुरक्षाका मापदण्ड अपनाई पेशा उद्यम र व्यवसाय पुनः सञ्चालन हुनसक्ने वातावरण बनाउनु आवश्यक छ ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले भ्रमण वर्ष २०२०, मनाउन लागोले यस क्षेत्रमा ठूलो मात्रामा लगानी भएको थियो । तर, महामारीका कारण होटेल, रिजोर्ट, ट्राभल, ट्रेकिङ, र्‍याफ्टिङ, एअरलाइन्स, यातयात, हस्तकला तथा उपहार सामग्री, रेस्टुराँजस्ता पर्यटन क्षेत्रबाट प्रत्यक्ष रूपमा हुने ७५ अर्बभन्दा बढीको आय गुमिरहेको छ । यसबाट करीब १० लाख जनशक्तिको रोजगारी संकटमा परेको छ । २५ प्रतिशतभन्दा बढी पर्यटन व्यवसायीले व्यवसाय परिवर्तन गरेको अनुमान छ ।

अब पर्यटनलाई फैलाउन विशेष रणनीतिका साथ थप सक्रियता आवश्यक छसगरमाथा तथा अन्नपूर्ण क्षेत्रजस्ता नेपालका मुख्य पर्यटकीय गन्तव्य रहेका हिमाली जिल्लामा प्रायः सबै जनाले भ्याक्सिन लगाइसकेका छन् । यस्तोमा स्रोत बजारमा पर्यटन क्षेत्रसँग सम्बद्ध सबैले खोप लगाएको सन्देश प्रवाहित गर्नु आवश्यक छ । अर्को, पर्यटकीय क्षेत्रलाई कोरोनाबाट सुरक्षित राखिएको छ भन्न्ने सन्देश पनि प्रवाहित गर्नुपर्छ । यी क्षेत्रको नियमित अनुगमन भइरहेको र कोही संक्रमित भए त्यसलाई पैmलन नदिने विशेष रणनीति बनाई जनशक्ति परिचालन गरिएको सन्देश पनि जानुपर्छ । नेपाल आउने खर्चालु पर्यटकहरू पदयात्रा, पर्वतारोहणलगायतमा रुचि राख्छन् । भीडभाड कम हुने भएकाले यी क्षेत्र तुलनात्मक रूपमा कम जोखिमयुक्त मानिन्छन् । पर्यटकहरूमाझ यो क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिनु आवश्यक छ । नेपाल आएका कुनै पनि पर्यटक संक्रमित नभएको तथ्यलाई पनि प्रचार गरिनुपर्छ । यसले नेपालको पर्यटक क्षेत्र सुरक्षित भएको सन्देश जान्छ ।

लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वमहासचिव हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्