ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बीपी सुधार अभियान : ओपीडी सहितका सेवा सुचारु, तालाबन्दी कायमै

२०७८ भदौ, २८  
प्रदेश ०१
Chelsea International NA

धरान (अस) । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरणको मागसहित आन्दोलित पक्षले चौतर्फी दबाबपछि अन्ततः ओपीडी र अन्य उपचार सेवा सुचारु गर्ने भएको भएको छ । प्रतिष्ठानका प्रमुख चार पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलन चर्काउँदै आएका चिकित्सक र कर्मचारीले गत आइतवारदेखि आकस्मिक र कोभिडका बाहेक अन्य उपचार सेवा बहिष्कारको घोषणा गरेका थिए ।

संयुक्त संघर्ष समितिले नेपाल सरकारको तर्फबाट गठित उच्चस्तरीय छानबिन समितिले ६ बुँदे प्रतिवेदन सार्वजनिक गरेपछि त्यसको कार्यान्वयन नभएको भन्दै काम बहिष्कार गरेका थिए । यसबीच धरानका राजनीतिक दलले गत सोमवार उपकुलपतिको कार्यकक्षमा लगाइएको ताला फोडिदिएका थिए । उपचार नै प्रभावित हुनेगरी भएको आन्दोलनको सर्वसाधारणले समेत व्यापक विरोध गरेपछि उनीहरूले ओडीपी वार्ड अगाडि नै बिरामीको चेकजाँच  गर्दै आएका थिए ।

संघर्ष समितिले उपकुलपति कार्यालय बाहिरै सञ्चालन गरेको ओपीडीबाट सर्वसाधारणले चेकजाँचबाहेक अन्य सेवा पाउन सकेका थिएनन् । प्रतिष्ठानमा आएका बिरामी विभिन्न प्रकारका शल्यक्रिया, चेकजाँचको रिपोर्ट लगायत काम समयमा नहुँदा मारमा परेका थिए ।

सोही समस्यालाई ध्यानमा राख्दै चिकित्सकहरूले आइतवारदेखि ओपीडी सहितका सबै उपचार सेवा सुचारु गरेका हुन् । आफूहरूको आन्दोलन प्रतिष्ठानसँग भएकाले सेवा बहिष्कारले सबैलाई समस्या भएको महसूस गरी ओपीडीसहित अन्य उपचारमा संलग्न हुने निर्णय गरिएको संयुक्त आन्दोलन समितिका संयोजक डा. एसपी रिमालले बताए । सेवा सुचारु भए पनि आन्दोलन जारी रहेको भन्दै उनले उपकुलपति लगायत पदाधिकारीको कार्यकक्षमा लागेको तालाबन्दी समेत यथावत् रहने प्रस्ट पारे । संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोख्रेलले सर्वसाधारणलाई परेको मर्का बुझेर काममा फर्किएको बताए । ‘हामी काम नगर्न आन्दोलित भएका होइनौं, प्रतिष्ठान जोगाउनुपर्छ भनेर आन्दोलन गरेका हौं,’ उनले भने, ‘विगतका सहमति कार्यान्वयन नभए फेरि कडा आन्दोलनमा उत्रिन्छौं ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्