ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कोहलपुर–सुर्खेत प्रसारण : लाइन १३ हजार रूख काटिने

२०७८ भदौ, २५  
कर्णाली प्रदेश
Chelsea International NA

सुर्खेत । निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारका लागि १३ हजार ११९ रूख कटान गरिने भएको छ । रूख कटानका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान फाइल तयार भइसकेको छ ।

विभागीय मन्त्री नहुँदा काममा ढिलाइ भएको भन्दै आयोजना प्रमुख रविकुमार चौधरीले मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि रूख कटानका लागि बोलपत्र आह्वान, जग्गाको मुआब्जालगायत प्रक्रिया शुरू गरिने बताए । ‘यति ठूलो संख्यामा रूख कटान गर्न समय लाग्छ, अबको १ वर्षभित्र प्रसारण लाइन निर्माण गरिसक्नुपर्नेछ,’ उनले भने, ‘रूख कटानमा जति ढिलाइ भयो, त्यति नै प्रसारण लाइन विस्तारमा समय लाग्छ ।’ रूख कटानमा ढिलाइ हुँदा जग्गाको मुआब्जा वितरणदेखि प्रसारण लाइन निर्माणको काम प्रभावित हुने उनले बताए ।

नेपाल विद्युत् प्राधिकरणको ३६औं वार्षिकोत्सवका अवसरमा आयोजनाले कोहलपुरबाट प्रसारण लाइनको टावर निर्माण शुरू गरेको थियो । करीब ७० करोड लागतमा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले प्रसारण लाइन निर्माणको ठेक्का लिएको थियो । गत असारमा ठेक्का सम्झौता भएपछि कम्पनीले निर्माण अघि बढाएको छ । ५२ किमी दूरी रहेको सो प्रसारण लाइनका लागि डबल सर्किटअन्तर्गत १६१ टावर निर्माण गर्नुपर्नेछ ।

२०४५ सालमा निर्मित ३३ केभी प्रसारण लाइनका कारण कर्णालीमा ‘अनियमित विद्युत्’ ठूलो समस्याको रूपमा छ । भोल्टेज कम हुने, सामान्य वर्षा र हावाहुरीमै खम्बा ढल्नेजस्ता समस्याले यहाँ उपभोक्ताले हैरानी खेप्नुपरेको छ । सो आयोजना निर्माण सम्पन्न भएमा सबै समस्या हट्ने अपेक्षा गरिएको छ । प्रसारण लाइन बाँकेको कोहलपुर सब–स्टेशनबाट प्रारम्भ भई सुर्खेतको वीरेन्द्रनगरस्थित सब–स्टेशनमा पुगेर टुंगिनेछ ।

आयोजनाका अनुसार प्रसारण लाइनका अधिकांश क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्छ । प्रसारण लाइनको ७० दशमलव ५४५ भाग वन क्षेत्र, १५ दशमलव १३५ खेतीयोग्य, २ दशमलव २६५ बाँझो जमीन र ११ दशमलव ६५ अन्य भागले ओगटेको छ । सो आयोजनाबाट बाँकेका कोहलपुर नगरपालिका र वैजनाथ गाउँपालिका, बर्दियाका बाँसगढी नगरपालिका तथा सुर्खेतका भेरीगंगा, लेकबेँसी र वीरेन्द्रनगर नगरपालिका प्रभावित हुनेछन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्