ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मानव स्वास्थ्यका लागि लाभदायक उमालेको पानी

२०७८ भदौ, २५  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्राकृतिक रूपमा पूर्ण मिनरल्सयुक्त शुद्ध पानी पिउन पाउने नेपाली थोरै छौं । ती भाग्यमानीमा हिमाली भेगका वासिन्दा पर्छन् । त्यसबाहेक अन्य क्षेत्रमा एकातिर पर्याप्त मात्रामा पानीको अभाव छ भने अर्कोतिर शुद्ध पानीको ।

खानेपानी संस्थानबाट वितरण गरिने  पानी पाइप लिकेजका कारण अशुद्ध हुने सम्भावना अधिक छ । काठमाडौंको जमिनमुनिको पानीमा आइरन र एमोनियाको मात्रा बढी छ भने तराईको पानीमा आर्सनिकको मात्रा बढी छ । काठमाडौंको पानीलाई शुद्धीकरण गर्नुअघि आइरनको मात्रा घटाउनु आवश्यक छ । आइरनको मात्रा नघटाई शुद्धीकरण गर्दा फिल्टर जाम भएर मेसिनले कामै नगर्ने हुन सक्छ ।

सहरी क्षेत्रमा उपलब्ध हुने जार (बोतल) को पानी सबै पिउनयोग्य नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको रिपोर्टले औंल्याइसकेको छ । त्यसैगरी अन्य विभिन्न स्रोतबाट उपलब्ध हुने पानी पनि त्यति भरपर्दो छैन । त्यसैले पानीलाई शुद्धीकरण र निर्मलीकरण गरेर मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ । पानीलाई शुद्धीकरण गर्ने विभिन्न विधि छन् । त्यसमध्ये केही प्रमुख विधिबारे जानकारी गराउने जमर्को गरिएको छ ।

उमाल्ने विधि
पानीमा हुने ब्याक्टेरिया, परजीवि, भाइरस र अन्य किटाणुलाई निर्मलीकरण गर्ने भरपर्दो वैज्ञानिक विधि उमाल्नु हो । धमिलो, आइरनयुक्त पानीलाई साधारण फिल्टरद्वारा सफा गर्न सकिन्छ । उक्त पानीलाई उमालेर किटाणुरहित बनाउन सकिन्छ । यसले स्वास्थ्यलाई पनि कुनै असर गर्दैन । त्यति मात्र होइन, यो विधि सरल र सबैले प्रयोग गर्न पनि सक्छन् । पानी उमाल्ने विधि सबैका घरघरमा प्रयोग गर्न सकिने र सजिलो पनि छ ।

क्लोरिन वा रसायन प्रयोग
पानी निर्मलीकरणको अर्को सजिलो र भरपर्दो माध्यम क्लोरिनको प्रयोग हो । यो ट्याब्लेट र झोलमा उपलब्ध हुन्छ । यसले पानीमा भएका जीवाणु नष्ट गर्छ र पिउनयोग्य हुन्छ । यो विधि पनि सफा पानीमा मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ ।

पराबैजनी विधिद्वारा पानी शुद्धीकरण
प्रविधिको प्रयोगबाट पानीलाई ब्याक्टेरया, किटाणुरहित गर्न सबैभन्दा प्रभावकारी तरिका हो । पानी शुद्धीकरणका साथै निर्मलीकरण गर्न सबैभन्दा बढी प्रयोग भएको विधि हो । पराबैजनी किरणद्वारा पानीमा हानिकारक किटाणु प्रवेश र रोग पैदा गर्ने सूक्ष्म जीवको आनुवंशिक कोर (डीएनए) लाई नष्ट गर्दछ । यसको प्रयोग किटाणु नष्ट गर्ने सरल, प्रभावकारी, सुरक्षित र पर्यावरणयुक्त मानिन्छ । सामान्यतया पानी शुद्धीकरण गर्न अन्य फिल्टजस्तै रिभर्स असमस (आरओ) प्रणाली वा ब्लक फिल्टरसँग प्रयोग गरिन्छ ।

