ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

काभ्रेपलाञ्चोकमा पुन: १० दिनका लागि मिश्रित लकडाउन थप

२०७८ भदौ, २५  
वाग्मती प्रदेश
Chelsea International Image Not Found

भदौ २५, काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले १० दिनका लागि मिश्रित लकडाउन थप्ने निर्णय गरेको छ । 
कोरोना संक्रमणका कारण यहाँका अस्पतालमा बिरामी भर्ना दर बढेकाले लकडाउनको समय थप गरिएको हो । 

यसअघि १० दिन थप गरिएको मिश्रित लकडाउन शुक्रवार राति १२ बजेसम्म रहेकामा जोखिम मुल्यांकन बमोजिम जिल्ला पहेंलो जोनमा परेको कारण आजदेखि आगामी असोज ५ गते राति १२ बजेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए । 

उक्त आदेश अनुसार तोकिएको समयसम्म सबै प्रकारका भेला, जुलुस, सभा, सम्मेलन, सिनेमा हल, रेष्टुरेन्ट, क्लब, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जनस्थल, शैलुन, ब्युटिपार्लर र जिमखाना सञ्चालन गर्न नपाइने भएको छ ।  

यस्तै हाट, मेला, जात्रा, महोत्सव पाटी र भोज जस्ता भीडभाड हुने कार्य नगर्न प्रशासनले आग्रह गरेको छ । तोकिएका तरकारी बजार बाहेक अन्य सार्वजनिकस्थल र बाटोमा तरकारी तथा फलफूल विक्री वितरण गर्न नपाइने प्रशासनले जानकारी दिएको छ । 

प्रशासनले गोष्ठी, सेमिनार, समीक्षा जस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट सञ्चालन गर्न र भौतिक रुपमा उक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने भएमा अनिवार्य रुपमा स्वास्थ्य मापदण्डको पालना गर्दै बढीमा २५ जना मात्र उपस्थित हुने गरी गर्न प्रशासनले आग्रह गरेको छ ।

प्रशासनले शैक्षिक संघ/संस्था सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा स्थानीय पालिकाको निर्णय अनुसार विद्यालय व्यवस्थापन समिति र अभिभावक संघ समेतको समन्वय र सहकार्यमा निर्धारित स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी विद्यालय सञ्चालन गर्न सकिने जानकारी दिएको छ । 

सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्दा कुल सिट क्षमताभन्दा बढी संख्यामा यात्रु नराख्ने र चालक, सहचालक तथा यात्रुले निर्धारित स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्ने जानकारी दिएको छ ।

सो समयावधिमा विकास निर्माणका ढुवानी गर्ने सवारीसाधन जिल्लाभित्र खपत हुने सामग्रीकोे हकमा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म र जिल्ला बाहिर लैजानेको हकमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने जानकारी दिएको छ । जिल्लाभित्रका सम्पूर्ण पसल बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म मात्रै खोल्न पाउने स्थानीय प्रशासनले निर्णय गरेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्