ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

जैविक विविधता, परम्परागत ज्ञान र पेटेन्टको अन्तरसम्बन्ध

नेपालमा बौद्धिक सम्पत्तिको औचित्य

२०७८ भदौ, २७  
लेख | दृष्टिकोण
Chelsea International Image Not Found

जैविक विविधता, परम्परागत ज्ञान र पेटेन्ट बौद्धिक सम्पत्तिका विभिन्न प्रारूप हुन् । विगत अंकहरूमा यी तिनैको विषयमा अलगअलग चर्चा गरिसकिएको छ । आजको छलफलको उद्देश्य एउटा मामला अध्ययन (केस स्टडी) मा केन्द्रित रहेर यिनीहरू बीचको अन्तरसम्बन्ध उजागर गर्नु हो । किनभने नेपालजस्तो जैविक विविधता र परम्परागत ज्ञान प्रचुर मात्रामा भएको, मुलुकको समृद्धि लागि तिनले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने देखिएको तर हालका दिनहरूमा तिनको चोरी निकासी (वायो पाइरेसी) र दुरुपयोग व्यापक रूपमा भइरहेकाले यी तीनै बीचको सम्बन्धको अध्ययन समसामयिक र सान्दर्भिक हुने देखिन्छ ।

जुनसुकै जैवी विविधताको पनि हामीले अभिलेखीकरण गर्नुपर्छ र कसैले त्यस्ता सामग्रीमा पेटेन्ट लिई नाजायज तरीकाले निजी स्वर्थ पूरा गर्न खोज्नेविरुद्ध दाबी विरोध गर्नुपर्छ । स्रोतराष्ट्रलाई पनि फाइदा हुने गरी स्रोतमा न्योचित पहुँच हुने आविष्कारकलाई भने प्रोत्साहन दिनैपर्छ ।

नेपालजस्तो अल्पविकसित मुलुकका लागि ट्रिप्स सम्झौताको पालना ठूलो चुनौती हुँदाहुँदै पनि यसले जैविक विविधता, परम्परागत ज्ञान र तिनको पेटेन्टसँगको सम्बन्ध उजागर गर्न र तिनको उचित संरक्षणतर्फ हामीहरूलाई सजग बनाउने काम गरेको श्रेय भने यसलाई दिनैपर्छ । आजको चर्चामा जैविक विविधताको प्रतिनिधिमूलक नमूना वनस्पति हलेदो (वा बेसार) रहेको छ, र परम्परागत ज्ञान पनि बेसारको आयुर्वेदीय उपयोगमा मात्र केन्द्रित रहेको छ । त्यससम्बन्धी आविष्कारको संरक्षणका लागि बौद्धिक सम्पत्तिको उपकरण पेटेन्ट रहेको छ ।

बेसार नेपालको प्राचीन बाली हो । कृषि जैविक विविधतामा यसको महत्त्वपूर्ण स्थान रहँदै आएको छ । यो न्यानो जलवायु मनपराउने बाली हो । त्यसैले नेपालको तराई र भित्री मधेशसमेत १६०० मी उचाइसम्मका पहाडी इलाकामा परापूर्वकालदेखि कृषकहरूले यसको खेती गर्दै आएका छन् । नेपाालमा मात्र होइन, चीन, भारतलगायत समग्र दक्षिण एशिया र दक्षीणपूर्वी एशियाका मुलुकमा समेत यसको खेती हुँदै आएको छ । छिटपुटमात्रामा यसको खेती केही पश्चिम यूरोपेली र दक्षिणी अमेरिकी मुलुकमा पनि हुने गरेको छ ।

नेपालमा पौराणिक कालदेखि नै ऋषिमुनिहरूले मानव स्वास्थ्योपचारका लागि बेसारको प्रयोग गर्दै आएका छन् । आयुर्वेद, चरक संहितालगायत विभिन्न संहिताहरूमा यसको महŒव उल्लेख गरिएको छ । त्यही ऋषिमुनिको अभ्यास र आयुर्वेदीय परम्पराअनुसार नेपाली समाजमा सौन्दर्य प्रसाधनका रूपमा, भान्छाघरमा मसलाका रूपमा, कपडा टायल आदि रंगाउने पहेंलो रंगको रूपमा र बहुगुणी औषधिको यसको प्रयोग हुँदै आएको पाइन्छ । औषधिमा खास गरी विषाणु संक्रमण निरोधक, क्रिमी नासक, रक्त शोधक, मूत्र शोधक, कफ नाशक र आमाशय विकार नाशक तत्त्वका रूपमा प्रयोग हुने गरेको छ ।

वैद्य र कविराज मात्र होइन, गाउँघरका बूढी आमाहरू पनि रूघा खोकी लाग्दा, घाँटी दुख्दा, घाउ खटिरा उपचार गर्दा, पेट दुखाइमा, जिउ दुखेको उपचार गर्दा, सुत्केरीको उपचार गर्दा पुस्तौंदेखि बेसार प्रयोग गर्ने बानी परेका छन् । तर, प्रयोग भने विभिन्न तरीकाले जस्तो तताएर, पकाएर, पोलेर, लेप बनाएर वा अन्य घटकसँग मिसाएर व्यथाअनुसार फरकफरक तरीकाले उपचार गर्दै आएको पाइन्छ । यसरी एउटा बेसार बालीमा पनि विभिन्न परम्परागत ज्ञानको धनी मुलुक हो, नेपाल । आजको विज्ञानले यो सबै काम गर्ने बेसारमा रहेको पहेंलो तŒव क्रोकुमिन हो भनेको छ । विभिन्न थरीको बेसारमा यो तŒवको उपस्थिति झनै २ देखि ५ दशमलव ४५ प्रतिशतसम्म रहेको पाइएको छ ।