पराबैजनी शुद्धीकरणका फाइदा
यो विधिमा रासायनिक वा क्लोरिनले जस्तै किटाणु नष्ट गर्दछ । पानीको स्वाद र गन्धमा कुनै असर गर्दैन । यो विधि धेरै  प्रभावकारी मानिन्छ । यस प्रविधिमा थोरै ऊर्जाको खपत हुन्छ । कम खर्चिलो हुनु पनि यसको राम्रो पक्ष हो ।

पराबैजनी शुद्धीकरण आफैंमा पानी पिउने उद्देश्यका लागि पर्याप्त छैन । युवि विकिरण ब्याक्टेरिया र भाइरसको उपचारका लागि मात्र प्रभावकारी छ । यसले क्लोरिन, भारी धातु र जैविक यौगिकलाई हटाउन सक्दैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अध्ययनअनुसार यो विधिबाट शुद्धीकरण गर्नाले पानीमा हुने टीडीएसको मात्रालाई घटाउँछ । यो भनेको पानीमा घुलिएको वस्तुको मात्रा हो, जसलाई मिनरल पनि भनिन्छ । टीडीएसको मात्रा कमीले मानव स्वास्थ्यलाई असर गर्छ । तर, अहिले बजारमा टीडीएसको मात्रालाई समेत सन्तुलित राख्ने प्रविधिको प्रयोग गरिएको छ । साथै, यसले पानीमा भएको अनावश्यक केमिलल्स जस्तै, क्याल्सियम, आइरन, क्लोरिन, ओजोन, आयोडिनलाई नष्ट गर्छ ।

पानी शुद्धीकरण गर्ने विधि
पानीमा हुने धुलो, फोहोर, आइरन, वालुवाका कण, सिल्ट, क्ले र अन्य ठोस पदार्थलाई हटाउन विभिन्न शुद्धीकरणका विधि प्रयोग गरिन्छ । घरमा ठूलो मात्रामा पानी शुद्धीकरण गर्न पानी ट्यांकीमा फोम, बालुवा, गिटी आदिको प्रयोग गरिन्छ । त्यसैगरी साधारण कोठा भाडामा बस्ने र बाहिर घुम्न जाँदासमेत प्रयोग गर्न मिल्ने चारकोल, सेडिमेन्ट फिल्टर आदि प्रयोगमा आएको छ ।

अहिले बजारमा धारामा जोड्न मिल्ने किसिमको फिल्टर पनि आएको छ, जसले फोहोर पानीलाई सफा गर्दछ । यस फिल्टरमा ढुंगा र चारकोल प्रयोग गरिएको हुन्छ । यसो गाम्बो चारकोलको नामले बजारमा उपलब्ध छ ।

त्यसैगरी बोक्न मिल्ने र सानो कोठामा समेत प्रयोग गर्न मिल्ने फिल्टर पनि प्रयोगमा आइसकेको छ । जस्तै, हाते पम्प मेसिन, स्ट्र वा बोतल फिल्टर, थैली फिल्टर,ज ग फिल्टर, क्राफ्टयुक्त हाते फिल्टर आदि मुख्य छन् । यी फिल्टरबाट फोहोर पानीलाई शुद्ध गर्न सकिन्छ । तर, यसले पानीलाई पिउनयोग्य र पूर्ण किटाणुरहित बनाउन भने सकिँदैन । त्यसैले यस प्रविधिबाट फोहोर पानीलाई सफा गर्ने काम हुन्छ र सो पानीलाई पिउनयोग्य र किटाणुरहित बनाउन अन्य विधिको प्रयोग गर्नुपर्छ ।

रामकुमार थारु (चौधरी) को ज्ञानलाई आत्मसात गरेर उमालेको पानीलाई साधारण फिल्टर प्रयोगबाट पानी पिउनुयोग्य बनाउनु बुद्धिमानी मानिन्छ । सर्वसाधारणदेखि लिएर सबैलाई व्यावहारिक, सजिलो र प्राकृतिक रूपमा विश्वासिलो माध्यम पानी उमाल्ने प्रविधि र रसायन वा क्लोरिनको प्रयोग उत्तम मानिन्छ । यो स्वास्थ्यका लागि फाइदाजनक र कम खर्चिलो पनि छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्