ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

घरमै इनार र ट्यांकीको व्यवस्थापन गरिए टार्न सकिन्छ खानेपानी अभाव

२०७८ भदौ, २५  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालमा पुग्दो खानेपानी आपूर्ति समस्या मुलुकभरि नै व्याप्त छ ।  अझ खानेपानी अभावको नमुना राजधानी सहर काठमाडौंलाई लिन सकिन्छ ।  काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्रतिवेदनले यहाँको दैनिक खानेपानी माग ४० करोड लिटर माथि रहेको र आपूर्ति १५ करोड लिटर हाराहारी मात्र रहेको देखाउँछ । यसले पनि देखाउँछ खानेपानी अभाव अवस्था ।

मेलम्ची खानेपानी आयोजना सञ्चालन भएर उपलब्ध हुने पानीले समेत राजधानीको खानेपानी अभावलाई पूर्णतः निर्मूल गर्न नसक्ने तथ्यांक छ ।  अझ करिब परीक्षणकाल सम्पन्न गरिसकेको मेलम्ची परियोजना बाढीपहिरोका कारण पुनः अनिश्चित भइदिँदा राजधानीका बासिन्दा र नयाँ घर बनाउनेहरूले भविष्यमा पानी अभावलाई कसरी धान्ने भन्नेबारे गम्भीर भएर सोच्नु आवश्यक छ ।  यस्तो विषम अवस्थालाई झेल्न सहयोगी उपाय हुन सक्छ, घरमा इनार र रिजर्भ ट्यांकीको उचित तरिकाले निर्माण र समायोजन ।

घर, टोल वा सार्वजनिक जमघटको स्थान नजिकै इनार खन्ने र पिउन तथा अन्य प्रयोजनका लागि चाहिने आवश्यक पानी आपूर्ति गर्ने नेपालको परम्परागत चलन हो ।  खानेपानी अभावलाई सरकारले सुल्झाउन नसकेको र थप विकराल बन्दै गएको अवस्थामा घर बनाउँदै छौं भने इनार खन्ने चलन अझै पनि उपयोगी हुन सक्छ ।

हुन त विभिन्न अध्ययनले काठमाडौंको भूमिगत पानीको स्रोत घट्दै गएको देखाएको छ ।  तर, विज्ञहरूले भूमिगत पानीको स्रोतलाई पुनभरण (ग्राउन्ड रिचार्ज) को उपाय पनि सुझाएका छन् ।  काठमाडौं उपत्यकाको अधिकांश ठाउँमा इनार खन्ने चलन अद्यापि छ भने निश्चित गहिराइमा पुगेपछि पानीको स्रोत भेटिने गरेको छ ।  

काठमाडौंमा बर्खाको समय इनारमा प्रशस्त पानी जम्मा हुने गर्दछ भने सुक्खायाममा प्रतिदिन ठाउँअनुसार ५० देखि १०० लिटरसम्म पानी इनारमा जम्मा हुने गर्दछ ।  

सुक्खायाममा जम्मा हुने ५०–१०० लिटर पानी सानै परिवारलाई पनि अपुग हुन्छ ।  यद्यपि घर निर्माण गर्ने समय सकेसम्म अधिक क्षमताको रिजर्भ ट्यांकी बनाउन सके बर्खाको पानी ट्यांकीमा जम्मा गरी सुक्खायाममा केही समयका लागि उपयोग गर्न सकिन्छ ।  विभिन्न अध्ययनले सुझाएअनुसार एक व्यक्तिलाई दैनिक आवश्यक पर्ने करिब ७५ लिटर पानीलाई आधार मान्दा कुनै घरमा २ परिवार गरी ८ जना छन् भने तिनलाई मासिक १८ हजार लिटर पानी चाहिन्छ । यदि उक्त घरमा २४ हजार लिटर क्षमताको रिजर्भ ट्यांकी छ भने वर्षायाममा उक्त ट्यांकी भर्न कुनै समस्या हँुदैन ।  सुक्खायाममा इनारमा जम्मा हुने थोरैथोरै पानी र रिजर्भ ट्यांकीमा साँचेर राखिएको पानीलाई किफायत गरी प्रयोग गरिए झन्डै २ महिना धान्न सकिन्छ  ।  इनारमा जम्मा हुने पानी र ट्यांकीमा जगेडा राखिएको पानीले बाहै्र महिना अभाव धान्न नसकिए पनि केही मात्र भए पनि पूर्ति गर्न सक्ने यो उदाहरणले देखाएको छ ।  यसका अलावा सरकारी धाराले साता–दस दिनमै भए पनि केही क्षण आपूर्ति गर्ने पानीलाई समेत जोडेको खण्डमा निजी ट्यांकरबाट महँगोमा खानेपानी किन्नुपर्ने अवस्था हटाउन सकिन्छ ।

निजी ट्यांकरबाट पानी किन्नुपर्ने अवस्थामा पनि आफ्नो घरसम्म पुग्ने बाटो ठूलो छ भने ठूलो ट्यांकरको पानी खरिद गरे केही सस्तो पर्ने हँुदा खानेपानी जगेडा राख्न ट्यांकी ठूलो राखिनु बुद्धिमानी हुन्छ ।  काठमाडौंमा बिक्री वितरण गर्ने खानेपानी ट्यांकर ७ हजार वा १२ हजार लिटर क्षमतालाई विचार गर्दा घरको रिजर्भ ट्यांकीको क्षमता कम्तीमा १२ हजार लिटर भए खानेपानी सञ्चित गर्न तथा किन्नैपर्ने अवस्थामा पनि धेरै हदसम्म सहयोग पुग्ने देखिन्छ ।

रिजर्भ ट्यांकी भूमिगत निर्माण गर्न मिल्ने र त्यसमाथि पार्किङ वा अन्य आवश्यक निर्माण गर्न मिल्ने भएकाले अतिरिक्त जग्गा चाहिने होइन । त्यसैले घर निर्माण गर्ने समय भविष्यमा पानी अभावलाई कम गर्न सकिने किसिमले रिजर्भ ट्यांकी बनाउनु सही निर्णय हुन सक्छ ।  

त्यस्तै, इनार बनाउँदा त्यसको नजिकै पुनभरण (रिचार्ज ग्राउन्ड) का लागि खाली जग्गा, करेसाबारी वा दुबो रोपेर राख्न सकिन्छ । जहाँबाट बर्खामा परेको पानी, घरको छाना वा छतबाट खसेको अतिरिक्त पानीलाई गटर वा पाइपको माध्यमबाट पर्‍याउन सके उक्त पानी इनारमै पुग्ने हुँदा घर वरिपरि उपलब्ध सानै जग्गा उपयोग गरेर इनारमा हुनुपर्ने भुमिगत पानी अवशोषणको माध्यमलाई केही हदसम्म व्यवस्थापन गर्न सकिन्छ । सामान्य प्रयासबाट सहरले भोग्दै आएको खानेपानी अभावलाई टार्न आफ्नो तर्फबाट सानै भए पनि भूमिका खेल्न सक्छौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्