ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अब काठमाडौं–नयाँदिल्लीमा सातामा १० ओटा उडान     

२०७८ भदौ, २५  
समाचार
Chelsea International Image Not Found

भदौ २५, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको नयाँदिल्ली दैनिक एक उडान सञ्चालन गर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सेप्टेम्बर महीनाका लागि सार्वजनिक गरेको अन्तरराष्ट्रिय उडान तालिकाअनुसार अब काठमाडौं–नयाँ दिल्ली गन्तव्यमा सातामा १० ओटा उडान हुने भएका छन् ।     
     
नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ भने भारतको राष्ट्रिय ध्वजावाहक एयर इण्डियाले यो रुटमा साताका तीन दिन (आइतवार, मंगलवार र शुक्रवार) उडान अनुमति पाएको छ । एयर बबल सम्झौताअनुसार यसअघि नयाँ दिल्ली गन्तव्यमा सातामा तीन ओटा उडान हुँदै आएका थिए । बन्दाबन्दीपछि शुरुमा सातामा एक र दुई उडान गर्दै आएकामा अहिले एयर बबलअनुरुप नै दैनिक उडान तालिका बनाइएको हो ।

भारतका अन्य दुई महत्वपूर्ण गन्तव्य बैङ्लोर र मुम्बई गन्तव्यमा उडान सञ्चालनको अनिश्चितता कायमै छ । नेपाल एयरलाइन्सले भारतका तीनसहित सात ओटा देशका नौ ओटा गन्तव्यमा उडान गर्दै आएको छ ।     
     
निगमका एक विभागीय निर्देशकका अनुसार नयाँ दिल्ली गन्तव्यमा दैनिक उडानले दशैंको अवसरमा यात्रुलाई निकै राहत पुग्ने र यसले निगमको व्यापारमा पनि सकारात्मक प्रभाव पार्नेछ । हवाईमार्ग भएर दिल्लीबाट धेरै नेपाली तथा भारतीय आउने भएकाले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । नेपालमा पर्यटकीय सिजन शुरु भएको छ । यो याममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउँछन् ।     
     
एयर अरेबियाले हरेक दिन काठमाडौं गन्तव्यमा दुई ओटा उडान गर्ने गरी अनुमति पाएको छ । सोही एयरलाइन्सको जहाजले आबुधाबीबाट समेत हरेक दिन उडानको अनुमति पाएको क्यानले बताएको छ । यस्तै फ्लाई दुबईले काठमाडौंका लागि सातामा १० ओटा उडान गर्नेछ ।     
     
नेपालबाट अन्तरराष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सले मलेशियाको क्वालालाम्पुर विमानस्थलमा साताको छ  ओटा उडान सञ्चालन गर्नेछ । सोही एयरलाइन्सले दुबईका लागि साताको छ ओटा उडान सञ्चालनको अनुमति पाएको छ । त्यसैगरी कतारका लागि हिमालयको जहाजले सातामा कुल सात ओटा उडानको अनुमति पाएको छ ।     
     
जजिरा एयरवेजले काठमाडौंका लागि हरेक दिन उडान गर्नेछ । कोरियन एयरले साताको एक दिन बुधबार काठमाडौं उडान गर्नेछ । मालिन्दो एयरको जहाजले क्वालालाम्पुरबाट साताका चार (सोमवार, बुधवार, शुत्रवार र शनिवार) उडान गर्नेछ । मलेशिया एयरलाइन्सले हरेक शनिवार क्वालालम्पुरबाट काठमाडौं आउने क्यानले जारी गरेको उडान तालिकामा उल्लेख छ ।     
     
नेपाल एयरलाइन्सले कतारको हमाद इन्टरनेशनलमा हरेक दिन एक उडान गर्नेछ । दुबई इन्टरनेशनल एयरपोर्टबाट नेपाल एयरलाइन्सले सातामा चार (सोमवार, बुधवार, बिहीवार र शनिवार) उडान गर्ने तालिका छ । उक्त एयरलाइन्सले क्वालालाम्पुरमा सातामा चार ओटा उडान गर्नेछ । जापानको नारितामा नेपाल एयरलाइन्सले हरेक बिहीबार उडान गर्नेछ । त्यस्तै हङकङका लागि हरेक मंगलवार उडान हुनेछ ।     
     
त्यसैगरी कतार एयरवेजले कतारको हमाद इन्टरनेशनल विमानस्थलमा दैनिक तीन उडानको अनुमति पाएको छ । सलाम एयरले मस्कट विमानस्थलबाट साताको तीन दिन काठमाडौं गन्तव्यमा उडान गर्नेछ । टर्किस एयरले साताका तीन दिन (सोमवार, बिहीवार र शनिवार) काठमाडौंमा उडान गर्नेछ ।

सिङ्गापुर एयरलाइन्सले हरेक आइतवार र श्रीलङ्कन एयरलाइन्सले मंगलवार तथा शनिवार गरी सातामा दुई ओटा उडान गर्न अनुमति पाएको छ । यो उडान तालिका सेप्टेम्बर ३० सम्मका लागि मात्रै हो । अब क्यानले छिट्टै विन्टर उडानको तालिका बनाउनेछ । अहिले तीन नेपालीसहित १२ वायुसेवा कम्पनीले अन्तरराष्ट्रिय उडान गर्दै आएका छन् ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्