ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मनाङका विद्यालय भवन सेनाले बनाउने

२०७८ भदौ, २५  
गण्डकी प्रदेश
Chelsea International NA

मनाङ । बाढीपहिरोका कारण क्षति पुगेका मनाङका विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिराले क्षति पुर्‍याएका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो ।

गत असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीले क्षति पुर्‍याएका चार विद्यालयको भौतिक पूर्वाधार निर्माण सेनाले गर्ने भएको शिक्षा विकास तथा समन्वय एकाइले बताएको छ । नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु मावि, नासों–६ थोंचेस्थित प्रकाशज्योति मावि, नासों–३ स्थित धारापानी आधारभूत विद्यालय र चामे गाउँपालिका–४ स्थित लोकप्रिय माविको भवन निर्माण सेनाले बनाउने बताइएको छ ।     

जिल्लाका नमूना विद्यालयका रूपमा रहेका लोकप्रिय माध्यमिक विद्यालय र प्रकाशज्योति माध्यमिक विद्यालयको आधा भाग बाढीले बगाएको छ । बाढीका कारण क्षति पुगेका विद्यालयमा पठनपाठन गराउन सकिने अवस्था नरहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नारायणप्रसाद रेग्मीले बताए । चार ओटामात्रै माध्यमिक विद्यालय रहेको मनाङका विद्यालयमा नदी पसेपछि विद्यार्थीको भविष्य अनिश्चित बनेको छ । बाढीपहिरोले सडक सञ्जालबाट विच्छेद रहेका विद्यालय भवन निर्माणका लागि सेनाले सहयोग गर्ने भएको उनले जानकारी दिए ।

कोरोनासँगै बाढीपहिराको जोखिममा रहेका बालबालिकाको पढाइ नै अनिश्चित भएपछि सेनाले विद्यालय भवन निर्माण सहयोग गर्ने तत्परता देखाएको हो ।

नासों–१ ताल गाउँस्थित भानु माध्यमिक विद्यालयमा हालसम्म पनि मस्र्याङ्दी नदी बगिरहेको छ । ताल गाउँको बस्तीसँगै विद्यालय पनि पूर्णरूपमा जोखिममा छ । बाढीका कारण तीन माध्यमिक र एक आधारभूत विद्यालयमा क्षति पुगेको छ । यी विद्यालयमा पठनपाठन गराउन सक्ने अवस्था नरहेको बताइएको छ । त्यस्तै नासों–६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति माध्यमिक विद्यालयलाई एकतर्फ मस्र्याङ्दी नदी र अर्कोतर्फ दूध खोलाले क्षति पुर्‍याएको छ । जिल्लाका चार माध्यमिक विद्यालयमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मात्रै बाढीबाट जोगिएको रेग्मीले जानकारी दिए । सदरमुकामस्थित चामे–४ को नमूना विद्यालय लोकप्रिय माध्यमिकको भवनमा मर्स्याङ्दी नदीको बाढीले पूर्णरूपमा क्षति पुगेको छ ।

कहिलेदेखि विद्यालयको भवन निर्माण थाल्ने, भौतिक संरचना निर्माण आवश्यक पर्ने सामग्री कसरी क्षति पुगेको स्थानसम्म पुर्‍याउनेलगायत प्राविधिक तथा सामाजिक, विधिगत विषयमा नेपाली सेनासँग छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानले जानकारी दिएका छन् । ‘सडक सञ्जालबाट पूर्णरूपमा वञ्चित भएका छौं, विद्यालय विद्यार्थीको भविष्य निर्माणका लागि आवश्यक छ,’ उनले भने, ‘सडक सञ्जाल निर्माण छिटो भए सहज हुने थियो, पहल गरिरहेका छौं, अझैसम्म पनि वर्षा हुने क्रम जारी रहँदा समस्या थपिएको छ ।’ रासस

प्रतिक्रिया [1]
User Image

Mo2N

[Sep 11, 2021 03:51am]

अमेरिकी सेनाको पनि संलग्नता रहने होला। Nooo MCC!


प्रतिक्रिया दिनुहोस्