विश्व व्याापार संगठनको अभ्युदय र बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी ट्रिप्स सम्झौताको चर्चा परिचर्चाले बौद्धिक सम्पत्तिलाई धेरै मुलुकका धेरै व्यक्तिको चासो र सरोकार बढाएको छ । त्यही दौडानमा सम्पन्न मुलुकका चल्तापुर्जा व्यक्तिले अल्पविकसित र विकासोन्मुख मुलुकको जैविक साधन र परम्परागत ज्ञानमा आधारित अभ्यासहरूलाई आफ्नो नाममा पेटेन्ट लिने कुचेष्टा गरेका धेरै उदाहरण पाइन्छन् । तीमध्ये एउटा जल्दोबल्दो उदाहरण बेसारमा भएको घाउ खटिराको उपचार तथा विषाणु संक्रमण निरोधक गुणलाई समेटेर अमेरिकामा स्वीकृत भएको पेटेन्टको घटना हो ।

भारतीय मूलका अमेरिकी नागरिक सुमनकुमार दास र हरिहरप्रसाद कोहलीले अमेरिकाको मिसिसिपी विश्वविद्यालय मेडिकल सेन्टरमार्फत २८ मार्च १९९५ मा अमेरिकी पेटेन्ट अफिसमा घाउ खटिरा उपचारका लागि बेसारको पेटेन्टका लागि आवेदन दायर गरेको थिए । त्यसको व्यापक चर्चा त्यति बेला भयो जतिबेला रेसमी नामकी भारतीय महिलाले अमेरिकामा निर्यात गर्ने गरेको छालाको घाउखटिरा निको पार्ने बेसारमा आधारित मलहमको कारण उक्त पेटेन्ट अधिकार उल्लंघन भएको भनी अचानक पैठारीमा रोक लगाएको थियो ।

निकासीकर्ताले धेरै पहिलेदेखि आफूले उत्पादन र निर्यात हुँदै आएको मलहम कसरी हाल आएर रोक्का भयो भनी प्रतिवाद गरे पनि त्यसको तत्काल सुनुवाइ हुन सकेन । तर, त्यो मुद्दालाई भारतको वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् (सीएसआईआर) ले गम्भीरतापूर्वक लियो । परिषद्ले दुई कुरामा अडान राख्दै उक्त पेटेन्टको पुनः परीक्षण र खारेजीका लागि अमेरिकी पेटेन्ट अफिसमा दाबी विरोधपत्र दायर गर्‍यो । पहिलो अडान थियो, कुनै आविष्कारको पेटेन्ट हुन चाहिने तीन शर्त– नवीनता, अविष्कारको चरण र औद्योगिक प्रयोजन सबै पूरा भएका छैनन् । दोस्रो अडान थियो, जैविक विविधता संरक्षणसम्बन्धी सम्झौता, १९९२ अनुसार अरू मुलुकको बौद्धिक सम्पत्ति अधिकारको सम्मान भएको छैन र स्रोत प्रयोगको पूर्वसहमति लिइएको छैन । उक्त सम्झौताको दफा १५ ले जैविक साधनमा सम्बद्ध मुलुकको अधिकार रहने कुरा स्पष्ट पारेको छ ।

सीएसआईआरले संस्कृत, हिन्दी, उर्दु आदि भाषामा लेखिएका पुराना ३२ ग्रन्थहरूको प्रमाण पेश गरेर पेटेन्टमा नवीनताको शर्त निर्वाह नभएको तथ्य उजागर गरिदियो । यसरी भारतीय मूलका अमेरिकी नागरिक सुमनकुमार दास र हरिहरप्रसाद कोहलीले मिसिसिपी विश्व विद्याललयका मार्फत अअमेरिकी पेटेन्ट अफिसमा दर्ता रहेको पेटेन्ट नं. यूएस ५४०१५०४ को पेटेन्ट २८ मार्च १६९५ मा दायर गरेको निवेदन खारेज गरी आफ्नो मुलुकको बौद्धिक सम्पत्ति अधिकार प्रचलन गराउन समर्थ भयो । साथै रेसमीको माल पनि निर्यातका लागि फुकुवा भयो ।

यो पेटेन्टको घटना भारतका लागि मात्र चुनौतीको विषय थिएन । नेपाललगायत दक्षिण एशिकया तथा दक्षिणपूर्वी एशियाका कयौं मुलुकका लागि चुनौतीको विषय थियो । केही मुलुकले पेटेन्टको दाबी विरोधमा सहभागी हुने मौका लिए । तर, नेपाल भने यस मुद्दामा पनि आफ्नो चातुर्य देखाउन चुक्यो । बेसारको गुण केवल छालाको घाउखटिरा निको पार्ने प्रयोजनमा मात्र सीमित छैन । त्यसको उपयोगिताको सीमामाथि चर्चा गरिएको भन्दा पनि धेरै विस्तृत छ र भविष्यमा पनि यसका सयौं पेटेन्ट लिन सकिने ठाउँ छन् ।

अतः अब बेसारको मात्र होइन, जुनसुकै जैवी विविधताको पनि हामीले अभिलेखीकरण गर्नुपर्छ र कसैले त्यस्ता सामग्रीमा पेटेन्ट लिई नाजायज तरीकाले निजी स्वार्थ पूरा गर्न खोज्नेविरुद्ध दाबी विरोध गर्नुपर्छ । स्रोतराष्ट्रलाई पनि फाइदा हुने गरी स्रोतमा न्योचित पहुँच हुने आविष्कारकलाई भने प्रोत्साहन दिनैपर्छ ।

लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालमा उपाध्यक्ष हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्