ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

समयमै काम नसकिँदा बसपार्क व्यवस्थापनमा समस्या

२०७८ भदौ, २७  
वाग्मती प्रदेश
Chelsea International NA

काठमाडौं । काठमाडौंको पुरानो बसपार्क क्षेत्रमा निर्माणाधीन दृश्यावलोकन स्तम्भ (भ्यूटावर)को काम निर्धारित समयमा पूरा नहुँदा बसपार्क व्यवस्थापनमा समस्या भएको छ । साविक बसपार्कलाई अन्यत्र स्थानान्तरण गरी २०७३ साउनदेखि निर्माण शुरू गरिएको उक्त टावरको काम अहिले सुस्त गतिमा भइरहेको छ । निर्माण शुरू गरिएको ५ वर्षमा सक्नेगरी थालिएको उक्त काम हालसम्ममा ३५ प्रतिशत मात्र सकिएको काठमाडौं महानगरपालिकाले बताएको छ । निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्न नसक्दा बसपार्क कहाँबाट सञ्चालन गर्ने भनेर अन्योल थप चुलिएको छ ।

टावर निर्माण भइरहेको स्थानबाट सञ्चालन भएको बसपार्क खुलामञ्चमा सारिएको थियो । गत वैशाख १६ गतेदेखि उक्त स्थानबाट पनि बसपार्क हटाइएको छ । यातायात व्यवसायीले भने आफूहरूले साविकको स्थानबाटै बसपार्क सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । महानगरपालिकाले उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित समितिले तत्कालका लागि कामपा भएर चल्ने लामो दूरीको सार्वजनिक सवारीसाधन सल्लाघारीबाट सञ्चालन गर्न सुझाएको छ ।    

महानगरपालिकाको निजी साझेदारी एकाइका प्रमुख नूरनिधि न्यौपानेका अनुसार कामपाले निर्माणको जिम्मा दिन्न भन्ने अवस्था पनि छैन, जेनतेन काम गरिरहेको छ । सम्झौता भएअनुसार काम हुने हो भने अहिले कम्तीमा पनि ७५ प्रतिशत काम सकिसक्नुपर्ने हो, त्यो अवस्था भने छैन ।   
 
निर्माणको कामअन्तर्गत अहिले पाँचौं तलाको काम भइरहेको छ । समग्रमा ३५ प्रतिशतभन्दा बढी काम भएको छैन । स्तम्भ निर्माणका लागि महानगरपालिका तथा जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच २०७१ साल फागुन २२ गते सम्झौता गरिएको थियो । सम्झौतानुसार ५ वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् ।

सम्झौतानुसार निर्धारित समयमै काम नसकेमा एकपटक दुई वर्षका लागि समय थप्न मिल्छ । गोरखा भूकम्पपूर्वको योजना स्तम्भ २९ तला बनाउने थियो । भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक र १२ तलाको बनाउने गरेर काम भइरहेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्