ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

जसले नेपालमा ‘डाबर’ ब्राण्ड भित्र्याए...

२०७८ भदौ, २७  
विविध
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सन् १८८४ मा भारतमा स्थापित ‘डाबर’ बहुराष्ट्रिय कम्पनीको रूपमा चर्चित छ । उक्त कम्पनीको ब्राण्ड नेपालमा भने सन् १९८९ मा भित्रिएको थियो, जसलाई नेपालमा भित्र्याउने श्रेय स्वर्गीय उद्योगी रुक्मशम्शेर राणालाई जान्छ ।

नेपालमा बहुराष्ट्रिय ब्राण्ड डाबरलाई भित्र्याएर अहिलेको ‘डाबर नेपाल कम्पनी’लाई जन्म दिएका उनै राणाको शुक्रवार साँझ निधन भएको छ । मिर्गाैलाको समस्या, मधुमेह र उच्च रक्तचापबाट पीडित ८५ वर्षीय राणाको काठमाडौंको बत्तीसपुतलीस्थित आफ्नै निवासमा निधन भएको हो ।

भारतीय कम्पनीको मुख्य लगानीमा स्थापित डाबर नेपालले अहिले १ हजारभन्दा बढीलाई रोजगारी दिएको छ भने वार्षिक कारोबार पनि १ हजार करोडमाथि रहेको कम्पनीका एक अधिकारीले जानकारी दिए । यो कम्पनीले अहिले नेपालबाट जुस, ‘च्यवनप्रास’, ‘हजमोला’ क्यान्डी जस्ता उत्पादन निर्यात गर्छ । डाबर नेपालका संस्थापक राणा लामो समय कम्पनीको प्रबन्ध निर्देशकको रूपमा कार्यरत रहेकोमा २ वर्षअघि भने अध्यक्षको रूपमा कम्पनीमा नियुक्त भएका थिए ।

सफल उद्योगीको रूपमा चिनिने उनको खेलकुदमा समेत सक्रिय सहभागिता थियो । उनले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव समेत भएर काम गरेका थिए । यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष र भारतका लागि नेपाली राजदूत भएका उनी नेपाल–भारत चेम्बर अफ कमर्शका अध्यक्ष समेत थिए ।

नेपाल–भारत चेम्बर्स अफ कमर्शका निर्देशक केएम सिंह नेपालमा पहिलो साग गेम गराउनेदेखि बहुराष्ट्रिय कम्पनी भित्र्याउन सक्रिय रहेका राणालाई एक असल व्यक्तिको रूपमा लिन्छन् । व्यवसाय र खेलकुदमा उनको योगदान अतुलनीय रहेको उनी बताउँछन् । डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले कम्पनीले अभिभावक गुमाएको बताए । स्वर्गीय राणाको शनिवार दिउँसो पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्