ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

उद्योगीको प्रतीक्षामा विनातलब १० वर्षदेखि चौकीदारी

२०७८ भदौ, २५  
समाचार
Chelsea International Image Not Found
जुद्ध म्याच फ्याक्ट्रीको ढोका पहरा दिँदै मजदूरद्वय मानबहादुर गुरुङ र कृष्ण देवान ।

विराटनगर । मजदूरहरूको ५१ प्रतिशत शेयर भएको जुद्ध म्याच फ्याक्ट्रीको सुरक्षामा दशकदेखि विनातलब चौकीदारी गरिरहेका छन्, ६२ वर्षीय मानबहादुर गुरुङ । २००३ सालमा जुद्धबहादुर श्रेष्ठको लगानीमा स्थापना भएको दि जुद्ध मैच फ्याक्ट्री २०६८ सालमा बन्द भएको हो ।

तर, शेयरधनी मजदूरहरू फ्याक्ट्रीको रेखदेखमा अहोरात्र निःशुल्क खटिइरहेका छन् । दशकअघि बन्द भएको दी जुद्ध म्याच उद्योगको गेटमा मानबहादुर पहरा दिइरहेका छन् । ‘एक दिन त उद्योगका मालिक आउलान् नि ?’ उनी भन्छन्, ‘त्यसपछि आफ्नो हिसाबकिताब गरेर उद्योगको गेट छाडुँला ।’

गुरुङ मात्र होइन, उनकै उमेरसमूहका कृष्ण देवान, नरबहादुर मगर र मानबहादुर मगर पनि दशकदेखि त्यसरी नै मालिक कुरिरहेका छन् । उनीहरू पनि आफ्नो बक्यौता लिन दशकदेखि उद्योगको गेटमा मालिक पर्खिंदै उद्योगको सामानको रेखदेख गर्दै आएका छन् ।

विस. २००३ सालमा स्थापना भएको यो उद्योगमा जुद्धबहादुरले २०४९ सालमा मजदूरहरूलाई ५१ प्रतिशत शेयर दिएका थिए र मजदूरहरूले नै उद्योग चलाएका थिए । २०६७ मा सुरेन्द्रलाल सुवालले उद्योग चलाएका थिए र त्यो १ वर्षपछि बन्द भएको थियो । पछिल्लो समय मजदूरकै व्यवस्थापनमा उद्योग सञ्चालन भएको थियो । अवैध रूपमा भारतीय सलाई आपूर्ति हुनुका साथै उद्योगलाई कच्चा पदार्थको अभाव भएपछि मजदूरले सुरेन्द्रलाल सुवाललाई आफ्नो शेयर विक्री गरेका थिए । उनले पनि उद्योग सञ्चालन गर्न नसकेपछि २०६८ सालमा बन्द भएको थियो । ‘सुवालले उद्योग बन्द गरे । तर, हामीले पाउनुपर्ने बक्यौता अझै पाएका छैनाैं,’ गुरुङले भने, ‘उद्योगमा सयभन्दा बढी कामदार स्थायी थिए । उनीहरू कसैले पनि पाउनुपर्ने तलब पाएका छैनन् ।’

मालिकको पर्खाइमा उद्योगमा पहरा दिइरहेका चारजनाले उद्योगका आठओटा कोठा भाडामा लगाएका छन् । विभिन्न निजी विद्यालयका पाँचओटा गाडी पार्किङ गर्न राखिएका छन् । त्यसबाट मासिक २० हजार जति भाडा उठ्छ । २०३९ सालमा स्थायी भएका कृष्ण देवानले भने, ‘त्यही रकम चार जनाले बराबरी बाँडेर गुजरा चलाउँदै आएका छौं ।’ उद्योगको नाममा पौने आठ बिगाहा जमीन छ । ठूलाठूला भवन छन् । उद्योगको जग्गाको मूल्य डेढ अर्बभन्दा बढी रहेको छ । देवानले भने, ‘उद्योगको कुनै पनि भौतिक सम्पत्ति अतिक्रमण हुन दिएका छैनौं ।

हामीले उद्योगको सुरक्षा गरिरहेका छौं । तर, मालिक सम्पर्कमै आउँदैनन् ।’ उनले पछिल्ला मालिक सुरेन्द्रलाल सुवाल काठमाडाैंमा बस्ने गरेको जानकारी दिए ।

२००३ सालमा जुद्धबहादुर श्रेष्ठले स्थापना गरेको उक्त उद्योग २०४९ सालदेखि मजदूरको व्यावस्थापनमा सञ्चालन भएको थियो । श्रेष्ठले उद्योगबाट हात झिकेपछि उद्योग बन्द हुँदा कार्यरत मजदूरहरूले ५१ प्रतिशत शेयर खरीद गरेर आप्mनै व्यवस्थापनमा उद्योग सञ्चालन गरेका थिए । त्यसपछि मजदूरले सुवाललाई आप्mनो सबै शेयर विक्री गरेका थिए ।

उद्योगको बाँकी शेयर पशुपतिशमशेर राणा र घनेन्द्रविक्रम शाहको नाममा रहेको बताइएको छ । उद्योगको नाममा नेपाल बैंक र विभिन्न वित्तीय संघसंस्थाको करीब ४ करोड ऋण रहेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्